बागलुङ । तराई-पहाड जोड्ने गरि निर्माण भएको सालझण्डी-ढोरपाटन सडकको ट्रयाक खुलेको आठ वर्ष बितिसक्यो । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण छ । सडक स्तरोन्नति गरि ग्राभेलिङ गर्नका लागि अघिल्लो वर्ष कार्तिकमा सम्झौता भए पनि अहिलेसम्म कामले गति लिन सकेको छैन । निर्माण कम्पनीले समयमै काम नगर्दा ढोरपाटन आउने पर्यटक र स्थानीय मर्कामा परि रहेका छन् । सडक खुलेको दशक बित्नै लाग्दा पनि सडकको हालत उस्तै छ । रुपन्देहीको सालझण्डीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको छ ।
गुल्मी, अर्घाखाँची, पाल्पा र रुपन्देहीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा शून्य प्राय छ । पहिलेनै अप्ठ्यारो सडक त्यसमाथि वि.सं. २०७७ भदौ १७ गते आएको बाढीले धेरै ठाउँमा क्षत विक्षत बनाएको थियो । अहिले पनि दैनिक सयौँ यात्रु तथा पर्यटक यही सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बाढीले बिगारेको सडक केही मर्मत भए पनि यात्रा भने कष्टकरनै हुने गरेको छ । हिउँदको समयमा जसोतसो यातायातका साधन चले पनि बर्खा लाग्यो भने ठप्प हुने गर्दछ । यस वर्ष पनि निर्माण कम्पनीले काम नगरे यस क्षेत्रका हजारौँ स्थानीय गाडीमा यात्रा गर्नबाट वञ्चित हुने छन् ।
हिउँदको समयमा पनि ठूला वर्षा हुँदा गाडी राम्रोसँग चल्न सक्दैनन् । सडक समयमै स्तरोन्नती नहुँदा खासगरी ढोरपाटन नगरपालिका-६, ७, ८ र ९ का स्थानीय बढी मर्कामा गर्ने गरेका छन् । सडक सहज नहुँदा स्थानीयलाई पालिकाको केन्द्र बुर्तिबाङ आउजाउमा समेत समस्या छ । सडक साँघुरो र अप्ठ्यारो हुँदा स्थानीय र पर्यटक जोखिम मोलेर यात्रा गर्न बाध्य भएको स्थानीय सोमबहादुर विकले बताउनुभयो । विकले सडक खुलेदेखि अहिलेसम्म दर्जन बढी गाडीहरु दुर्घटनामा पर्दा धेरै ज्यान गुमाउनु परेको भन्दै सरोकारवाला निकायले ध्यान नदिँदा यतिका वर्षसम्म आफूहरुले समस्या भोग्नु परेको गुनासो गर्नुभयो ।
विक भन्नुहुन्छ- “ढोरपाटनमा दैनिक पर्यटकहरु घुम्न आउँछन्, सडक राम्रो नहुँदा कतिपय त डराएर बीच बाटोबाटै फर्किन्छन्, ढोरपाटन पुगेकाहरु पनि ठाउँ-ठाउँमा गाडी बिगारेर बसेका हुन्छन्, यहाँका स्थानीयहरु सधै ढोरपाटन जाने र बोबाङ, बुर्तिबाङ झर्ने गर्छन्, अझ बढी ढोरपाटनमा उत्पादन भएका स्याउ, आलु र सिमी बजारसम्म पुर्याउन समस्या भएको छ, नेताहरु आउँछन्, बनाउँछम् भन्छन्, यो सडकको अवस्था उस्तै छ ।”
एक सय ९० किलोमिटर लामो दूरीको यस सडकको झण्डै ५० किलोमिटर खण्डमात्रै बागलुङमा पर्छ । यो सडकले बागलुङको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका गरि तीन पालिका जोडिएका छन् । सडकको स्तरोन्नतिको काम रुपन्देही र अर्घाखाँची क्षेत्रमा मात्रै हुँदा यस क्षेत्रका नागरिकले समस्या भोग्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताउनुभयो । उहाँले निर्माण कम्पनीले अटेरी गर्दा हजारौँ नागरिकले सास्ती खेप्नु परेको बताउनुभयो ।
“देशी विदेशी पर्यटक आउने ढोरपाटनमा सडक भने निकै जोखिमपूर्ण छन्, वर्षौँ भयो, सालझण्डी-ढोरपाटन सडक खुलेको अहिलेसम्म हालत उस्तै छ, सरकारले बजेट विनियोजन गरेर काम गर्न भन्छन् तर निर्माण कम्पनीले अटेरी गरि राख्छ, काम अहिलेसम्म हुन सकेको छैन,” उपप्रमुख कायतले भन्नुभयो- “हामीहरुले धेरै पटक खबरदारी गर्यौँ तर काम भने हुन सकेको छैन, फेरी बर्खा लाग्न थाल्यो समयमै काम गरे त बर्खामा पनि यस क्षेत्रका जनताले सहज रुपमा यात्रा गर्न पाने थिए ।”
बागलुङ बजारदेखि बुर्तिबाङसम्म राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको सडकले सहज बनाइ दिए पनि बुर्तिबाङदेखि ढोरपाटन भने कष्टकरनै हुने गरेको छ । सरकारले सडक स्तरोन्नतीका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका-९ फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नती गर्नका लागि सम्झौता भए पनि अहिलेसम्म जम्मा २४ प्रतिशत मात्रै काम भएको सालझण्डी-ढोरपाटन सडक आयोजना कार्यालयका इन्जिनियर सरोज आचार्यले बताउनुभयो ।
यो सडक स्तरोन्नतीका लागि गत वर्ष कार्तिकमा स्वच्छन्द/ओमबुद्ध जेवी काठमाडौँले २३ करोड रुपैयाँमा जिम्मा लिए पनि काम भने गर्न नसकेको आचार्यको भनाई छ । ३० महिनामा सक्ने गरि सम्झौता भएको र अब एक वर्ष मात्रै बाँकी रहेको आचार्य बताउनुहुन्छ । सडक चौडा गर्ने, नाली निर्माण गर्ने र ग्राभेलिङका लागि निर्माण कम्पनीलाई जिम्मा दिइएको उहाँको भनाई छ ।
इन्जिनियर आचार्य भन्नुहुन्छ- “हामीहरुले निर्माण कम्पनीलाई काम गर्नका लागि पटक-पटक आग्रह गरि रहेका छौँ, प्रतिबद्धता गर्छ, समयमै काम गर्छौँ भन्छन् तर काम गर्दैन्, अहिलेसम्म निकै कम प्रगति देखिन्छ, अब एक वर्ष बाँकी समय छ, अहिले फिल्डमा हेर्यो भने काम भएको छैन, कार्यालयले गर्नु पर्ने सबै काम गरि रहेका छौँ, निर्माण कम्पनीले काम नगरेपछि गाह्रो हुँदो रैछ ।”







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता