काठमाडौं । नोदनाथ त्रितालद्वारा लिखित पुस्तक ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’को विमोचन गरिएको छ । त्रिवि कानुन संकायका डिन प्राध्यापक डा.कृष्णप्रसाद बस्याल, नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा.डीएन पराजुली र राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले संयुक्तरूपमा पुस्तक विमोचन गर्नुभएको हो ।
कार्यक्रममा राससका अध्यक्ष झाले सूचनाको हकको अभियानमा यो पुस्तक महत्वपूर्ण रहेको बताउनुभयो । कानुन संकायका डिन बस्यालले सूचनाको हकको क्षेत्रमा क्रियाशील संघसंस्थालाई पृष्ठपोषण दिन पुस्तक उपयोगी रहेको जनाउनुभयो । लेखक त्रितालले कानुनी अनुसन्धानबाट निस्किएको निष्कर्षलाई सम्बन्धित निकायमा पृष्ठपोषण प्रदान गर्दै भविष्यमा कानुनका विद्यार्थीले सन्दर्भ-स्रोतका रूपमा पुस्तक उपयोग गर्न सक्ने बताउनुभयो ।






