प्राकृतिक स्वास्थ्योपचारको उत्कृष्ट स्थल बन्दै म्याग्दीको तातोपानी (तस्वीरसहित)

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । म्याग्दीको तातोपानी कुण्ड प्राकृतिक स्वास्थ्योपचारको उत्कृष्ट र निर्विकल्प ठाउँ बन्दै गएको छ ।

मुलबाट नै प्राकृतिक रुपमा ४८ डिग्रिसेल्सियस तापक्रमको विरेनुन र गन्धक मिश्रित स्वादको तातोपानी निस्कने यो कुण्डमा पछिल्लो समय ढुवेर उपचार गराउन आउनेहरुको भीड लागेको छ ।

प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो ।

नवलपुरको गैडाकोट नगरपालिका वडा नं १३ हर्कपुरका ५९ वर्षिय डण्डपाणी पोख्रेलले विगत १० वर्षदेखि तातोपानीको कुण्डमा निरन्तर रूपमा डुब्न आएको बताए । उहाँले आफ्नो ढाड र घुँडा दुख्ने समस्या रहेकामा निरन्तर रुपमा तातोपानी कुण्डमा आएर डुबेपछि निको भएको बताउनुभयो । वर्षमा एक पटक म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा डुब्यो भने एक वर्षसम्म रोग निको हुने र अरु कुनै औषधी सेवन गर्न नपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी भरतपुर १२ का विष्णप्रसाद गौतम र सन्तमायाँ गौतम पनि विदेशमा रहँदा छालामा समस्या देखिएर औषधि सेवन गर्दा पनि रोग निको नभएको हुँदा तातोपानी कुण्डमा आएर डुबेपछि धेरै ठिक भएको अनुभव सुनाउनुभयो । “भरतपुर र काठमाण्डौंका महंगा अस्पतालहरुमा उपचार गराउँदा रु ९ लाख भन्दा बढी खर्च भयो तर रोग बीसको उन्नाइस भएन,वर्षको एक पटक यहाँ आएर डुव्न थालेपछि धेरै कम भएको छ ” उहाँले भन्नुभयो । उहाँ विगत ५ वर्षदेखि तातोपानी कुण्डमा डुव्न आउने गर्नुभएको छ ।

तातोपानी कुण्डमा डुब्दा पैसा पनि थोरै लाग्ने र औषधि उपचार तथा चिकित्सककोमा जानुभन्दा प्राकृतिक उपचार खोज्दै आएको विरामीहरुको भनाइ छ । घुँडा दुख्ने, ढाडको समस्या र ग्यास्ट्रिक भएकाले त्यसलाई निको बनाउन आफूहरु तातोपानी आउने गरेको विरामीहरु बताउँछन् ।

तातोपानी कुण्डमा हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामीहरु डुब्न आउने गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

ADVERTISEMENT

पछिल्लो समय कुण्डमा बिरामीलाई लक्षित गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधारहरु विस्तार गरिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ ।

यहाँको कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०/१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको भएको बिरामीले बताएका छन् । उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महङ्गा अस्पतालमा पुगेर उपचार गर्दा समेत निको नभएको रोग तातोपानी कुण्डमा डुबेर निको भएको तातोपानीमा डुबेर रोग निको भएका व्यक्तिहरु यहाँ आएर खुसीहुँदै कुण्ड व्यवस्थापनका लागि आर्थिक सहयोग गर्ने गरेका स्थानीय कुमार केसीले बताउनुभयो ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयको रुपमा देश–विदेशमा समेत चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि विभिन्न चर्मरोग, चोटपटक, ग्याष्ट्रिक, गानोगोलादेखि लिएर प्यारालाइसिससम्म निको भएको बिरामीले बताएका छन् ।

देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य बताउनुभयो । लामो समयसम्म थलिएर उपचारका लागि यहाँ डुब्न आएका बिरामीले पनि तातोपानीमा डुबेपछि आफ्नो रोग निको भएको बताएका छन् ।

कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला राख्ने गरिएको छ । जमीनमुनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोग निको हुने जनविश्वास रहिआएको छ ।
तातोपानीमा उपचारका लागि आउने यातायातका साधनबाट नै यहाँ आउन सक्छन् । देशका सबै ठाउँबाट बेनीसम्म यातायातका साधन आउने गर्दछन् ।

बेनीदेखि पनि तातोपानी कुण्डसम्म पुग्नका लागि बस, ट्याक्सी, जिपलगायतका सबै साधन पाइन्छन् । बेनीदेखि बसमा रु ७० र ट्याक्सीमा १५० तिरेपछि तातोपानीमा पुग्न सकिन्छ । तातोपानीबजारमा पुगिसकेपछि त्यहाँ होटल तथा कोठा भाडामा लिएर बस्न पाइन्छ । होटलको राम्रो प्रबन्ध पनि छ । त्यसैगरी आफँै पकाएर खानेलाई कोठासँगै ग्यास चुल्हो पनि घरधनीले दिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?