बागलुङ-पर्वत जोड्ने पुलको काम सुरु भएन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । बागलुङमा ठेकेदार कम्पनीको लापरबाहीका कारण धेरै साना तथा ठूला योजना समयमै सम्पन्न हुन सकेका छैनन् । योजना समयमै सम्पन्न नहुँदा स्थानीय मर्कामा पर्दै आएका छन् । जिल्लाको जैमिनी नगरपालिका-६ अर्जेवा, सुम्सा र पर्वतको फलेबास जोड्ने मोटरेबल पुल निर्माणका लागि सम्झौता भएको दुई वर्ष पूरा सक्यो । तर अहिलेसम्म काम भएको छैन ।

३० महिनामा पुल निर्माण गरि सक्ने गरी ठेक्का पाएको क्याराभान जेभीले समय अवधि सकिन लाग्दा पनि काम सुरु गर्न सकेको छैन । पुल निर्माणका लागि २०७७ कात्तिक महिनामा सम्झौता गरिएको थियो । ११ मिटर चौडाइ र ११० मिटर लम्बाइ रहेको पुल निर्माणको लागि १४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आगामी वैशाखमा सम्झौता अवधि सकिँदै छ ।

काम सुरु गर्नै ढिला गर्ने ठेकेदारले पुल बनाउँछ भन्नेमा स्थानीय कत्ति पनि विश्वस्त छैनन् । पुल निर्माण सक्ने अवधिमा कम्पनीले बनाएको पुलको डिजाइन मात्र बल्ल स्वीकृति भएको छ । समयमै पुल निर्माण भएमा बागलुङको दक्षिण जैमिनी र बरेङका नागरिकलाई गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने मोटरबाटोको दूरी छोटो हुनेछ । काममा ढिला सुस्त गर्ने ठेकेदारलाई कारबाही हुनुपर्ने स्थानीयको माग छ । स्थानीय मिलन क्षेत्री समयमै पुल नबन्दा स्थानीयले सास्ती खेप्नु परेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘यो पुल दक्षिण बागलुङको लाइफ लाइनका रूपमा छ, यहाँ पुल बन्यो भने पर्वतको फलेबास-कार्कीनेटा हुँदै पोखरा पुग्ने सडकको दूरी छोटिनेछ, पुल बन्यो र सडक राम्रो भयो भने अर्जेवा, जैदी र छिस्तीलगायत बागलुङको दक्षिणबाट करिब डेढ घण्टामा पोखरा पुग्न सक्नेछौँ, अहिले घण्टौँ लाग्छ ।’

ADVERTISEMENT

पुल निर्माण समयमै भएमा पोखरा पुग्नको लागि जैमिनी तथा बरेङ क्षेत्रका स्थानीयलाई बागलुङ बजार, कुश्मा लगायतका ठाउँ पुग्नुपर्ने छैन । यसले समय र यातायात खर्चसमेत घटाउनेछ । पुल निर्माणमा ढिलाइ हुँदा पोखरा काठमाडौं जाने स्थानीयले घण्टौँको फेरो पर्ने सडक प्रयोग गर्न बाध्य भएको क्षेत्रीको भनाइ छ ।
जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले काममा ढिलाइ भएकोले पालिकाको पहलमा पूर्वाधार विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा र ठेकेदार कम्पनीसँग छलफल गरी कामलाई तीव्रता दिन निर्देशन दिएको बताउनुभयो । पुलको काम अघि बढाउन आवश्यक गिटी बालुवाको लागि क्रसर राख्न दिनेसमेत सहमति भएको उपप्रमुख शर्मा बताउनुहुन्छ । ‘दुई वर्ष बढी भइसक्यो पुल निर्माणका लागि सम्झौता भएको तर अहिलेसम्म पुलको काम सुरु हुन सकेको छैन, पुल निर्माणमा ढिलाइ भएपछि ठेकेदार कम्पनीलाई बोलाएर काम समयमै गराउन थालेका छौँ,’ उपप्रमुख शर्माले भन्नुभयो, ‘सम्झौता मिति सकिन धेरै लामो समय छैन तर काम नै सुरु नभएकोले उनीहरूलाई डाकेर छलफल गरेका छौँ, काम गर्छौं भन्ने जवाफ पाएका छौँ ।’

काममा अत्यन्त ढिलाइ भएको पूर्वाधार विकास निर्देशनालय गण्डकी प्रदेश कास्की पोखराका निमित्त निर्देशक राम पराजुलीले बताउनुभयो । निर्माण कम्पनी क्याराभान जेभीले पुलको डिजाईन गर्ने र पुल पनि उसैले निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । अबको दुई महिनामा पुल बन्न सक्ने संभावना न्यून रहेको उहाँको भनाइ छ ।

निदेर्शक पराजुली भन्नुहुन्छ, ‘सम्झौता भएको धेरै समय भयो, यति बेला करिब-करिब काम सकिसक्नु पर्ने हो, सम्झौता भएअनुसार काम भएको छैन, सम्झौताअनुसार अब काम गर्ने समय धेरै छैन, काममा ढिलाइ भएकै हो, यही अवधिमा काम सकिने अवस्था छैन ।’

पुल निर्माणमा ढिलाइ भएपछि पूर्वाधार विकास निर्देशनालय, जैमिनी नगरपालिका र ठेकेदार कम्पनीबीच छलफल गरिएको थियो । निर्माण कम्पनीले काम सुरु नगरे पनि पुलको सामान ओसारपसारका लागि सडक खुलाउन थालेको स्थानीयको भनाइ छ । जिल्लामा योसँगै आधा दर्जन बढी पुल अलपत्र अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?