डढेलोले धादिङका अधिकांश वन सखाप

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 6 mins

धादिङ । सुख्खायाम शुरु भएसँगै देशभरका सामुदायिक तथा नीजि बनहरु डढेलोले सखाप बनाएको छ । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि चैत्र महिना सुरु भएसँगै वनहरुमा डढेलो लाग्नेक्रम सुरु भएको हो । यस्तै पछिल्लो समय धादिङका अधिकांश वन डढेलोले सखाप पारेको छ ।

धादिङमा करिब ७ सय १५ वटा सामुदायिक वन रहेका छन् । प्राय सबै वनमा डढेलोले सखाप पारेको डिभिजन वन कार्यालय धादिङले जनाएको छ । धादिङमा अहिले डढेलो नियन्त्रण भन्दा बाहिर गैसकेको डिभिजन वन कार्यालय धादिङका प्रमुख अजय विक्रम मानन्धरले जानकारी दिनुभयो ।

अत्यधिक मात्रामा डढेलोले फैलिएपछि डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिहरुलाई आगलागी भएका वनको क्षति संकलन गर्न समेत हम्मे हम्मे पारेको छ । सोचे भन्दा बढी वनहरुमा डढेलो लागेपछि संकलन गर्ने कार्यमा कठिन भएको मानन्धरको भनाई छ । धादिङमा २४ हजार ८ सय हेक्टर क्षेत्रफल जंगलले ओगटेको छ । धादिङमा ७ सय १५ वटा सामुदायिक वन रहेका छन् ।

जसअनुसार नीलकण्ठ नगरपालिका, वेनिघाट रोराङ गाउँपालिका र रुवीभ्याली गाउँपालिकाका वनमा सबैभन्दा बढि क्षति पुगेको वन कार्यालय धादिङले जनाएको छ । धादिङ जिल्ला भित्र रहेका वनहरुमध्ये एकतिहाई वन ढडेलोले सखाप बनेको वन अधिकृत मानन्धरले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय धादिङको तथ्यांक अनुसार यो वर्षको डढेलो गत पाँच वर्ष यताकै सबै भन्दा ठुलो हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको हो ।

ADVERTISEMENT

बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा सधैँजसो देखिने डढेलोले वन क्षेत्रका रुख, बुटा खरानीमा परिणत भएका छन् । डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने र वयस्क रुख आगो लागेर सुक्दै गएपछि वनक्षेत्र उजाड हुने क्रम बढेको हो । अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेका छन् ।

डिभिजन वन कार्यालय हरेक वर्ष वन डढेलो नियन्त्रणको लागि भनेर विभिन्न औजारहरु वितरण गरिरहे पनि त्यसको प्रयोग भएको पाईदैन । यो वर्ष पनि २० लिटर पानी अट्ने ब्याकप्याक पम्प, फायर सुट, पञ्जा, हेल्मेट बुट र स्वाटरलगाएतका सामाग्रीहरु वन डढेलो नियन्त्रणमा प्रयोग गर्ने सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुलाई उपलब्ध गराईएको भनेपनि डढेलो नियन्त्रणमा यस्ता सामाग्री प्रयोग भएको छैन् । यस्तै डढेलो नियन्त्रणको लागि रातदिन खटिरहेको धादिङका वन अभियन्ता भुमि रमण नेपालले वन समितिले चाँसो नदिएकै कारण वनमा डढेलो बढि लागेको बताउनु भएको छ । वन संरक्षण गर्नुपर्छ भन्दै विगुल फुक्दै हिड्दा देखिने विभिन्न प्रजातिका वन्यजन्तु डढेलोले गर्दा लोप हुने अवस्थामा पुगेको उहाँको भनाई छ ।

वन जंगल विनास हुँदा जंगली जनावर गाउँ पस्ने र मानवीय क्षतिको समेत जोखि बढेको छ । लामो समयदेखि पानी नपर्दा र दैनिक जसो वन जंगलमा डढेलो लागेको हुनाले धादिङको वायुप्रदुषण बढेको छ । यस्तै, वन डढेलो सप्ताह आयोजना, वनभित्रको पत्कर व्यवस्थापनबाट जोखिम क्षेत्र केन्द्रित गरेर नमूना अभ्यास, प्रांगारिक मल उत्पादन उद्यम सञ्चालनमा सहयोग, सहभागितमूलक वन डढेलो रोकथाम तथा नियन्त्रण, वन डढेलो नियन्त्रण गर्नका लागि आवश्यक पर्ने साफ्टर-स्थानीयस्तरमा तयार गर्न सकिने दाँते, अग्नि नियन्त्रण सामग्री, हेल्मेट र बुटजस्ता सामग्रीहरु खरिद गरी वितरण गर्ने व्यवस्था गरिएको छ । यसअनुसार प्रदेश सरकारले गत वर्ष डढेलो नियन्त्रण, रोकथाम तथा सचेतनाका लागि विभिन्न ठाउँमा सप्ताहव्यापी कार्यक्रमहरुसमेत सम्पन्न गरेको छ ।

यस वर्ष पनि विगतमा जस्तै सचेतनाका कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेश वन तथा वातावरण मन्त्रालयका वन डढेलो नियन्त्रण युनिटका सदस्य खड्का यस क्षेत्रमा प्राकृतिकभन्दा मानवीय कारणले वन जंगलमा डढेलो लाग्ने गरेकाले सरकारले डढेलो नियन्त्रणका लागि समुदायमा सचेतनालाई नै अभियानका रुपमा सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज