सर्जकहरू आफैं उत्पादक र प्रवद्र्धक बन्ने दिन आएको छ : चेतन सापकोटा

Read Time = 13 mins

नेपाली गीत-संगीतको फाँटमा बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ चेतन सापकोटा । उहाँ संगीतकार, गायक र गीतकारका रूपमा नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुनुहुन्छ । ६० बढी चलचित्रका लोक, आधुनिक, भजन र पप गरेर पाँच सयभन्दा बढी गीतमा संगीत सिर्जना गर्नुभएका सापकोटाको चलचित्रका ‘नतान, नतान’, ‘तिम्रो आँखामा बस्न रहर भो मलाई’, ‘मागेर पाउने भए’ जस्ता थुप्रै गीत हिट छन् । यस्तै, उहाँका अञ्जु पन्तको ‘मैले हार्दा तिमी नै जित्छौ भने’ र रामकृष्ण ढकालको ‘धुजा परेको जिन्दगी’लगायत दर्जनौँ गीत सर्वाधिक रुचाइएका छन् । नेपाली गीत-संगीतको फाँटमा एउटा फरक उचाइ बनाउन उहाँ सफल हुनुभएको छ । कला संस्कृति ग्राम (सांगीतिक हब) बनाउने योजनालाई साकार पार्नेतर्फ आफ्न कार्य अगाडि बढाइरहनुभएको छ उहाँ । उहाँ जीवनलाई गीत-संगीतको माध्यमबाट अमूल्य बनाउन सकिन्छ भन्ने मान्यता राख्नुहुन्छ । सर्जकहरू आफैं उत्पादक र प्रवद्र्धक बन्ने दिन आएको बताउनुहुने चेतन सापकोटासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

नेपाली सांगीतिक क्षेत्रमा संगीतकार, गायक र गीतकारका रूपमा यहाँको परिचय स्थापित छ । मूलतः यहाँ आफूलाई के भन्न चाहनुहुन्छ ?
म निरन्तर गीत-संगीत कर्ममै छु । म आफूलाई सर्जककै रूपमा चिनाउन चाहन्छु र गीतकार, संगीतकार र गायकको अधिकार स्थापित गराउन निरन्तर प्रयत्नरत छु ।

हालसम्म यहाँका कति जति सिर्जना श्रोता/दर्शकमाझ आएका छन् ?
हालसम्म ६० भन्दा बढी चलचित्रका गीत, टेलिसिरियल, एल्बम, विज्ञापन, रेडियो जिंगल, पर्यटन प्रवद्र्धन गीत, आधुनिक गीत, राष्ट्रिय गीतलगायत करिब ५०० गीत/सिर्जना श्रोतामाझ पस्किसकेको छु ।

केही गीतको नाम लिनुपर्दा ?
‘तिम्रो आँखामा बस्ने रहर भो मलाई’, ‘हाम्रो माया अजम्बरी छ’, ‘नतान नतान’, ‘चियाको बोटैमा’, ‘मात लाग्यो’, ‘दिल तोडेर नजाऊ’, ‘एक भई जुटौँ नेपाली हो’, ‘सिमानामा हाम्रो माटो’, ‘बुद्ध पठाइदेऊ’, ‘तितो सत्य’, ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ आदि ।

औपचारिकरूपमा कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
औपचारिकरूपमा २०५२ सालदेखि नेपाल ललितकला क्याम्पसमा संगीतको औपचारिक शिक्षा लिँदै मेरो संगीत यात्रा सुरु भएको हो ।

नेपाली सांगीतिक क्षेत्रमा एउटा फरक उचाइ बनाउन सफल हुनुभएको छ यहाँ । नेपालमै एउटा ‘संगीत हब’ बनाउने यहाँको योजना थियो होइन ? त्यसका बारेमा केही बताइदिनुहोस् न ।
संगीतकार संघले नेपालका जातजातिको भाषा, कला, संस्कृति, पहिरन, भाकालाई एकै ठाउँमा हेर्न सकिने कला संस्कृति ग्राम (सांगीतिक हब) निर्माण गर्ने परिकल्पना गरेको छ । यसका लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा पार्न हामी लागिरहेका छौँ र यसैपटक सांस्कृतिक ग्राम निर्माणमा लाग्नेछौँ ।

यहाँ यतिबेला संगीतकार संघको अध्यक्षमा कार्यसम्पादन गरिरहनुभएको छ, यहाँ अध्यक्षमा आएपछि संघमा के-कस्ता कार्य गर्नुभयो ?
संगीतकार संघमा म आएपछि दशैँ, तिहार र छठ पर्वको उपलक्ष्यमा स्रष्टा सम्मान कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा नेपालका मूर्धन्य स्रष्टाहरू गायक भक्तराज आचार्य, संगीतकार शम्भुजित बास्कोटा, गीतकार किरण खरेल, लोकगायक कुमार बस्नेत, देउडा गायक नन्दकृष्ण जोशी, गीतकार प्रमोद ढुंगाना, गीतकार डा. भोला रिजाल, संगीत महागुरु चन्दनकुमार श्रेष्ठ, संगीत संयोजक अमूल कार्की ढली, संगीतकार भुपेन्द्र रायमाझी, विशिष्ट कलाकार युवराज लामालगायतलाई नगद राशिसहित सम्मान गर्‍यौँ । साथै संघको अक्षयकोषका लागि रकम संकलन गरिएको छ ।
प्रतिलिपि अधिकारका विषयमा नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग छलफल गर्‍यौँ । स्रष्टाहरू बिरामी पर्दा औषधि उपचार खर्च उपलब्ध गराएका छौँ । स्रष्टाको हक अधिकारका लागि हामी आवाज उठाइरहेका छौँ ।

अध्यक्षमा आउनुअघि यहाँले गरेका बाचा के-कस्ता पूरा गर्नुभयो ?
संगीतकार संघको अक्षयकोष वृद्धिका लागि नेपाल सरकारबाट बजेट ल्याउने, संगीतकार संघको भवन निर्माण लागि जग्गा लिने मेरा मूल योजना हुन्, त्यसमा म लागिरहेको छु ।

रोयल्टी र प्रतिलिपि अधिकारका कुरा के-के भए, के हुँदैछ ?
प्रतिलिपि अधिकार ऐन, २०५९ मा स्रस्टाहरूले पाउने सम्पूर्ण आर्थिक, नैतिक, बौद्धिक अधिकारका विषय समेटी ऐन संशोधन गरी संगीतकार संघको नेतृत्वमा अघि बढाउने जिम्मेवारी प्राप्त भएको छ । त्यसमा हामी काम गर्दैछौँ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा यहाँ नियुक्त हुनुभएको छ, के-कस्ता कार्य गर्ने सोच बनाउनुभएको छ ?
नेपाली मौलिक गीत, संगीत र नृत्य कलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन, प्रवद्र्धन गर्न साथै कला संस्कृति र पर्यटनलाई सँगसँगै विश्वसामु प्रचारप्रसार गर्न सकिन्छ भन्ने विश्वास छ । हाम्रो मौलिकता, हाम्रो संस्कृति, हाम्रो कला र प्रकृति हाम्रो सम्पत्ति हो । हामी विश्वसामु हाम्रो सम्पत्तिको बजार बनाउन चाहन्छाँै ।

ADVERTISEMENT

राजनीतिमा पनि यहाँलाई त्यतिकै सक्रियरूपमा पाइन्छ नि ?
संगठित भएर आवाज बुलन्द गर्न सकियो भने हाम्रा हक अधिकार स्थापित गर्न सकिन्छ भन्ने मेरो बुझाइ हो । मेरो राजनीति नेपाली गीत, संगीत, कला, चलचित्र क्षेत्रलाई मर्यादित एवं व्यावसायिक बनाउँदै राज्यलाई आयआर्जन गर्ने क्षेत्रका रूपमा विकास गर्नलाई म राजनीतिमा जोडिएको हुँ । राजनीतिमा नजोडिँदा यी सबै कुरा सम्भव छैनन् । त्यसैले म राजनीति र कला सिर्जनालाई राजनीतिमा जोडिरहन चाहन्छु ।

