काठमाडौं । यातायात मजदुरहरूले गरेको हड्तालका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाको यातायात सेवा प्रभावित भएको छ । मजदुर संघको हडतालका कारण उपत्यकाका सार्वजनिक सवारीसाधन चलाइएको छैन ।

यस्तै यातायात मजदुरको आन्दोलनका कारण राजधानीका कतिपय विद्यालयहरू बन्द भएका छन् । मजदुरहरूले उपत्यकामा सवारीसाधन ठप्प बनाएसँगै कतिपय विद्यालयले विद्यालय बन्दको नोटिस पठाएका हुन् ।

विद्यार्थीहरूलाई सवारीसाधनबाट ओसार्न सम्भव नहुने भएपछि विद्यालय नै बन्द गर्ने निर्णय गरेको उनीहरूले बताएका छन् ।

मंगलबार बिहानै कैयन विद्यालय सञ्चालकहरुले एसएमएसमार्फत विद्यालय बन्द हुने भनेर अभिभावकलाई एसएमएस पठाएका हुन् ।

सोमबार माछापोखरी क्षेत्रमा दिनभर तनाव भएको थियो । विभिन्न १० बुँदे माग राख्दै यातायात व्यवसायी आन्दोलित बनेका हुन् ।

यसैबीच सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई वार्तामा बोलाएको छ ।







