खेल क्षेत्रमा वर्षेनी लगानी, खेलाडीलाई जहिल्यै खेल मैदानको अभाव

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । चाडपर्व, मेला महोत्सव आयो की बागलुङका बजारदेखि गाउँसम्म ठूलो–ठूलो पुरस्कार राशीको खेलकुद प्रतियोगिता हुन्छन् । खेलप्रति धेरैको चासो र रुचि पनि देखिन्छ । तर जिल्लाका अधिकांश ठाउँमा उपयुक्त खेल मैदान छैन । भए पनि साँघुरा छन् । त्यस्ता खेल मैदानले दुर्घटना जोखिम बढाएका छन् ।

उपयुक्त खेल मैदान नहुँदा पनि खेलाडीहरु उत्पादन भइरहेका छन् । उनीहरु साँघुरा घरको आँगन, बारीको पाटो तथा विद्यालयको प्राङ्गणमा खेल्दै आएका छन् । खेल खेल्ने पर्याप्त वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट पनि हात धुनु परेको छ । त कति विदेशिनु परेको छ । त्यही साँघुरो बारीमा खेल्दै हुर्किएका दर्जनौँ खेलाडी अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेल खेलिरहेका छन् । उनीहरुले आफ्नो पहिचानलाई थप उचो बनाएका छन् ।

बागलुङबाट रवी केसी, दिल सुनार, सुनिल घर्ती, दुर्गा बहादुर सुनार सोफया पुन लगायत दर्जनौँ खेलाडीले राष्ट्रिय स्तरमा आफ्नो नाम दर्ज गर्न सफल भइसकेका छन् । अहिले पनि उनीहरु कै पछि–पछि सयौँ बालबालिका तथा युवाहरु भलिबल र फुटबल खेल्दै आएका छन् । खेल मैदान अभावमा गुज्रिएका सयौँ खेलाडी अहिले पनि माथिल्लो स्तरको खेल कसरी खेल्न सकिन्छ भन्नेमा अन्यौल छन् । राम्रो प्रशिक्षक र खेल मैदान नहुँदा राम्रो खेल्ने खेलाडी पनि गाउँमै सीमित बन्नु परेको भलिबल खेलका अन्तराष्ट्रिय खेलाडी दिल सुनारले बताउनुभयो ।

निसीखोला गाउँपालिका–१ का सुनारले विगतमा आफू पाटाको कुना, खोला किनारमा खेल्दै सिकेको स्मरण गर्दै अहिले पनि खेल क्षेत्रको अवस्था निकै दयनीय भएको बताउनुभयो । पछिल्लो समय तीन तहकै सरकारले खेल क्षेत्रको प्रवद्र्धनका लागि बजेट व्यवस्थापन गरे पनि सही ठाउँमा प्रयोग हुन नसकेको सुनार बताउनुहुन्छ । अहिले पनि राज्यको खेल प्रति हेरिने दृष्टिकोण फेरिन नसकेको उहाँको भनाई छ ।
उहाँ भन्नुहुन्छ– “खेल क्षेत्रमा अहिलेका पुस्ताहरुमा निकै ठूलो क्रेज छ, यो क्षेत्र निकै गौरव गर्न लायक क्षेत्र पनि हो, तर उपेक्षामा परेको जस्तो लाग्छ, अहिले पनि नयाँ–नयाँ संभावना बोकेका खेलाडीहरु उत्पादन भइरहेका छन्, खेल्ने राम्रो वातावरण भएको भए उनीहरु देशमा मात्रै होइन विदेशमा पनि छबि कमाउन सक्थे ।”

ADVERTISEMENT

बडिगाडका नविन कुमार घर्तीले गाउँ घरमा खेल धेरै खेल्ने गरे पनि मैदानकै अभाव भोग्नु परेको सुनाउनु भयो । घर्तीले समथर खेल मैदान नहुँदा काठ, ढुङ्गा मडामाथि खेल खेल्नु पर्ने स्थिती रहेको गुनासो पोख्नु भयो । ग्रामीण क्षेत्रहरु निकै भिराला र अप्ठ्यारा हुँदा खेल खेल्नसमेत जोखिम रहेको घर्तीको भनाई छ ।

उहाँ भन्नुहुन्छ– “स्कूलमा हो सबैभन्दा बढी खेल खेल्ने, दिउँसो पढाई हुन्छ, विहान बेलुकी पर्याप्त समय हुँदैन, गाउँमा खेल्ने त उही मेला महोत्सवमा हुने प्रतियोगिताहरुमै हो, अरु समय त ठाउँ पनि हुँदैन, समय पनि त्यस्तै हुन्छ ।”
जिल्लाको बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर, वडा नम्बर ९ को भकुण्डे, काठेखोला गाउँपालिका–७ रेश र तमानखोला गाउँपालिका–३ तमान गाउँमा बोहक अन्य ठाउँमा पर्याप्त खेल मैदान छैनन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले सरकारले जिल्लाका खेलकुद सम्बद्ध संघ संस्थासँग सहकार्य नगरी बजेट विनियोजन गर्दा सही ठाउँमा प्रयोग हुन नसकेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ– “बजेट कहाँ छ ?, कहाँबाट कति आउँछ, यस बारेमा खेलकुद विकास समितिलाई थाहानै हुँदैन, खेलाडीहरुको धेरै गुनासो खेल मैदानकै भएको हुँदा पछिल्लो समय हामीहरुले यसको बारेमा जानकारी लिन थालेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज