धादिङ । निलकण्ठ नगरपालिका धादिङले भानुपार्क मिचेर पानी ट्याङ्कीको निर्माण कार्य शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयसंगै रहेको पार्क सरकारी निकायमा सेवा लिन आउने सेवाग्राहीको लागि मनोरञ्जन र समय विताउने ठाउँको रुपमा सुविधा सम्पन्न पार्क निर्माण गर्न पहल भैरहेका बेला नीलकण्ठ नगरपालिकाले पार्क नै मासेर ट्याङ्कीको निर्माण कार्य शुरु गरेको हो ।
गत भदौ १३ गते नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले नगरपालिकाले हाल पार्किङको रूपमा प्रयोग गरिरहेको जमिनमा आयोजनाको शिलान्यास गर्नुभएको थियो तर अहिले त्यही आयोजनाको ट्याङ्की निर्माण जिल्ला प्रशासन कार्यालय नजिकै रहेको भानुपार्कमा सुरु गरिएको छ ।
हरेक वर्ष भानु जयन्ती तथा विभिन्न साहित्यीक कार्यक्रमहरुमा नागरिकको जमघट हुने भानु पार्क अब नाम निसाना नै मेटिदिएको छ । केहि समय नेपाली सेनाको निगरानीमा राखिएको पार्क तत्कालिन प्रधान सेनापती छत्रमान सिंह गुरुङसंग अनुरोध गरेपछि आम नागरिकका लागि खुल्ला भएको थियो । सेनाले माइन विच्छ्याएका कारण नागरिकको आउजाउमा रोक लगाएकोमा पछि माइन हटाएर खुल्ला गरिएको थियो ।
२०४८ सालदेखि भानुपार्कको रुपमा प्रयोग हुँदै आएको सभ्यता नास गर्नु गलत कार्य भएको भानु प्रतिष्ठानका केन्द्रिय सदस्य एवम् प्रतिष्ठानको तर्फबाट धादिङमा संयोजनको काम गर्दै आउनु भएका डा.नविनवन्धु पहाडीले बताउनु भयो । पार्क मिचेर पानी ट्याँकी निर्माण गरेको विषयमा प्रतिष्ठानको तर्फबाट नगर प्रमुख भिमप्रसाद ढुंगानाको ध्यानाकर्षण गराए पनि यस कार्यलाई नगर प्रमुखले वेवास्था गरेको आरोप छ ।
यस बिषयमा बुज्दा नगर प्रमुख भिमप्रसाद ढुंगानाले भने आफुले सबैको सहमती मै काम अघि बढाएको दाबी गर्नु भएको छ । पानी ट्याङ्की भूमिगत हुने र जमीनमाथि दुइमिटर मात्र देखिने भएकोले त्यसमा विभिन्न चित्रहरु मार्फत आकर्ष बनाउने पनि ढुंगानाले बताउनु भयो । भुकम्प जस्ता विपद्को समयमा नागरिकका लागि खुल्ला स्थानको रुपमा प्रयोग हुँदै आएको भानु पार्कमा विगतमा पनि धेरै बालबालिकालाई राखेर सहजीकरण गरिएको थियो ।
साहित्यीक जमघट, मनोरञ्जन र थकाइ मेटाउने चौतारीको रुपमा प्रयोग हुँदै आएको पार्कलाई अझ विकसित गर्नुको सट्टा नाश गर्ने कार्य राम्रो नभएको नागरिक अगुवाहरुले बताएका छन् । नागरिकका लागि पिउने पानी त आवश्यक हो तर त्यसका लागि अन्यत्र स्थान खोज्नु पर्नेमा पार्क छनोट गर्नु सभ्यता विपरितको कार्य भएको पनि उनीहरुले गुनासो गरेका छन् ।
धादिङ साहित्य समाज, भानु प्रतिष्ठान धादिङ र नागरिक समाजका प्रतिनिधिले भानुपार्कको अतिक्रमण गरेर भइरहेको संरचना निर्माण कार्य रोक्न जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts