राजविराज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार र सत्तारुढ दश दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको र अस्थिरता निम्त्याएको आरोप लगाउनु भएको छ ।
सप्तरीको राजविराजमा मिसन ग्रासरुट अन्तर्गत आज आयोजित 'पार्टी सुदृढिकरण तथा विस्तार अभियान' जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले वर्तमान गठबन्धनले विकास निर्माणमा अवरोध पु-याएको तथा राष्ट्रिय स्वाभिमान र स्थिरता कमजोर बनाउने काम गरेको आरोप लगाउनु भयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रपतिको निर्वाचन जस्तो १० दलिय गठबन्धनलाई सहज नहुने र धक्का लाग्ने विश्वास दिलाउनु भयो ।
बाहिरी शक्तिले हावा भर्नासाथ १० दलिय शक्ति सत्ता स्वार्थमा लिप्त भएको आरोप लगाउनुहुँदै पोखरेलले राजनीति स्थिरता र राष्ट्रियताको मामिलामा सरकारले निर्लज्जताबाहेक अरु केही देखाउन नसकेको दावी गर्नुभयो ।
हाल एमाले र कांग्रेसको नेतृत्वमा राष्ट्रिय राजनीति चलिरहेको भन्नुहुँदै पोखरेलले एमाले शक्ति आर्जन र कमिटीलाई व्यवस्थित गरेर बहुमत जनताको विश्वास जित्न लागिपरेको बताउनु भयो । उहाँले भिडमा रुपान्तरण पार्टीमा शक्ति नहुने भन्नुहुँदै पार्टीलाई स्थापित गर्न प्रत्येक पालिकामा सँसदीय दल बनाउन निर्देशन दिनुभयो । समृद्धि र विकास निर्माणमा जननिर्वाचित प्रतिनिधिको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको भन्नुहुँदै पोखरेलले भ्रष्टाचार, सामाजिक भेदभाव र कुसँस्कार दण्डनिय हुने चेतावनी दिनुभयो ।
जिल्ला भेलालाई सम्बोधन गर्नुहुँदै एमाले सचिव रघुबिर महासेठले अन्य सबै पार्टी आउने चुनावमा एक हुने सम्भावना भएकोले एमाले एक्लैले ५१ प्रतिशत भन्दा बढी विश्वासको मत ल्याउने गरी तयारी सुरु गरेको बताउनु भयो ।
एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले अवसरका लागि प्रयास गर्नु ठिक भएपनि अवसरवादी हुनु निन्दनिय रहेको बताउनु भयो ।
भेलालाई प्रशिक्षण दिनुहुँदै बरालले अवसरवादी चिन्तन खतरनाक रहेको र माओवादीले देखाएको दक्षिणपन्थ अवसरवाद आत्मसमर्पण, प्रतिक्रियावाद र विसर्जनवाद हुँदै पलायन हुने बाटोमा अघि बढेको बताउनु भयो । समाजवादको पूर्वाधार बनाउन विधालय सुधार, आर्थिक, सामाजिक, साँस्कृतिक परिवर्तनको लडाइ लडन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
एमाले पोलिटव्यूरो सदस्य रामदयाल मण्डलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि आफ्नो पार्टी जनतालाई एकताबद्ध गराएर अघि बढन तयार रहेको बताउनु भयो । उहाँले आफ्नो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न प्रयास गरिरहेको तर अन्य दलहरु सत्तास्वार्थमा लागेर अस्थिरता निम्त्याएको दावी गर्नुभयो ।
एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल, केन्द्रीय सदस्यहरु सरिता गिरी र राजकुमार लेखीले राष्ट्र, राष्ट्रियता, समृद्धि र विकासको अभियानमा सबै राजनीतिक दलहरुलाई एकतावद्ध हुन आह्वान गर्नुभयो ।
जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिरले स्वागत तथा सचिव देवनाथ यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेस (बिपी) का नेता तथा गत निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार प्रतिमाकुमार देव एमाले प्रवेश गर्नुभएकाे थियाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts