✍️ डा. नारायणप्रसाद निरौला
सामान्यतः दृष्टिपथमा आउनु अथवा देखिनु, उदित हुनु र नदेखिनु अस्त रहनु हो । व्यक्तिभन्दा पनि कुनै स्थानबाट देखिनु र नदेखिनुलाई उदयास्त भन्न सकिन्छ । बृहस्पति आकाशमा देखिने अवस्थालाई उदय भनिन्छ भने आकाशमा नदेखिई कतै हराएको वा लुप्त भएको अवस्थालाई बृहस्पति अस्त भनिन्छ । जुन समयमा आकाशमा बृहस्पतिको बिम्ब देख्न सकिँदैन । हरेक ग्रह दैनिकरूपमा उदित र अस्त भइरहन्छन् । यस्तो दैनिक उदित र अस्त हुने भन्दा पनि सूर्यको निश्चित कालांशभित्र बृहस्पति रहेको अवस्थामा हुने अस्तलाई विशेषरूपमा लिइन्छ । हाम्रा धर्मशास्त्रमा बृहस्पति र शुक्र अस्तको समयमा काम्यकर्म त्याग्नु भनेर बताइएको छ । काम्यकर्म भनेको विशेष कामना पूरा हुन् भनी संकल्पपूर्वक गरिने कार्य हो ।
दैनिकरूपमा गरिने कार्यलाई नित्य भनिन्छ । जस्तो कि दैनिक गरिने पूजापाठ, दशैँ, तिहार, श्राद्ध, चाडपर्व नित्यकर्मअन्तर्गत पर्दछन् । यसैगरी नैमित्तिक कर्म भनेको कुनै निमित्त भई आइपरेका कार्य हुन् । जसअन्तर्गत नामकरण (न्वारन), अन्नप्रासन (पास्नी), क्रियाकर्म आदि पर्दछन् । विशेष फलको कामना राखेर गरिने कार्यलाई काम्यकर्म भनिन्छ । जसअन्तर्गत विवाह, व्रतबन्ध, व्रतको आरम्भ, विशेष हवन, रुद्री आदि पर्दछन् । सूर्यका तेजिला किरणले बृहस्पतिको प्रभावलाई कमजोर तुल्याउने भएकाले यस्तो समयमा काम्यकर्म नगर्नू भनेर बताइएको हो ।
बृहस्पति अस्त हुँदा बृहस्पतिले प्रदान गर्ने ऊर्जा हामीमा प्राप्त नहुने भएकाले बृहस्पति अस्त रहँदा काम्यविशेष कर्म विवाह, व्रतबन्ध, विशेष यज्ञ अनुष्ठान आदि नगरिएका हुन् । यस्ता विशेष कार्यका निम्ति बृहस्पतिजन्य प्रभाव सबल रहनुपर्दछ भन्ने ज्योतिष एवं धर्मशास्त्रको मान्यता रहेको छ ।
अस्त विभिन्न प्रकारले हुने हुन्छ । विशेष गरी बृहस्पतिको बिम्बलाई सूर्यले छेकेको समयमा बृहस्पति अस्त मान्ने प्रचलन रहेको छ । सूर्य र बृहस्पति एउटै राशिमा अर्थात् पृथ्वीको कुनै स्थानबाट आकाशमा एउटै कोणीय अन्तर पर्दा यस्तो स्थितिको सिर्जना हुन्छ । अन्य ग्रह अस्त हुँदा पनि सूर्यसँगको कोणीय अन्तर न्यून रहन्छ । बृहस्पतिको स्थान सूर्यभन्दा पनि निकै टाढा रहेको छ । आकाशमा जब सूर्यका किरणले बृहस्पतिको बिम्ब हाम्रो (पृथ्वीवासीको) दृष्टिमा छेक्छ उक्त निश्चित समयमा बृहस्पति अस्त रहन्छन् । अर्थात् हाम्रो भू-अवस्थितिबाट आकाश मण्डलमा बृहस्पति देखिँदैनन् । हाम्रो दृष्टिपथमा नआएका ग्रह सामान्यतः अस्त अवस्थामा रहने गर्दछन् । ग्रहहरू उदय अस्त, वक्रमार्ग हुनु नियमित प्रक्रिया हो ।
हाल वर्तमान अवस्थामा पनि बृहस्पति अस्त रहेका छन् । सूर्य र बृहस्पति दुवै ग्रहको कोणीय अन्तर न्यून छ । यसैले सूर्यका किरणले बृहस्पतिलाई हाम्रो दृष्टिपथबाट छेकेका छन् । यस्तो अवस्था हुन सूर्य र बृहस्पतिको कोणीय अन्तर न्यून रहनुपर्दछ । सामान्यतः यस्तो स्थिति वर्षमा एकपटक पर्ने गर्दछ । किनकि सूर्यले एक वर्षमा ३६० अंश (डिग्री) पार गर्दछन् भने बृहस्पतिले एक वर्षमा लगभग एक राशि अर्थात् ३० अंश (डिग्री) मात्र पार गर्दछन् । यसरी हेर्दा बृहस्पति र सूर्यको भेट हुने एक वर्षमा एकपटक सम्भावना रहन्छ । सूर्य र बृहस्पति नजिकिएको अवस्था बृहस्पति अस्तको हो । विशेषतः सूर्य र बृहस्पतिको ११ कालांशको अन्तर समानको समयलाई बृहस्पति अस्त मानिएको छ (सूर्यसिद्धान्त, ९।६) ।
यसरी अस्त हुँदा बृहस्पतिले प्रदान गर्ने ऊर्जा हामीमा प्राप्त नहुने भएकाले बृहस्पति अस्त रहँदा काम्यविशेष कर्म विवाह, व्रतबन्ध, विशेष यज्ञ, अनुष्ठान आदि नगरिएका हुन् । यस्ता विशेष कार्यका निम्ति बृहस्पतिजन्य प्रभाव सबल रहनुपर्दछ भन्ने ज्योतिष एवं धर्मशास्त्रको मान्यता रहेको छ । यस्तो अवस्थामा तत्जन्य प्रभाव न्यून रहने भएकाले विशेष कार्यको सिद्धिका निम्ति गरिने यज्ञ, अनुष्ठान आदि काम्यकर्म नगर्नू भनिएको हो । किनकि यस्तो अवस्थामा बृहस्पतिजन्य बल कमजोर रहन्छ र कार्य पनि प्रभावकारी बन्न सक्दैन ।
बृहस्पति विशेषतः ज्ञान र अर्थतत्व प्रदान गर्ने ग्रह हो । महजस्तै पहेँलो दृष्टिवाला, बुद्धिमान्, पुष्ट मांस भएको, कफप्रकृतिको, गोरो वर्णको, पहेँलोे केश भएको, अधिक मज्जायुक्त लामो (अग्लो) शरीर भएको गुरुको स्वरूप छ भनी वराहमिहिराचार्यले उल्लेख गरेका छन् : ‘मधुनिभनयनो मतिमानुपचितमांसः कफात्मको गौरः । ईशत्पिङ्गलकेशो मेदःसारो गुरुदीर्घः ।।’ (लघुजातकम्, ग्रहस्वरूपाध्याय, श्लो.५) । यसरी ग्रहको स्वरूप र प्रकृतिअनुसार पृथ्वीवासीमा फल पनि प्राप्त हुने गर्दछ । यसैले बुद्धिपक्षको क्षेत्र बृहस्पति अस्तमा कमजोर रहने गर्दछ । यसका साथै बृहस्पति अस्त भएको अवस्थामा कफप्रकृतिको विकार अधिक रहन सक्छ । किनकि बृहस्पतिले कफप्रकृतिलाई प्रतिनिधित्व गरेको हुन्छ ।
यसका साथै ज्ञान एवं बुद्धिपक्षमा पनि यसले विशेष प्रभाव पार्ने गर्दछ । यसरी रहने प्रभाव व्यक्तिको जन्मकुण्डलीअनुसार फरक रहने गर्दछ । बृहस्पतिको बलका साथै निवास, अन्य ग्रहसँगको युति र वर्तमान अवस्थाका आधारमा यसको फल प्रक्षेपण हुन्छ । निर्बल बृहस्पति रहने व्यक्तिका निम्ति बृहस्पति अस्त हुँदा तत्क्षेत्रमा कमी रहन सक्छ । यसैले व्यक्तिको कुण्डलीगत प्रकृतिअनुसार यसको उदय अस्त आदि फल विचार हुन्छ । तर, काम्यकर्मको सम्पादनमा भने अस्तको समय निषेधित नै रहन्छ ।
अस्त भएको बेलामा बृहस्पति निर्बल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नुहुँदैन भनी शास्त्रले निर्देश गरेको छ । कुवा, बगैंचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राणप्रतिष्ठा, व्रतप्रतिष्ठा, व्रतको आरम्भ, वधू प्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तककर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाँकी संस्कार, देवताको प्रतिष्ठा, दीक्षामन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलो पटक तीर्थयात्रा, सन्न्यास ग्रहण, राजाको दर्शन, राज्याभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूर्त चिन्तामणिमा बताइएको छ :
‘वाप्यारामतडागकूपभवनारम्भप्रतिष्ठेव्रताऽऽरम्भोत्सर्गबधूप्रवेशनमहादानानि सोमाष्टके । गोदानाग्रयण-प्रपा-प्रथमकोपाकर्म वेदव्रतम् । नीलोद्वाहमथातिपन्नशिशुसंस्कारान् सुरस्थापनम् ।। दीक्षा-मौञ्जि-विवाहमुण्डनमपूर्वं देवतीर्थेक्षणम् । सन्यासाग्निपरिग्रहौ नृपतिसन्दर्शाऽभिषेकौ गमम् ।चातुर्मास्यसमावृतीश्रवणयोर्वेधं परीक्षां त्यजेद् । वृद्धत्वास्तशिशुत्व इज्य-सितयोन्र्यूनाधिमासे तथा ।।’(मुहूर्त चिन्तामणि, १।४६।४७) । यसका साथै व्रतको आरम्भ पनि यो समयमा नगर्नू भनेर व्रतराजमा यसरी बताइएको छ : ‘अस्तगे च गुरौ शुक्रे बाले वृद्धे मलिम्लुचे । उद्यापनमुपारम्भं व्रतानां नैव कारयेत ।।’ (व्रतराज, पृ. २) । यसरी अस्तको समयमा शास्त्रले निषेध गरेका कार्य प्रमादवश गरेमा अनिष्ट फल भोग्नुपर्ने कुरा मुहूर्त चिन्तामणिको पीयूषधारा टीकामा उल्लेख गरिएको छ ।
बृहस्पति अस्त भएको बेलामा आफ्ना नित्यकर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्यकर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदै आएका व्रत-उपासना पनि रोकिँदैनन् । यसैगरी नैमित्तिक कर्मअन्तर्गत आइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोगशान्ति आदि कर्म गर्न सकिन्छ ।
बृहस्पति अस्त भएको बेलामा आफ्ना नित्यकर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्यकर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदै आएका व्रत-उपासना पनि रोकिँदैनन् । यसैगरी नैमित्तिक कर्मअन्तर्गत आइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोगशान्ति आदि कर्म गर्न सकिन्छ । अन्नप्रासन पनि नैमित्तिकअन्तर्गत पर्ने भएकाले गर्न कुनै बाधा पर्दैन । शान्तिकर्मका निम्ति पनि छुट दिएको पाइन्छ : ‘शान्तिकर्मणि कुर्वीत रोगे नैमित्तके तथा । गुरुभार्गवमौढ्येऽपि दोषस्तत्र न विद्यते ।।’
यसैगरी महिना तोकेर भनिएका कर्म गर्न पछि छुट दिइएको छ । गयाश्राद्ध र गोदावरीको यात्रा गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ : ‘न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च बृहस्पतौ । अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः ।तीर्थयात्रा न कर्तव्यागयां गोदावरीं विना ।।’ (वायुपुराण) अर्थात् गुरु शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्राबाहेक अन्य यात्रा नगर्नू भनिएको छ । यसैगरी बृहस्पति अस्तमा सीमन्तोन्नयन, जातकर्म, अन्नप्रासन कार्य पनि गर्नु हुन्छ दोष लाग्दैन भनी बताइएको छ : ‘सीमान्तजातकादीनिप्राशनान्तानियानि वै । न दोषो मलमासस्य मौढ्यस्य गुरुशुक्रयोः ।।’ (मुहूर्त चिन्तामणि पीयूषधाराटीका) नित्यकर्म, ग्रहशान्ति, नैमित्तिक कर्मअन्तर्गतका सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन, शान्तिकर्म, गयाश्राद्धादि कार्य बृहस्पति अस्त भए पनि गर्दा कुनै दोष नलाग्ने कुरा शास्त्रले बताएको पाइन्छ ।
आकाशीय पिण्डको प्रभाव पृथ्वीवासीलाई अवश्यमेव पर्छ । सूर्यको किरणभित्र परी हाम्रो दृष्टिपथमा नआएको अवस्थामा बृहस्पति अस्त हुन्छन् । यो प्रकृतिको एक नियमित चक्रजस्तै हो । यस्तो बेला उक्त पक्षको बल कमजोर रहन्छ । ग्रहजन्य बल कमजोर रहेको बेलामा गरिएका काम्यकर्म सिद्धिदायी हुँदैनन् । बृहस्पति अस्त हुँदा तत्जन्य प्रभाव कम हुने भएकाले विवाह, व्रतबन्ध आदि गरिएका ठूला काम्यकर्म गर्न शास्त्रले निषेध गरेको हो ।
काम्यबाहेकका नित्य र नैमित्तिक कार्यमा भने अस्तको प्रभाव रहँदैन भन्ने शास्त्रको निचोड रहेको छ । वर्तमानमा पनि बृहस्पति अस्त भएका छन् । अस्त हुनु पहिले तीन दिन र उदित भएपछि तीन दिन सूतकको समय मानिन्छ । यो समयमा पनि काम्यकर्म गरिँदैन । यसैले यो समयमा काम्यकर्म नगर्नू भनेर निर्देश गरिएको हो । जुन कार्य गरेर फल मिल्दैन भने उक्त कार्य गर्नु र नगर्नुको कुनै औचित्य रहँदैन । हाल २०७९ साल चैत १७ गतेदेखि २०८० वैशाख १५ गतेसम्म बृहस्पति अस्त रहन्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच