प्रभावकारी भएन विद्यालयको दिवा खाजा : जंक फुड खान्छन् बालबालिका

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्थाप गरेको छ । दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि खाजाको गुणस्तरमाथि बेला–बेला प्रश्न उठी राखेको छ । सरकारले कक्षा ६ सम्मका विद्यार्थीलाई दैनिक १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

विद्यालयमा ताजा र पौष्टिक आहारयुक्त खाजा खुवाउने निर्देशिका भए पनि यहाँका अधिकांश विद्यार्थीले घरबाटै खाजा बोकेर आउने गरेको पाइन्छ । विद्यार्थीले घरबाटै लिएर आउने खाजा गुणस्तरहीन हुने गरेको छ ।

उनीहरुले घरबाट ल्याउने खाजा अर्गानी भए बासी हुँदा विद्यार्थी बिरामी पर्ने गरेका छन् । विद्यार्थीले हरेक दिन पाउने १५ रुपैयाँ खाजाका लागि पर्याप्त नभएको स्थानीय तहले नियमित निगरानी गर्न नसक्दा दिवा खाजा प्रभावकारी बन्न नसकेको अभिभावक बताउँछन् । विद्यालयले निर्देशिकाभन्दा बाहिर गएर आफ्नो हिसाबले विद्यार्थीलाई खाजाको व्यवस्था गरेका छन् । कुनै विद्यालयले क्यान्टिन तथा स्थानीयलाई खाजा बनाउने जिम्मा दिएको पाइन्छ भने कुनैले अभिभावकलाई जिम्मा दिएका छन् । केहीले मात्रै आफैंले बनाएर खुवाउने गरेका छन् ।

विद्यार्थीले आफै ल्याउने खाजामा चाउचाउ बिस्कुट लगायतका पसलमा पाइने जङक फूड बोकेर आउने गरेका छन् । पालिका, विद्यालय तथा अभिभावक अहिलेसम्म पूर्णरुपमा जिम्मेवार बन्न नसक्दा बालबालिकाहरु पौष्टिक खाजा खानबाट वञ्चित भएका छन् । जिल्लामा अहिले पाँच सय १४ सामुदायिक विद्यालयमा ६२ हजार तीन सय २१ जना विद्यार्थीहरु अध्ययन गर्दै आएका छनु् । त्यस मध्ये अधिकाशं कक्षा ६ सम्म पढ्ने विद्यार्थी छन् । विद्यालयमै खाजा नबनाउँदा बालबालिकाले बासी र पौष्टिक आहार नष्ट भएको खाजा खाने गरेको अभिावक सीता कुमारी कार्कीले बताउनुभयो ।

ADVERTISEMENT

उहाँले बढ्दो महङ्गीका कारण सरकारले उपलब्ध गराएको १५ रुपैयाँले एउटा अन्डासमेत किन्न पैसाले नपुग्ने भन्दै बालबालिकाले पेटभरी खाजा खान नपाएको गुनासो गर्नुभयो । कार्की भन्नुहुन्छ– “विद्यालयमै खाजा बनाएर खुवाउनु पर्ने हो, तर बालबालिकाहरुले बिहानै झोलामा बोकेर जान्छन्, दिउँसोसम्म खाजामा हुने गरेको पौष्टिक तत्व पनि घट्छ, विहान जाता र तातो बनाएर पठायो, उनीहरुले खाने बेलासम्म सेलाएर बासी बन्छ ।”
विद्यालयले उपलब्ध गराएको खाजाले पेट नभरिने भएका कारण बालबालिका घरबाट पैसा लगेर पसलका पत्रु खानेकुरा किनेर खान नछाडेको अभिभावक मिनबहादुर खत्रीले बताउनुहुन्छ । विद्यालयले उचित व्यवस्थापन गर्न सके विद्यार्थीले जङ्क फुड तर्फ आकर्षित नहुने उहाँको भनाई छ । “विद्यार्थी धेरै हुन्छन्, विद्यालयमै एक जना कर्मचारी राखेर खाजा बनाएर दिए बालबालिकाहरुले ताजा खाजा खान पाउने थिए, भोकाएर बाहिर गएर चाउचाउ बिस्कुट खान पर्ने थिएन” खत्रीले भन्नुभयो ।

बागलुङ नगरपालिका–४ स्थित कुँडुले माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल कँडेलले जनशक्ति कम हुँदा विद्यालयमै खाजा बनाएर खुवाउन नसकिएको बताउनुभयो । विद्यालय वरपरका पसलहरुमा खाजा बनाउनका लागि आग्रह गरे पनि सरकारले उपलब्ध गराएको रकम कम हुँदा बनाउन नमानेको कँडेलको भनाई छ । विद्यार्थीले हरेक दिन फरक–फरक खाजा लिएर आउने गरेको उहाँले बताउनुभयो ।
“अहिले विद्यार्थीहरुलाई स्कुलमै खाजा बनाएर खुवाउन सकिएको छैन, उनीहरुले घरबाटै खाजा लिएर आउँछन्, उनीहरुलाई विद्यालयले पैसा दिने गरेको छ,” प्रधानाध्यपक कँडेलले भन्नुभयो– “स्थानीयस्तरमा उत्पादित वस्तुलाई खाजाको रुपमा प्रयोग गरेको पाइन्छ, कहिले भात भुटेर ल्याउँछन्, कहिले रोटी, सातु लगायतका खाजा ल्याउँछन्, जङ्क फुड निषेधनै छ, हामीहरुले अभिभावकलाई खाजाको समय तालिका बनाएर दिएका छौँ, उहाँहरुले साही अनुसार खाजा बनाएर पठाउनुहुन्छ ।”

बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले दिवा खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित भएको बताउनुहुन्छ । उहाँले पहिलेको तुलनामा विद्यार्थी घटे पनि नियमित उपस्थित हुने बालबालिकाको संख्या बढि रहेको बताउनुभयो । नगरपालिकाले बालबालिकालाई विद्यालयलाई मै खाजा खुवाउने गरि व्यवस्थापन गर्न निर्देशन गरेको पोखरेलको भनाई छ । अहिले धेरै विद्यालयले बालबालिकालाई खाजा घरबाटै ल्याउन लगाएको पाइएको बताउनुभयो ।

“बालबालिकाको स्वास्थ्यका विद्यालयले नै खाजा खुवाउनु पर्छ, विहान बोकेर आएको खाजा दिउँसोसम्म चिसो हुन्छ, त्यसले उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर गर्छ, यसका लागि विद्यालय र अभिभावक जिम्मेवार बन्नु पर्छ,” पोखरेलले भन्नुभयो– “नगरपालिकाले समय–समयमा अनुगमन गरि रहेका छौँ, धेरै विद्यालयमा खाजा नबनाएको पायौँ, अब नयाँ शैक्षिक सत्रदेखि सबैलाई विद्यालयमै खाजा बनाउनका लागि निर्देशन गछ्रौँ, खाजाले बालबालिकालाई नियमित विद्यालय आउनका लागि प्रेरित गरेको पाएका छौँ, खाजा स्वच्छ, ताजा र पोषणयुक्त हुनु पर्छ भन्नेमा हामीहरुले जोड दिई राखेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज