समाजमा अझै पनि चल्दैन दलितको टपरी

गैरदलितको घरमा काम गर्न जाँदा दलित महिलामाथि विभेद- न्याय माग्दै प्रहरीमा जाहेरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । गैरदलितको घरमा तेह्रौँ दिनको (सुद्ध्याइँ) काममा टपरी गाँस्न सहयोग गर्न गएको बेला दलित महिलामाथि विभेद गरिएको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा दर्ता भएको छ । बैजनाथ गाउँपालिका-२ पितमारीमा दिलबहादुर थापाको घरमा आमाको मृत्यु भई तेह्रौँ दिनको काम (सुद्ध्याइँ)मा सहयोग गर्न गएको बेला आफूमाथि विभेद भएको भन्दै सोही गाउँकी ४२ वर्षकी बिरमा टमाटाले कोहलपुर प्रहरीमा मुद्दा दर्ता गराउनुभएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार पीडितको जाहेरीको आधारमा मुद्दा दर्ता भएको छ । उहाँले जातीय विभेद जस्तो गम्भीर अपराधमा मुद्दा आएकाले प्रहरीले मुद्दा दर्ता गरेको बताउनुभयो । तिवारीले मुद्दा दर्ता भएको र थप प्रक्रिया सुरु भएको बताउनभयो । कार्यालयको तथ्यांकअनुसार कोहलपुर प्रहरीमा अहिलेसम्म तीनवटा जातीय विभेदका मुद्दा दर्ता भएका छन् । यसअघि आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा पनि दुईवटा मुद्दा दर्ता भएका थिए ।

छिमेकी थापाको घरमा टपरी गाँस्न सहयोग गर्नको लागि टमाटा चैत २४ गते जानुभएको थियो । उहाँ पुग्दा अरू छिमेकी महिलाहरूले टपरी बुनिरहेका थिए । महिलाहरू मध्येकी नैना थापाले टमाटालाई अपमानजनक रूपमा ‘तँ यता नआइज तैले छोएको टपरी चल्दैन’ भन्दै रोक्नुभयो । त्यसपछि सामान्य कुराकानी हुँदै गर्दा अन्य महिलाहरूले समेत एक्कासि ‘यो कहाँबाट आई तँ डुमिनी कमिनी, ठूला कुरा गर्छेस् । तैँले छोएको टपरी चल्दैन’ भन्ने कुरा थाहा पाएकी छैनस् ? भन्दै आफूमाथि जातीय विभेद भएको टमाटाको भनाइ छ । उहाँले सोही अवसरमा आफ्नो सामाजिक रूपमा अपमान हुनेगरी अश्लील शब्दहरू प्रयोग गरी तथानाम गाली गलौज गरी हातपात गरेको बताउनुभयो ।

ADVERTISEMENT

उक्त जाहेरीमा भनिएको छ, ‘मेरो छोरा २५ वर्षीय प्रदीप टमाटाले थाहा पाएपछि उनीहरूलाई मेरो आमालाई किन गाली गर्नुहुन्छ । नगर्नुहोस् न भनी अनुरोध गर्दा छोरालाई समेत डुम कहाँबाट आई भन्दै कुटपिट गरे । मेरो छोराको दाहिने आँखामा चोट लागेको छ । उनीहरूले कुटपिट गर्दैगर्दा अन्य छिमेकीले बचाए ।’

यति मात्रै होइन केही समय अगाडि सोही गाउँका भक्तबहादुर बुढाक्षेत्री र निजकी पत्नी तुलादेवी खड्का बुढाक्षेत्रीले दलित समुदायका बालबालिकाहरूलाई विद्यालयमा समेत अपमानजनक व्यवहार गरेको भन्दै टमाटाले प्रहरीमा जाहेरी दिनुभएको थियो । प्रहरी प्रशासनमा मिलापत्र भएपछि दैनिक रूपमा खड्का दम्पतीले आफूलगायत दलित समुदायलाई अपमान तथा भेदभाव हुने गरी जातीय विभेद गर्दै आएको दाबी उहाँले गर्नुभएको छ । र, हाल आएर आफू र आफ्नो छोरालाई ‘तिमीहरूलाई गाउँबाटै लखेटिदिन्छौँ भन्दै काट्छु मार्छु भन्ने धम्की’ दिइएको उल्लेख गरिएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १० को दफा १६० र १६६ बमोजिम कसुर अपराध गरेकाले सोही ऐनको दफा १६८ बमोजिम क्षतिपूर्तिसमेत दिलाई घाइतेको उपचार खर्चसमेत दिलाउन माग गरिएको हो ।

शिक्षक दम्पतीसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता
इलाका प्रहरी कार्यालय कोहलपुरले टमाटाको जाहेरीअनुसार शिक्षक दम्पतीसहित पाँच जनाविरुद्ध जातीय विभेद छुवाछुत कसुरसम्बन्धी अपराध शीर्षकमा मुद्दा दर्ता गरेको हो । कसुर गर्ने व्यक्तिहरूमध्ये अन्दाजी ३८ वर्षीय भक्तबहादुर बुढाक्षेत्री वडा नम्बर २ पितमारीमा रहेको दिलरुम प्राविका शिक्षक हुन् । अन्दाजी ३६ वर्षीया तुलादेवी खड्का बुढाक्षेत्री सोही विद्यालयका प्रधानाध्यापक हुन् । यस्तै, अन्दाजी ४० वर्षीय प्रेमबहादुर थापा, अन्दाजी ३७ वर्षीय दिलबहादुर थापा र अन्दाजी २७ वर्षीया नैना थापाविरुद्ध मुद्दा दर्ता भएको हो । यता, गैरदलित समुदायले पनि टमाटासहित दलित समुदायमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेका छन् । कोहलपुर प्रहरीले पाँचै जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *