बिना दाइजो बिहे गर्ने मधेशका तीन जोडी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

-प्रणय साह

वीरगञ्ज । मधेश प्रदेशमा दाइजोको विरोध गर्दै तीन जोडीले आदर्श विवाह गरेका छन्। मधेश प्रदेशमा फैलिएको दाइजोको बिरोध गर्दै तीनै जोडीले आदर्श बिहे गरेका हुन ।

फागुन ५ गते बाराको फेटा गापा १ भलुही निवासी सिकेन्द्र साह र पचरौता नपा ८ बाजोपटीका सिमा साहले विवाह गर्नुभएको छ । सिकेन्द्र साह अहिले रौतहटको चपुर स्थित सिद्धार्थ बैंकमा सहायक ऋण प्रमुख हुनुहुन्छ। उहाँले गाउँले तथा आफन्तले दाइजोका कारण छोरीहरूको बालविवाह गरिदिएको र बढी पढेमा बढी दाइजो दिन पर्ने भएकाले पढाउन नै नपठाउने देखेर नै बिना दाइजो बिहे गर्नु भएको हो। उहाँकी बेहुली सिमा साह अहिले वीरगंजस्थित ठाकुरराम बहुमुखी क्यापसमा स्नातक पढ्दै हुनुहुन्छ।

सिकेन्द्र साहले भन्नुभयो, ‘स्कुलको पढाई सकिए लगतै मेरो विवाहको कुरा सुरु भएपछि देखि नै मैले आफ्ना अभिभावकलाई म दाइजो विना विवाह गर्ने बताएको थिएँ। तर अभिभावकलाई यो कुरा बुझाउन मलाई करिब ६÷७ वर्षनै लाग्यो। अनि मात्र मैले विवाह गरेको हुँ।’

सिकेन्द्र साहले भन्नुभयो, ‘मधेश प्रदेशमा दाइजोका कारण छोरीहरूको उमेर नपुग्दै विवाह हुन्छ। पढाई बीचमै छुटाइन्छ। दाइजोको रोग नै समाप्त पारे बालविवाह पनि रोकिन्छ र छोरीहरूले पढन पनि पाउँछन्। त्यसैको लागि मैले पहिलो पाइला चालेको हुँ।’

यस्तै फागुन १० गते रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ मोतियाहीका यूवा डाक्टर बिजय साहले विना दाइजो विवाह गर्नुभयो। तराईमा दाइजो प्रथा व्याप्त छ । यहाँ विना दाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो बेला दाइजो विना विवाह गर्नु भनेको सिंगो समाजलाई नै चुनौती दिनु हो । डा. विजयले विना दाइजो आदर्श विवाह गरेर दाइजो प्रथालाई चुनौती दिनुभएको हो ।

विजय एमबिबिएस सकेर अहिले मनहरी अस्पतालमा मेडिकल अफिसर भएर काम गरिरहनुभएको छ । नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा नाम निकाली विजयले सन् २०१५ सालमा एमबिबिएस पास गर्नुभएको हो । उहाँ रौतहटका किसान नारायण साहका छोरा हुनुहुन्छ। उहाँ मध्यमवर्गिय परिवारमा हुर्किनु भएको हो। घरमा विवाहको कुरा चलेपछि विना दाइजो आदर्श विवाह गर्ने सहमतिमा मात्र डा. विजय विवाह गर्न राजी हुनुभएको थियो। डा. विजयले बाराको महागढिमाई नगरपालिका १ बाराका ओमप्रकाश साह कानुकी छोरी प्रियंका गुप्तासँग आदर्श विवाह गर्नुभएको हो। प्रियंका पनि ल्याब टेक्निसियन अर्थात स्वास्थ्य क्षेत्रमा नै काम गर्नुहुन्छ।

‘छोराको चाहाना अनुसार नै हामीले आदर्श विवाह गराएका हौं । हामीलाई लाउन खान नपुग्दो छैन ।’ डा. बिजयका बुवा नारायण भन्नुहुन्छ, ‘दाइजो प्रथाले हाम्रो समाजलाई कहिल्यै हित गर्दैन। त्यसैले पूरै समाज यसको विरुद्ध लाग्नै पर्छ ।’

ADVERTISEMENT

मधेसमा विकृतिको रुपमा फैलिएका दाइजो प्रथालाई निरुत्साहित गर्न दाइजो नलिई बिहे गरेको कानु पत्रकार संघ बाराका अध्यक्ष पत्रकार अजय साहले बताउनुभयो । यो आदर्श विवाहबाट आफूहरूले समाजलाई दाइजो प्रथा विरुद्ध एक जुट हुन शिक्षा दिन खोजेको बताउनुहुन्छ । छोरीलाई दाइजो हैन उचित शिक्षा, दिक्षा दिनुपर्छ भन्दै उहाँले दाइजो प्रथाले कसैको हित नहुने बताउनुभयो ।

डा. विजयले बिना दाइजो आदर्श बिवाह गरेपछि उदाहरणीय तथा सराहनीय कार्य गरेको भन्दै चौतर्फी प्रशंसा भईरहेको छ । बिवाह समारोहमै बाल विवाह एबम् दाइजो उन्मूलन अभियानको तर्फ बाट सम्मान दिइएको छ। ।

‘दाइजो प्रथा एक कुप्रथा हो, कसैले स्वच्छाले दिने गर्दछ त कतिले कर कापले नै, कारण कतिपय महिलाले दाइजोकै कारण मृत्यु समेत भोग्नु परेको छ ।’ प्रमाण पत्र हस्तान्तरण गर्दै दाइजो उन्मूलन अभियानका बागमती प्रदेश संयोजक तपेश्वर यादवले मधेशमा बिकृतीको रुपमा रहेको दाइजो कुप्रथा चिर्दै आदर्श बिवाह रोजेपछि आफु खुसीले गदगद भएको वताउनुभयो । उहाँले दाइजो लिने र दिनेलाई आवश्यक कानुनी कार्वाही गर्न जरुरी भएको वताउनुभयो ।

आफूले समाजमा परिवर्तनको निम्ति बिना दाइजोको बिहे गरेको डा. विजयले बताउनुभयो । आफ्नो बिहे अरुको पनि प्रेरणाको स्रोत बनोस भन्ने आफ्नो चाहाना रहेको उहाँले वताउनुभयो ।

दाइजो नल्याउनेलाई विभिन्न प्रकारको यातना दिने समुदायमा बिना दाइजो विहे गर्ने र समाजको कुरुती अन्त गर्न सबै निकाय लाग्नु पर्ने बिहेमा सहभागी सामज सेबी प्रकाश थारुले बताउनुभयो ।

यस्तै माघ १६ गते रौतहटको माधवनारायण नगरपालिका वडा नं. २ खेसरहियाका युवा अरुणकुमार यादव र पर्साको कालिका माई गाउँपालिका वडा नं. ५ विरंची वर्वाका उषाकुमारीले पनि दाइजो बिना नै विवाह गर्नु भएको छ।

 

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज