सीमानाकामा उच्च सतर्कता

रासस
रासस
Read Time = 4 mins

नवलपरासी । कोरोना संक्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ ।

भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय गरेको हो । पश्चिम नवलपरासीका विभिन्न नाकाबाट मानिस आवतजावत गर्ने हुँदा यहाँ बढी जोखिम रहने गर्दछ । नवलपरासी जिल्ला भारतको उत्तर प्रदेश र विहार प्रदेशसँग सीमा जोडिएकाले सुरुबाटै सङ्क्रमण नियन्त्रणका लागी यसलाई अभियानकै रुपमा अघि बढाउन लागिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ । सीमा क्षेत्र र सबै स्थानीय तहमा आवश्यक जनशक्तिसहित केही दिनमा ‘एन्टिजेन’ परीक्षण अभियान सञ्चालन गरिने छ । जिल्लामा हाल दुई हजार एन्टिजेन टेष्ट किट रहेको र अपुग भएमा मगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । अभियानअन्तर्गत सार्वजनिक यातायात र बढी भीडभाड हुने सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा मास्क लगाउन र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गराइने छ ।

ADVERTISEMENT

पछिल्लो पटक जिल्लामा भने कुनै पनि नयाँ सङ्क्रमित फेला परेका छैनन् । हालसम्म जिल्लामा कोभिड–१९ बाट दुई सय नौको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिडविरुद्ध सञ्चालन गरिएको खोपमध्ये पहिलो र दोस्रो शङ्खलाको खोप लगाउनेको सङ्ख्या एक सय प्रतिशत छ ।

त्यसैगरी पहिलो बुस्टर लगाउने ५४ प्रतिशत छ । दोस्रो बुस्टरको रुपमा अहिले सञ्चालन गरिएको बायोभ्यालेन्ट खोप लगाउनेको सङ्ख्या पाँच प्रतिशत छ । बायोभ्यालेन्ट खोप जुनसुकै खोप लगाएकाले पनि लगाउन सक्ने छन् भने अहिलेसम्म कुनै पनि खोप नलाएकाले भेरोसेल खोप लगाउन सक्ने छन् । ती दुवै खोप स्थानीय तहहरूमा गएर लगाउन सकिने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालमै पहिलो पूर्ण खोप जिल्ला घोषणा भएको पश्चिम नवलपरासीमा सङ्क्रमण फैलिन नदिन उच्च सतर्कतासहितको अभियानलाई प्रभावकारी बनाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज