भोजपुर । टक्सार बजार जुन पाटक भन्दा पछाडीको दोश्रो धार्मिक स्थलहरु भएको ठाउँ हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि नेपाल सम्वत ९३५ अर्थात विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध बिक्रम शाह तथा जनरल भीमसेन थापाको कार्यकालमा यस स्थलमा टक्सार खानी अड्डा स्थापना गरी एक पैसे तथा दुईपैसे डोली पैसा टकमारी गर्न शुरु गरिएको थियो । सोही पैसा टकमारी गर्न थालिएपछि यसको नाम पनि टक्सार रहन गएको कथन पाइन्छ ।
सदरमुकामबाट आधा घण्टाको दुरी भोजपुर नगरपालिका वडा नम्वर १२ मा रहेको टक्सार स्थापनासँगै यहाँ पाटनका जस्तै धार्मिक सम्पदाहरु पनि बनेका थिए । सो पश्चात टक्सार बजारलाई मन्दिरै मन्दिर भएको बजारकारुपमा पनि परिभाषित गरिएको टक्सारलाई नजिकबाट नियाल्दै आउनु भएका गणेश बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “टक्सार बजारलाई मन्दिरै मन्दिरको बजार भने हुन्छ, यहाँ प्रसिद्ध मन्दिरहरु स्थापना भएका छन, जुन मठ मन्दिरहरु संरक्षणमा भने सरोकारवाला निकायहरुले उचित ध्यान दिन सकिरहेका छैनन ।
टक्सारमा विद्याधरी अजिमा, भीमसेन मन्दिर, श्रीकृष्ण मन्दिर, रणेश्वर शिवालय, राधाकृष्ण, हनुमान मन्दिर, जयेश्वर महादेव, देउराली भगवती, कोट भगवती, करुणामय मन्दिर, शाक्यमुनि विहार, उत्तराभिमुख गणेश लगायतका दर्जनौं देवदेवीका मठ मन्दिर, विहार र चैत्यहरू तथा धारा, पौवा, पाटीहरु छन । जुन उचित संरक्षण र सम्वर्धनको पखाईमा रहेको स्थानीयवासीको भनाई रहेको छ ।
टक्सारमा रहेका ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्वलाई उजागर गर्दे यहाँ भित्र रहेका धार्मिक सम्पदाको संरक्षण र सम्वर्धनका लागि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको समेत आयोजना गरिएको छ । टक्सारमा रहेको रणेश्वर शिवालय मन्दिर एक सय बर्ष पुरा भएको अवसरमा महायज्ञको आयोजना गरिएको प्रचार प्रसार समितिका सदस्य घमचन्द्र दाहालले जानकारी दिनुभयो । सदस्य दाहालले भन्नुभयो, “धार्मिक तथा धातु ब्यवसायका हिसावले इतिहास बोकेको टक्सार दिनुनादिन ओझेलमा पर्दे गई रहेको छ, यसलाई पुरानै अवस्थामा फर्काउनु राज्यको पनि दायित्व हो तर सरकारी पक्षबाट केही सहयोग हुन सकिरहेको छैन ।”
रणेश्वर महादेव गुठी ब्यवस्थापन तथा संचालक समितिको आयोजनामा हुने सप्ताह महायज्ञमा प्रख्यात पण्डित सागर भट्टराई र पण्डित सुदिप सुवेदीले कथा बाचन गर्नुका साथै सार्वजनिक संगीतमय कार्यक्रम पनि हुने छ भने हरेको दिन संगीतमय योग शिविर समेत संचालन हुने छ ।
चैत्र ८ गतेबाट हुने महायज्ञले धार्मिक सम्पदाहरुको प्रचार प्रसार सहित संरक्षणमा पनि बिशेष योगदान दिने स्थानीय सानुकाजी शाक्यले बताउनुभयो । शाक्यले भन्नुभयो, “रणेश्वर शिवालय मन्दिर बने पछि टक्सारमा एक किसिमले धार्मिक–सांस्कृतिक जागरण आयो, बिभिन्न पर्वमा धार्मिक क्रियाकलाप हुन थाल्यो, दैनिक पूजा पाठ हुँदा पूर्वको पशुपतिनाथ जस्तै बन्यो ।”







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts