एकै महिनामा ४२ देशका पर्यटकको आगमन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

मनाङ । हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवागमन भइरहेको छ । हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन ।

सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्क रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।

उहाँकाअनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्याङ्क छ । “विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुन्छ तर यसवर्ष हिँउ परेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो, हिउँ नपरे पनि झन विदेशी पर्यटक बढेका छन्”, प्रमुख गौतमले भन्नुभयो ।

नयाँ वर्षको योजना बनाएर कोरियाका पर्यटक मनाङ भ्रमणमा आएका थिए । उनीहरूले यहाँको भन्दा बढी चिसोमा बसिरहेका हुनाले हिउँदमा त्यहाँका पर्यटक बढी आउने गरेको उहाँले बताउनुभयो । हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताललगायत विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएका थिए ।

त्यस्तै फ्रान्सका ३६, अष्ट्रेलियाका ३४, बेलायतका २१, जर्मनका २१, अमेरिकाका १५, बेल्जियमका १३, भारतका १२ र नेदरल्याण्ड्सका १० पर्यटक भित्रिएका र अन्य देशबाट भने अलिकम पर्यटक भित्रिएको प्रमुख गौतमको भनाइ थियो ।

ADVERTISEMENT

“चिसोका कारण प्रायजसो समूहमा आएका विदेशी पर्यटकलाई मात्र तिलिचो ताल र थोराङ्ला भएर जान अनुमति दिएका छौँ । हिउँ नपर्दा सुख्खापन बढेको छ । यसले कृषि बालीमा समेत समस्या हुने देखिएको छ”, उहाँले भन्नुभयो, “यसवर्ष मनाङमा हिमपात हुने स्थिति देखिएको छैन ।”

“हिमपात भएमा हिउँ पहिरो आउन सक्ने भएकाले पूर्णरूपमा यात्रा रोकिन्छ तर यसपटक हिमपात नभएकाले पर्यटकलाई आवश्यक सतर्कता अपनाएर जान दिइएको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिनुभयो ।

यात्राको जोखिम हेरेर पर्यटकले सम्बन्धित निकायसँग सहकार्य र समन्वयमा यात्रा गर्न सुझावसहित पदयात्रामा जान दिइएको उहाँको भनाइ थियो ।

यस वर्ष हिमपात नहुँदा मनाङमा हिउँ खेल्ने आन्तरिक पर्यटक भने भित्रिन सकेका छैनन् । हिमपात भएको अवस्थामा भने आन्तरिक पर्यटक हिउँ खेल्न र हिउँ छुनकै लागि मनाङ आउने गर्दथे ।

पर्यटकले हिमाली तथा पहाडी दृश्य, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सौन्दर्य हेर्नाका साथै मनाङबाट थोराङ्ला हुँदै मुस्ताङ वा पोखरा जान अन्नपूर्ण पदमार्ग प्रयोग गर्छन् । उक्त पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौतारामा रहेको छ । पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज