सरकारले बाँदर आतंक नियन्त्रण नगरे, कृषक आफैँले गर्ने चेतावनी

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर । जिल्लामा बाँदर आतंक बढेको भन्दै नेकपा माओवादी केन्द्र भोजपुरले नियन्त्रणका लागि सरकारलाई दवाब दिएको छ । बाँदर आतंक रोक्न माग सहित केन्द्रले जिल्ला प्रशासन कार्यालय र स्थानीय तह मार्फत सरकारलाई दवाब दिएको छ ।

माओवादी केन्द्र भोजपुरले ८१ वडाअध्यक्ष, ९ स्थानीय तह प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई दबाब स्वरूप बाँदर आतंक नियन्त्रणका लागि एकै पटक ज्ञापनपत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समितिका सचिव बलभद्र राईले बिगत देखि नै बाँदर आतंक नियन्त्रणका लागि खवरदारी गरिएको भएपनि कतैबाट उचित काम हुन नसकेकाले यस पटक स्थानीय सरकार देखि लिएर केन्द्र सरकारलाई समेत ध्यानाकर्षण गराईएको बताउनुभयो ।

राईले भन्नुभयो, “बाँदरका कारण बस्तीहरु रितिने अवस्था आउँदा समेत नियन्त्रणका लागि कुनै चासो नदेखाईनु राज्यको गलत सोच हो, यो माग सम्वोधन नभएर बाँदर आतंक नियन्त्रणका लागि कृषक आफैँ सक्रिय हुने छन ।”

बाँदर आतंकका कारण बाली नाली लगाउन समस्या भएको कृषकहरुको गुनासो रहेको छ । बाली खानेमात्र नभई बाँदरले घरमा समेत आएर पाकेको भातको भाँडो बोक्ने, मकैको थांग्राका साथै घर भित्रका अन्नपात र सामानहरुमा समेत क्षति पुगेपछि सरकार कै ध्यानाकर्षण गराईएको माओवादी केन्द्रका नेता राजेश खतिवडाले बताउनुभयो । पार्टी जिल्ला समन्वय समितिका सचिव राई सहितको टोलीले जिल्ला प्रशासन पुगेर सरकारलाई बुझाएको ज्ञापन पत्रमा आफुहरुले राखेको मागहरु सरकारी तवरबाट हल नगरिए स्थानीय कृषक बाँदर नियन्त्रण गर्न जस्तो सुकै कठोर कदम चाल्न समेत बाध्य हुने चेतावनी दिइएको छ ।

ADVERTISEMENT

माओवादी केन्द्रले ज्ञापनपत्र मार्फत प्रधानमन्त्री, गृहमन्त्री र कृषिमन्त्रीको ध्यानाकर्षण गराएको छ । बाँदर आतंक नियन्त्रणका लागि संसदमा समेत पटक पटक कुरा उठदा समेत सरकारले यस तर्फ उचित निर्णय लिन नसक्दा स्थानीयहरु मारमा पर्दे आई रहेका छन ।

“घर भित्र पकाएको भात खान पाईदैन, आगनमा मकैको थाग्रा राख्न पाईदैन, खेतबारीमा कुनै पनि बाली राम्ररी लगाउन पाईदैन, यस्तो हुदाँ समेत सरकार मुकदर्शक बनेर कुनै समाधान नखोज्ने हो भने के हुन्छ हालत ।” स्थानीय कृष्ण प्रधानले भन्नुभयो, माओवादी केन्द्रले सरकारले दवाब दिनु किसानको हितमा छ ।

‘बाँदर आतंका कारण उर्वर जमिन बाँझो छोड्नुपर्ने बाध्यतासँगै गाउँबाट किसानहरु पलायन हुने संख्या दिनानु दिन बढिरहेको छ । राज्यले गम्भिरतापूर्वक विकराल समस्या समाधान गर्ने उपायको खोजी गरी किसानलाई प्रोत्साहन नगर्ने हो भने कुनै पनि गाउँ मावन वस्तिविहिन हुने कुरा निश्चित छ । आम किसानहरुको समस्यालाई मध्यनजर गरी तत्काल बाँदर नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार समक्ष जोड्दार माग गर्दर्छौ’ सरकारलाई पठाईएको ज्ञापनपत्रमा भनिएको छ ।

सरकारी तवरबाट बाँदर नियन्त्रण नगरिए स्थानीय किसानहरु बाँदर नियन्त्रण गर्न जस्तो सुकै कठोर कदम चाल्न समेत बाध्य हुने र उक्त अभियानको नेतृत्व गर्न नेकपा माओवादी केन्द्र भोजपुर तयार रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज