जुम्ला । जुम्लाका ग्रामीण गाउँ बस्तीमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्यसेवा पाएपछि स्थानीयवासीलाई राहत मिलेको छ । जिल्लाको दुर्गम भेगमा पर्ने तातोपानी गाउँपालिका–७ र ८ भेरीखोला सदरमुकाम खलंगाबाट सबैभन्दा टाढा पर्ने गाउँ वस्ती हुन् । यस क्षेत्रको भेरीखोलामा धेरैजसो पशु चौपाया पालन गर्दछन् । कच्ची बाटो खनिएपनि नियमित रुपमा सवारी साधन चल्दैनन् । बिजुली नहुँदा यहाँका नागरिक रात अध्यारोमै बस्न बाध्य छन् ।
भेरीखोलामा सामान्य उपचारका लागि स्वास्थ्य चौकी भएपनि विशेषज्ञ चिकित्सक सेवा पाउँदैनन् । यही समस्यालाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सहकार्यमा तातोपानी गाउँपालिकाले दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य शिविरमार्फत भेरीखोलाका ४०५ जना स्थानीय लाभान्वित भएका छन् ।
आर्थिक अभावले स्वास्थ्य सेवा र उपचारबाट बन्चित विपन्न नागरिकको राहतका लागि ‘जनतासँग अध्यक्ष कार्यक्रम’अन्तर्गतको बजेटबाट स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ । दुई दिने स्वास्थ्य शिविरको पहिलो दिनमा २५० जना र दोस्रो दिनमा १५५ जना गरी ४ सय ५ जनाले विभिन्न समस्याको जाँचसँगै स्वास्थ्य सेवा लिएका हुन् । जसमा महिला २५१ जना र पुरुष १५४ जनाले परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष चौलागाईले बताउनुभयो ।१२ जना गर्भवती महिलाले अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा लिएको वडाध्यक्ष तिलक रावलले जानकारी दिनुभयो । तातोपानी गाउँपालिका–७ की ८० वर्षीया रामकली रावतले गाउँमै विशेषज्ञ स्वास्थ्य उपचार पाएकामा यहाँका स्थानीयवासिलाई निकै राहत गरेको बताउनुभयो । ‘शरीर दुख्ने, ओठमुख सुक्ने, ज्वरो आउने, पेट दुख्ने समस्याबाट लामो समयदेखि पीडामा परेकी थिएँ, स्थानीय रावलले भन्नुभयो, ‘कर्णाली स्वास्थ्य विज्ञानमा गएर उपचार गर्ने खर्च थिएन । तर, गाउँमै डाक्टर आउँदा खुशी लाग्यो । हामी बुढाबुढी टाढा अस्पताल पुगेर उपचार गर्न सकिएको थिएन ।'
घरमै पालिकाले डाक्टर ल्याएर उपचार सेवा दिएकोमा स्थानीय सरकारले गरेको नमुना काम भएको यहाँका जेष्ठ नागरिक बताउँछन् । दुर्गम भेरीखोला क्षेत्रका नागरिकका लागि आयोजित स्वास्थ्य शिविरका लागि जनतासँग अध्यक्ष कार्यक्रमको ५ लाख बजेट खर्च भएको छ । भेरीखोला क्षेत्रमा अहिलेसम्मकै ठूलो र सबै रोगको परीक्षण गर्ने शिविरको आयोजना गरेपछि नागरिकको उत्साहजनक सहभागिता भएको तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलको भनाइ छ। शिविरमा अधिकांश महिलाको पाठेघरको समस्या, सेतो पानी बग्ने लगायतका स्त्रीरोग देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशषज्ञ डा. पुजन रोकायाले बताउनुभयो । शिविरमै तीन जनाको शल्यक्रियासमेत गरिएको छ । लामो समयदेखि हड्डीको समस्या झेलिरहेका तथा खुट्टामा काँडा बिझेर इन्फेक्सन भएका कारण जटिल स्वास्थ्य समस्या रहेका तीन जना बिरामीको शल्यक्रिया गरिएको डाक्टर रोकायाले जानकारी दिनुभयो ।
दुर्गम भेरीखोला क्षेत्रका नागरिकको माग र समस्यालाई मध्यनजर गरी निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ ।
जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
जिल्लाको तातोपानी गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। जनतासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत ३६७ जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले जानकारी दिनुभयो ।
पालिको वडा नं ७ र ८ स्थित भेरीखोलाका ६८ वर्षमाथिका स्थानीयवासिलाई सात लाख ६० हजार रुपैयाँबराबरको ज्याकेट र स्वेटर वितरण गरिएको उपाध्यक्ष रावलले भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements