बसाइँसराइले गाउँ रित्तिए, बजार भरिए

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश स्थानीय गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजार मोह त्यत्ति थिएन । जिल्लाका विभिन्न ठाउँमा भएका बजारहरू साना थिए । अहिलेका जस्ता ठूला-ठूला पक्की घर भवन थिएनन् । बजारमा पनि माटो, ढुंगा र काठले बनेका घर हुन्थे । जब स्थानीय तह गठन भयो र गाउँ-गाउँमा मोटरबाटो पुग्न थाले त्यसपछि पहिलेका ति साना बजार ठूला सहरका रुपमा विकास हुँदै गए ।

पहिले बागलुङ बजारसहित गलकोट र बुर्तिबाङ मुख्य बजारका रुपमा लिइन्थ्यो । बस्ती विकास कम थियो । तर पछिल्लो आधा दशक यता बुर्तिबाङ र गलकोट बजार घर भवनले ढाकी सक्न लागेका छन् । ग्रामीण भेगका स्थानीय सेवा सुविधा खोज्दै तराई तिर बसाइँसराइ गर्ने चलन त थियो तर यी बजारहरूमा भने झर्दैनथे । अहिले दिनप्रति दिन गाउँ छोडेर बजार झर्नेको लर्कोनै लागेको छ । गाउँको कुना कन्दरासम्म सडकले जोडिए पनि स्थानीयको बजार मोहले गाउँ उजाड बन्न थालेका छन् ।

अहिले जिल्लाको निसीखोलाको निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरा लागयतका ठाउँहरू बजारमा परिणत हुँदै छन् । गाउँमा विस्तारै विकासले गति लिँदै गए पनि गाउँ छोड्नेहरूको रोकिन सकेका छैनन् । विगतमा सामान्य विकाससमेत नहुँदा गाउँमै बस्नेहरू अहिले बजार झर्न थालेपछि गाउँ रित्तिँदै छन् भने बजार भरिँदै गएका छन् । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोलाबाट पछिल्लो समय बसाइँसराइ गर्ने बढेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

पहिले गाउँमा सामान्य सुविधा नहुँदा स्थानीयहरू बाध्यताले बजार झर्ने गरेको भन्दै अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने संस्कृति बन्दै गएको उहाँले बताउनुभयो । खास गरि तमानखोलाबाट बुर्तिबाङ बजार झर्नेको संख्या ठूलो छ । त्योसँगै पोखरा, काठमाडौं, बुटवलका ठाउँमा स्थानीयहरू बसाइँसराइ गरी गाउँ छाड्ने गरेको अध्यक्ष बुढा मगरको भनाइ छ । उहाँले बसाइँसराइँ रोक्नका लागि स्थानीयलाई न्यूनतम विकास र आयआर्जनसँग जोड्ने गरी कामको सुरुवात गरेको बताउनुभयो । ‘बसाइँसराइ गर्ने मुख्य कारण त गाउँमा राम्रो सेवा सुविधा नहुनु नै हो, तर पहिलेको तुलनामा अहिले हरेक गाउँमा विकास पुगेको छ, सामान्य नागरिक विकाससँग जोडिएको छ, अहिलेको अवस्था हेर्दा हुँदा खानेभन्दा हुने खानेहरू नै बजार झरेका छन्’ अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘अहिलेका मान्छेहरूले विदेशमै गएर भए पनि दुई÷चार पैसा कमाउन थाले, सहर बजार बुझे त्यही भएर बजार झर्न थाले, बजार झर्ने त अहिले ‘फेसन’ जस्तो भइसक्यो ।’

ग्रामीण भेगबाट स्थानीयहरू ठूला सहर मात्रै होइन, भर्खरै विस्तार हुँदै गरेका बजारहरूमा पनि बसाइँसराइ गरेर आउन थालेका छन् । निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजारमा दिनदिनै बसाइँसराइ गरी आउनेको संख्या बढेको छ । बागलुङमा सबैभन्दा बढी गलकोटमा बसाइँसराइ गर्नेको संख्या ठूलो छ । यहाँका थुप्रै गाउँहरू सुनसान बन्दै गएको गलकोटन नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गलकोट नगरपालिका- १, २, ५, ६, ७ र ८ बाट बसाइँसराइ हरेक दिन बढ्दै गएको छ । खासगरी क्षेत्री र ब्राम्हण समुदाय बढी भएको गाउँबाट बसाइँसरा बढी हुने गरेको प्रवक्ता भण्डारीले बताउनुभयो । यहाँका अधिकांश युवा जापान रहेका छन् भने केही अमेरिका र केही खाडी मुलुकमा रहेको भण्डारीको भनाइ छ । विकासको मुख्य मेरुदण्ड शिक्षा र स्वास्थ्य भएको भन्दै नगरपालिकाले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

ADVERTISEMENT

भण्डारी भन्नुहुन्छ, ‘हामीहरूरुले गाउँमा विकास गरि राखेका छौँ, स्थानीयहरू गाउँ छोड्दै बजार झरि रहेका छन्, दलित र जनजाति बसोबास भएको बस्तीमा बसाइँसराइ कम छ भने ब्रामण र क्षेत्रीहरू भएको गाउँ रित्तिनै लागेको छ, जनताति र दलित समुदाय गाउँमै रमाएर बस्न चाहन्छन्, ब्राम्हण र क्षेत्री विदेश जाने, कमाउने र सहर बजारमा घर बनाउने गर्छन्, यहाँका अधिकांश मान्छेहरू पोखरा, चितवन र काठमाडौं छन्, केहीले यही गलकोट बजारमा घर बनाएर बस्छन् ।’

गलकोट नगरपालिका-७ टोकरीगाउँ, बरेखानी लगायतका गाउँ अहिले सुनसान छन् । गाउँमा युवाहरू भेट्याउनै मुस्किल पर्छ । गाउँमा भएका घरहरू जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्ने कोही नभएको स्थानीय विष्णु थापाले बताउनुभयो । विदेशमा राम्रो कमाइ हुने हुँदा १० कक्षा पास गरेर युवाहरू विदेशिने र विदेशबाट फर्किएर परिवारलाई बजार झार्ने गरेको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सानो–सानो हुँदा गाउँ कति रमाइलो थियो, अल्तीरपल्ती धेरै हुन्थ्यौँ, गाउँमा कसैलाई साह्रोगाह्रो पर्‍यो भने पनि छरछिमेकी मिलेर समाधान गर्ने गरिथ्यो, अहिले गाउँमा कोही छैन, पहिले विदेश गएर आएर गाउँमै घर जग्गा जोड्ने चलन थियो, अहिले जो गाउँबाट विदेश जान्छ, उ आयो भने परिवारलाई लिएर बजारमै झर्छ ।’

स्थानीय चन्द्रबहादुर सुनारले सरकारले गाउँमा गुणस्तरीय सेवा नपुर्‍याएसम्म बसाइँसराइ नरोकिने बताउनुभयो । पछिल्लो केही वर्ष यता गाउँ छाड्नेको संख्या दोब्बर÷तेब्बरले बढेको उहाँको भनाई छ । बसाइँसराइले गाउँ रित्तिने र बजार भरिने हुँदा उत्पादनमा समेत कमी आउने उहाँ बताउनुहुन्छ । सुनारले अहिले गाउँका खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको र खोलाका बगरमा ठूलाठूला घर भवन बन्ने गरेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘गाउँ त खाली भइसक्यो, बजारमा बस्नेले उत्पादन गर्दैनन्, उत्पादन गर्ने त गाउँलेनै हो, गाउँले जति बजारीया बन्न थाले, धान, गहुँ मकै र सागसब्जी फल्ने बारी बाँझिए, अब कसरी समृद्ध हुन्छ हाम्रो देश, गाउँमा अहिले हेर्नुहुन्छ भने युवा कोही छैन, घरहरू सबै खाली छन्, गाउँ अहिले रमाइलो छैन, उराठिलो बनेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज