महिलालाई आक्रमणगर्ने पाटेबाघ नियन्त्रणमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ ।

बाघको आक्रमणबाट शुक्रबार बेलौरी-८ पचुँइका गङ्गादेवी चन्दलाई बेपत्ता परेको थियो । प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो । टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको जानकारी दिँदै महिलाको अवस्था भने अज्ञात रहेको बताउनुभयो ।

“बाघ नियन्त्रणपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लैजाने कुरो थियो”, उहाँले भन्नुभयो, “बेपत्ता महिलाको खोजीमा प्रहरी र स्थानीयवासी सक्रिय छन् ।” चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो । सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए ।

ADVERTISEMENT

घटनाबारे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी र वनको टोली पचुँइ पुगेको थियो । बाघ नियन्त्रणका लागि बर्दिया र शुक्लाफाँटा निकुञ्जको टोली शुक्रबार बेलुकीदेखि नै खटिएको थियो । सोही टोलीले चार वटा हात्तीको सहारामा पचुँइको खप्टी नाला छेउछाउबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्‍याइएको जानकारी दिनुभयो । “आवश्यक प्रक्रिया पूरा गर्नुका साथै केही समय बाघलाई निगरानीमै राख्छौँ”, उहाँले भन्नुभयो, “पछि माथि विभागको निर्देशनअनुसार नियन्त्रणमा लिइएको बाघबारे थप निर्णय लिन्छौँ”, केही समययता कञ्चनपुरको दक्षिण क्षेत्रमा बाघ नियमित बस्ती वरपर देखिन थालेपछि वन कार्यालयले पनि यहाँ विभिन्न स्थानमा स्वभालित क्यामेरा जडान गरेर निगरानी गरिरहेकै बेला शुक्रबार उक्त घटना हुन पुगेको हो ।

केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक महिलाको बाघकै आक्रमणबाट ज्यान गएको थियो । सो घटनापछि दक्षिण क्षेत्रमा निगरानी बढाइँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज