काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३औं वार्षिकोत्सव मनाएको छ । आइतबार प्रतिष्ठानले आफ्नो प्रांगणमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली सांगीतिक क्षेत्रका चुनौतीहरू औँल्याउनु हुँदै आफूमाथि थप जिम्मेवारी आएको र यसरी अप्ठ्यारो परिस्थितिमा गरेका काम अमर रहने बताउनुभयो ।
यस्तै, कार्यक्रममा गायक तथा संगीतकार सुरेश अधिकारीले सांगीतिक क्षेत्र उठ्न नसकेका राज्य समृद्ध हुननसक्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा, वरिष्ठ नृत्यकार भैरवबहादुर थापा, तथा वरिष्ठ संगीतकारले संस्कृति मन्त्रालयलाई छुट्टै मन्त्रालयका रूपमा स्थापति गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कुलपति निशा शर्माले आगामी कार्यक्रम तथा योजनाहरूका बारेमा बताउनु हुँदै आफूहरूसँग संगीत तथा नाटकलाई गतिशील बनाउने बजेटको अभाव रहेको बताउनुभयो । यसबाहेक प्रतिष्ठानको आफ्नो छुट्टै हल निर्माण गर्न सकिएमा कलाका विभिन्न माध्यमलगायत परम्परागत गीतसंगीतका विभिन्न आयामहरू प्रस्तुत गर्न सकिनेमा जोड दिनुभयो ।






