पिएनजीसँग खेल्दै नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

काठमाडौं । आइसिसी विश्वकप लिग टूको अन्तिम विदेशी त्रिकोणात्मक सिरिजको सुरुवात नेपालले युएईमा सोमबार पिएनजीसँग खेलेर गर्दैछ । त्यसका लागि नेपाली क्रिकेट टोली यसअघि नै युएई प्रस्थान गरिसकेको छ । सोमबार पिएनजीसँग खेलेर सिरिजको उद्घाटन गर्ने नेपालले १८ गते युएई, १९ गते पिएनजी र फागुन २२ गते युएईसँग दोस्रो खेल खेल्दैछ । गत सातामात्र नेपालले स्कटल्याण्ड र नामिबिया घरेलु मैदानमै भएका चारवटै खेल जितेको थियो । युएई भ्रमणपछि नेपालले अन्तिम चारवटा खेलहरू घरेलु मैदानमा खेल्दै शृंखलाको अन्त्य गर्नेछ ।

विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपालले बाँकी आठमध्ये सात खेल जित्नैपर्ने बाध्यता छ । सोही कारण नेपालका लागि युएई भ्रमणका चार खेल निकै महŒवपूर्ण छन् । तर, युएई र पिएनजीको चुनौतीबाट पार पाउनु नेपालका लागि उत्तिकै कठिन पनि छ ।

नेपालको युएईमा प्रदर्शन औसत छ । नेपालले युएईमा सात एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा चार खेलमात्र जितेको छ । नेपालले युएईमा घरेलु राष्ट्रसँग पाँच तथा पिएनजीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छ । पिएनजीसँग शतप्रतिशत नतिजा आफ्नो पक्षमा पारेको नेपालले युएईसँग भने दुई खेलमात्रै जितेको छ ।

अंकतालिका अनुसार स्कटल्याण्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगिसकेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ । अब नेपाल, नामिबिया र युएईमध्ये एक टोली शीर्ष तीनमा रहँदै विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौँ स्थानमा छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौँ स्थानमा छ । नामिबियाले ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकमा अन्त्य गरेको छ ।
नेपालले अब ओडिआई मान्यता जोगाउन ८ मध्ये ५ खेल जित्नुपर्ने हुन्छ । नेपालले ५ खेल जित्दा ३६ अंक हुनेछ । शीर्ष पाँचमा पर्न ३६ अंक पर्याप्त हुनेछ । पाँच खेलभन्दा कम जितेको खण्डमा भने प्लेअफमा ओडिआई मान्यतामा निर्भर रहनेछ ।

लिग २ का पुछारका चार टोलीले क्वालिफायर प्लेअफ खेल्नेछन् । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली र क्यानडा र जर्सी रहनेछन् । क्वालिफायर प्लेअफमा शीर्ष चारमा रहने दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछ । लिग २ मा शीर्ष पाँच र क्वालिफायर प्लेअफमा शीर्ष चारमा पर्न नसके चार वर्षका लागि ओडिआई मान्यता गुम्नेछ ।

ADVERTISEMENT

युएई भ्रमणमा गएको नेपाली टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने भने हुनुहुन्न । टोलीबाट सन्दीपसहित दुई खेलाडी बाहिरिँदा तीन खेलाडी भित्रिएका छन् । सन्दीपसँगै स्पिनर सूर्य तामाङ टोलीबाट बाहिरिनुभएको हो । अदालतले सन्दीपलाई बलात्कार आरोपका कारण विदेश जान रोक लगाएको छ ।

मुख्य प्रशिक्षक मोन्टी देसाईले लिग स्पिनर मौसम (श्याम) ढकाल र मध्यम गतिका बलर प्रतिश जिसीलाई पहिलोपल्ट टोलीमा राख्नुभएको छ । यस्तै, आरिफ शेख टोलीमा फर्किनुभएको छ । यसअघि ज्वरो आएका कारण उहाँ टोलीमा हुनुहुन्नथ्यो ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, मौसम ढकाल (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जिसी रहनुभएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल युएईमा हुने हरेक खेल फाइनल सरह हुने बताउनुहुन्छ ।

‘हामी सबैलाई थाहा भएको कुरा हो । हाम्रा लागि सबै खेल फाइनल हुन् । हामीले त्यसै अनुसार तयारी पनि गरेका छौँ । युएईको कन्डिसनमा भर पर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले मानसिकरूपमा तयारी पनि गरेका छौँ । युएईमा तीव्रगतिका बलरसँग खेल्न गाह्रो हुन्छ । त्यहीअनुसार हामीले योजनाहरू बनाएका छौँ ।’

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा परेको पुनरावेदनको आइतबार भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो । सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले सुनुवाइलाई सोमबार निरन्तरता दिनेछ । आइतबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा रहेको हो ।

लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन तथा लामिछानेले विदेश जान पाउनुपर्ने भन्दै दिएको निवेदनमाथि सर्वोच्च अदालतको सुनुवाइ बन्द इजलासमा भएको थियो । उक्त शर्त खारेज गर्नुपर्ने जिकिरसहित आइसिसी क्रिकेट विश्वकप लिग-२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपले सर्वोच्चमा निवेदन दायर गर्नुभएको थियो । यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?