म्याग्दी । म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीहरूका लागि पोसिलो खुराक र म्याग्दीमा आउने आन्तरिक तथा बाहृय पर्यटकहरूका लागि गतिलो कोसेली बनेका छन् । म्याग्दीको बेनी नगरपालिका-४, सिंगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकहरूको रोजाइमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेका हुन् । बजारछेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीहरूले यहाँका माछालाई पौष्टिक आहारका रूपमा खाने गरेका छन् भने घुम्न आएका आन्तरिक तथा बाहृय पर्यटकहरूले कोशेलीका रूपमा लिएर फर्कने गरेका छन् । अन्यत्र पाइने माछाभन्दा यहाँका माछा बढी स्वादिष्ट हुने भएपछि अहिले ताजा माछा प्रतिकेजी १५ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम कम भएपछि हिजोआज तातोपानी कुण्डमा नुहाउने बिरामीको भिड बढेको छ । कुण्डमा चहलपहल बढेपछि म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाट समेत माछा मारेर व्यापारीहरूले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन् ।
असला माछा खानकै लागि तातोपानीमा आउनेहरूलाई पुर्याउन धौ-धौ हुने गरेको तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्साघरका सञ्चालक मुना तुलाचनले बताउनुभयो । ‘माछा कमै पाइन्छ, माग भने हृवात्तै बढेको छ, तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकहरूको माग थेगिनसक्नु हुन थालेपछि पु¥याउन सकिएको छैन,’ होटल सञ्चालिका तुलाचनले भन्नुभयो । माछा कमै पाइने भएकाले कोशेलीका रूपमा लिएर जान चाहनेहरूलाई दिएर पठाउन हम्मे-हम्मे परेको व्यवसायीको भनाइ छ ।
घुम्ने र तातोपानीमा स्नान गर्न जानेले कोशेलीका रूपमा लैजाने भएकाले जति रकम तिरेर भए पनि माछा किन्ने प्रचलन बढेपछि माछाको मूल्य पनि बढेको छ । पछिल्ला केही वर्ष नदीमा माछा कम हुँदै गएकाले स्थानीयको सहयोगमा प्रहरीले समेत विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाएको छ । तातोपानीका होटलहरूका भान्सामा विषादीरहित माछा पाक्ने गरेको छ । माछासँगै फापरको ढिँडोले यहाँको होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको स्थानीय होटल व्यवसायीहरूको भनाइ छ ।
विगतमा सामान्य मानिने फापर स्वास्थ्यलाई हितकर हुने भएपछि पछिल्लो समय फापरको पिठोको ढिँडोसँगै माछा सबैको रोजाइमा पर्न गएको स्थानीय होटल व्यवसायी कृष्ण केसीले बताउनुभयो । तातोपानीको उपल्लो र तल्लो बजार क्षेत्रमा सञ्चालनमा रहेका होटलहरूमा स्वास्थ्यका लागि राम्रो गर्ने र स्वादिलो हुने भएकाले म्याग्दी नदीको लोकल माछा र फापरको ढिँडो खान धेरैले मन पराउने गर्दछन् । खासगरी म्याग्दी नदीको माछा मिठो हुने हुँदा माछासँगै मुस्ताङी फापरको ढिँडोको बिक्री हृवात्तै बढेको होटल व्यवसायीहरूले बताएका छन् ।
फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राई आइटमका खाना पर्यटकको रोजाइमा रहेको होटल व्यवसायी एवं तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो । उहाँले तातोपानीका युवाहरूले म्याग्दीखोलामा जाल थापेर दैनिकजसो माछा मारेर बिक्री गर्ने गरेका छन् । तातोपानी बजारमा पछिल्लो समय आधुनिक सुविधासम्पन्न होटलहरू थपिएका छन् । फापरको ढिँडोसँगै एक प्लेट माछाका परिकार खाएको चार सयदेखि पाँच सय रुपैैयाँसम्म तिर्नुपर्दछ । यसै वर्ष तातोपानीमा सञ्चालनमा आएको श्रेष्ठ होटल हटस्पिङमा पुग्ने स्वदेशी तथा विदेशी पाउनाले समेत लोकल माछा रोज्ने गरेकाले दैनिक खपत हुने गरेको होटल सञ्चालिका साधना श्रेष्ठले बताउनुभयो ।
प्राकृतिक उपचारको चिकित्सालयका रूपमा विकसित हुँदै गइरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामीहरू बढेका छन् । जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा विरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोगहरू निको हुने जनविश्वाससँगै स्थानीय माछा र अर्गानिक खाना तातोपानीको प्रमुख विशेषता रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts