‘भारतको आवाज अब विश्वभर सुनिनेछ’

Read Time = 4 mins

नयाँदिल्ली । भारतका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै सञ्चारमाध्यमले भारतको आवज अब विगतको भन्दा अझ चासो दिएर अन्तर्राष्ट्रिय समुदायले सुन्ने बताएका छन् । सुरतको अदालतले मानहानि मुद्दामा दुई वर्ष जेल सजाय सुनाएको भोलिपल्ट संसद्को तल्लो सदनको कार्यालयले विपक्षी दलका नेता राहुल गान्धीको सांसद पद खारेज गरिएको घोषणा गरेको सन्दर्भमा उनीहरूले भारतप्रति विश्वको चासो बढ्ने बताएका हुन् ।

राजनीतिक दलका नेता तथा सञ्चारमाध्यमले गान्धीलाई जानाजान मानहानि मुद्दामा दोषी ठहर गरिएको आरोप लगाएका छन् । कांग्रेस नेता शशी थरुरले गान्धीको आवाज सत्तारुढ दलले दबाउन खोजे पनि उहाँको आवाज अब संसारका कुना-कुनामा पुग्ने बताउनुभयो ।

राष्ट्रिय राजधानीस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता अभिषेक मनु सिंघवी र जयराम रमेशले भाजपा नेतृत्वको सरकार राहुल गान्धीको टिप्पणीबाट विचलित भएको बताउनुभयो । गान्धीविरुद्धको मुद्दा कानुनीभन्दा पनि राजनीतिक विषय भएको बताउँदै नेता रमेशले न्यायालयको निर्णयबाट लोकतन्त्रको घाँटी थिच्ने अभीष्टलाई सहयोग पुगेको बताउनुभयो ।

नेता गान्धीका वकिलहरूले समयमै उचित कानुनी प्रक्रिया अवलम्बन नगरिएको बताउँदै उनीहरूले गान्धीको भाषण प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित भएकाले उजुरीकर्ता पुर्नेश मोदी नभएर प्रधानमन्त्री मोदी हुनुपर्ने भनेका छन् ।

ADVERTISEMENT

सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भन्नुभएको थियो । उहाँले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भन्नुभएको थियो ।

नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक एवं गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उहाँवरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।

अदालतको फैसला सुन्न नेता गान्धी सुरत अदालत पुग्नुभएको थियो । ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ । मेरो भगवान् सत्य हो, अहिंसा यसलाई प्राप्त गर्ने माध्यम हो’, अदालतको आदेशपछि सामाजिक सञ्जालमा महात्मा गान्धीलाई उद्धृत गर्दै राहुल गान्धीले लेख्नुभएको थियो ।

नेता गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद निर्वाचित हुनुभएको थियो । यसैबीच नेता गान्धीको सांसद पद खारेज भएकामा त्यसको विरोध गर्दै महाराष्ट्रमा विरोध प्रदर्शन भएको छ । महाराष्ट्र राज्यसभामा मुखमा कालोपट्टी बाँधेर नेताहरूले मौन विरोध प्रदर्शन गरेका हुन् । राज्यसभा भवनको सिँढीमा शिवसेनाका नेताहरू उदय ठाक्रे, आदित्य ठाक्रे र कांग्रेसका नेता जयन्त पाटिललगायत बस्नुभएको थियो । रासस, एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?