जीवन र गीत-संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ  ?
जीवन जसरी प्रकृतिको वरदान हो, संगीत पनि प्रकृतिको वरदान नै हो । जीवनलाई गीत–संगीतको माध्यमबाट अमूल्य बनाउन सकिन्छ । गीत–संगीतलाई हामी जीवनको अंगका रूपमा चाहेर वा नचाहेर ग्रहण गरिरहेका हुन्छौँ । जीवन र संगीत नदी र किनारा जस्तै हुन् ।

तपाईं कसका लागि गीत-संगीत सिर्जना गर्नुहुन्छ ?
पक्कै पनि मेरा श्रोताका लागि । केही संगीत म आफ्नै लागि । केही संगीत देश र समाजका लागि सिर्जना गर्छु ।

संगीतमा बेला-बेलामा चोरीको आरोप लाग्ने गर्छ नि ?
संगीतको सात सुरलाई छल्नका लागि कला नपुगेपछि चोरीको आरोप लाग्न सक्छन् । मेरो संगीत कोहीबाट प्रभावित हुन सक्छ भने कोही मेरो संगीतबाट प्रभावित हुन सक्छ । प्रभावित हुनु र चोरी हुनु फरक कुरा हो । यो सबैले बुझ्न जरुरी छ ।

तपाईंको सिर्जनाको आधार के हो ?
मौलिकता र शास्त्रीय संगीत ।

अहिलेको नेपाली गीत-संगीतको अवस्था कस्तो पाउनुहुन्छ ?
धेरै राम्रो छ । नयाँ-नयाँ प्रतिभाहरू आउनुभएको छ । राम्रो गर्ने प्रयास गर्नुभएको छ । स्रष्टा सबै अहिले आफ्नो हक अधिकारका लागि आफैं बोल्ने हुनुभएको छ । भारत गएर गीत-संगीत रेकर्ड गर्ने प्रचलन विस्थापित भएको छ । राम्रो गीत-संगीत गर्नेहरू आर्थिकरूपमा समेत स्थापित भएका छन् । हाम्रा गीत-संगीतबाट सामाजिक सञ्जालमार्फत् लाखौँ सर्जक उत्पादन हुनुभएको छ । अहिले संगीत क्षेत्र धेरै राम्रो भएको छ ।

हिजो र आजका गीत-संगीतमा कत्तिको फरक पाउनुहुन्छ  ?
समयसँगै सबै कुरामा बदलाव आउँछ । यो प्राकृतिक नियम नै हो । गीत-संगीतमा पनि धेरै बदलाव आएको पक्कै हो । तर, मौलिकता र सिर्जनशीलतामा कमी आएको छैन ।

नेपाली गीत-संगीतलाई विश्व गीत-संगीतको दाँजोमा कहाँनेर पाउनुहुन्छ  ?
संघर्षमै छौँ हामी । राम्रो गीत-संगीत विश्व बजारमा विभिन्न पोर्टलमा बिक्री भइरहेका छन् । तर, हामीले आफ्नो सिर्जनाको रोयल्टी पाएका छैनौँ । हामी आफैं अधिकार निर्माण गरेर विश्व बजारमा आफ्नो पहुँच र उपस्थितिका लागि संघर्ष गरिरहेका छौँ ।

घरपरिवारबाट तपाईंको कार्यमा कत्तिको सपोर्ट मिलेको छ  ?
शतप्रतिशत सपोर्ट मिलेको छ ।

यो क्षेत्रमा आउन चाहने नवप्रवेशीलाई के भन्न चाहनुहुन्छ ?
रहरले आइन्छ । बाध्यताले व्यावसायिक बनिन्छ । तर, आफ्नो हक अधिकार पाइँदैन । सर्जकहरू आफैं उत्पादक र प्रवद्र्धक बन्ने दिन आएको छ । हामी डिजिटल बजारमा प्रवेश गरिसकेका छौँ । सबै बुझेर साधना गर्दै आउनुहुन अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *