नेपाल प्रहरीका पाँच डिआइजी एआइजीमा बढुवा सिफारिस

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँचजना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरेको छ । प्रहरीका आठ एआइजीमध्ये पाँच एआइजीका पद रिक्त थिए । सोही रिक्त पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । एआइजी पूजा सिंहसहित अवकाश पाउने पाँचजना एआइजीले नै ५६ वर्षे उमेर हदका कारण अवकाश पाएका थिए । अवकाशका कारण साउनदेखि फागुनसम्ममा पाँच एआइजी रिक्त भइसकेका थिए ।

बढुवा सिफारिस गरिएकोमा पहिलो नम्बरमा वसन्त कुँवर हुनुहुन्छ । यसअघि डिआइजीमा पनि उहाँ नै पहिलो नम्बरमा हुनुहुन्थ्यो । त्यसअघि एसपीबाट एसएसपीबाट बढुवा हुँदा भने उहाँ १३औँ नम्बरमा रहनुभएको थियो । उहाँले डिआइजीको बढुवामा छलाङ मार्नुभएको थियो । दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौँमा किरण बज्राचार्य रहनुभएको छ । यसअघि गत असारमा निकालिएको बढुवा सिफारिसमा पनि दोस्रोमा राई हुनुहुन्थ्यो । चौथोमा थापा, पाँचौँमा ज्ञवाली र छैटौँमा बज्राचार्य रहनुभएको थियो । तेस्रो नम्बरमा रहनुभएका अशोक सिंहले राजीनामा दिएपछि पछाडि रहेका एक÷एक स्थान उक्लिएका हुन् । सरकारले यीमध्येबाट एकजनालाई नयाँ आइजिपीमा बढुवा गर्नेछ ।

शुक्रबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जारी गर्नुभएको सूचनामा भनिएको छ, ‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या ५ (पाँच) मा बढुवा गर्न मिति २०७९/११/२६ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’

वसन्त कुँवरको दरबन्दी हाल मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषामा रहेको छ । टेकप्रसाद राईको दरबन्दी लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा रहेको छ । दीपक थापाको दरवन्दी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुरमा रहेको छ । श्यामलाल ज्ञवालीको दरबन्दी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङमा रहेको छ । यस्तै, किरण बज्राचार्यको दरवन्दी नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, नक्साल काठमाडौंमा रहेको छ ।

ADVERTISEMENT

अहिले सिफारिस हुनुभएका पाँचैजना एकसाथ ८ असारमा एसएसपीबाट डिआइजीमा बढुवा हुनुभएको थियो । उहाँहरूलाई गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एआइजीमा बढुवा सिफारिस गरेको हो । एआइजीमा बढुवा सिफारिस भएका पाँचमध्येबाटै ११ चैतपछि नेपाल प्रहरीको आइजिपी बन्नुहुनेछ । एआइजी दौडमा रहनुभएका डिआइजी अशोक सिंहले भने उमेर विवादका कारण पदबाट राजीनामा दिइसक्नु भएको छ । दौडमा रहनुभएका ज्ञवाली पनि उमेर विवादमा मुछिसक्नु भएको छ ।

प्रहरी नियमावलीअनुसार सरकारले उपलब्ध एआइजीमध्येबाट र एआइजी नभएको अवस्थामा उपलब्ध डिआइजीमध्येबाट आइजिपी बनाउने उल्लेख छ । अन्तिम समयमा भएको बढुवा सिफारिससँगै भावी आइजिपी एआइजीबाट बढुवा हुने तय भएको छ । प्रहरी नियमावलीअनुसार सरकारले कार्य सम्पादन मूल्यांकन, नेतृत्व गर्ने क्षमता, कार्य कुशलता लगायतलाई आधार मानेर आइजिपी बनाउन सक्नेछ ।

विगतमा वरीयता वा ज्येष्ठताको पहिलो नम्बरमा रहेकालाई आइजिपी बनाउने गरिएको भए पनि अघिल्लो आइजिपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले त्यसलाई तजबिजी अधिकारका रूपमा व्याख्या गरेको थियो । सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार एआइजीमा बढुवा हुने पाँचैजना आइजिपीको दाबेदार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *