हाम्रा श्रीकृष्ण कता ? निर्मल निवासमा वा अन्त कतै

Read Time = 17 mins

✍️ मणि शर्मा

रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत १२ भाइहरूमाथि लगाएको आरोपको चर्चा अहिलेसम्म सेलाएको छैन । उनीहरूको पोल खोलिदिएकोमा १२ भाइ रवि लामिछानेप्रति क्रोधले अग्नि शर्मा भएका दृश्यहरू पनि देखिएका छन् । सर्पले सर्पको खुट्टा देख्छ भने झैँ रविले पनि आफू संकटग्रस्त हुँदा १२ भाइको खुट्टा देखेका हुन् । रवि लामिछानेले जुन कुरा पत्रकार सम्मेलन गरेर आक्रोश पोखे, यही कुरा राजा ज्ञानेन्द्रले आपात्कालमा प्रेसमाथि सेन्सरसिप लगाएर देखाइदिएका थिए ।

राजालाई थाहा थियो परचालित यी कर्पोरेट मिडिया हाउसले मुलुकलाई स्थिर तथा शान्त रहेको हेर्न चाहँदैनन् तर रवि लामिछाने कोबाट परिचालित छन् स्पष्टरूपमा अहिले बाहिर आएको छैन । उनी संघीयताबाहेक यही व्यवस्थालाई बलियो बनाउन उनको प्रादुर्भाव गराइएको हो, यो सत्य हो । उनी नेपालका खासै मिडिया हाउस र आन्तरिक तथा बाहृय शक्तिको चपेटामा परेका हुन् । नेपालमा अपराधको विशिष्ट परिभाषा छ । कुनै अपराधी सत्ताको बागडोर सम्हाल्न पुग्छन् र कुनै अपराधी झ्यालखानाको पिँढीमा वा अन्य कारबाहीको दायरामा । साम्राज्यवादीहरूले मिडियामार्फत विभिन्न तरिकाले नेपालमाथि आक्रमण गरिरहेका छन् । उनीहरूले सर्वप्रथम कर्पोरेट मिडियाहरूमा लगानी गरेर आफ्नो प्रचार गराउने, कुसूचना प्रवाह गरेर मुलुकलाई अराजक बनाइरहने, देशद्रोह गर्न हौसला प्रदान गर्ने, सनातन धर्मावलम्बीको चाडबाडमा भाडाका लेखकहरूबाट सनातन धर्मविरोधी प्रचार गरेर सनातन धर्ममाथि आक्रमण गरिरहने कार्य गरिरहेका छन् । मादक पदार्थको विज्ञापन गर्न कानुनीरूपमा पाँइदैन तर यी मिडियाहरूलाई राज्यबाट छुट दिलाएका छन्, अश्लीलतालाई पस्केर समाज भाँडिरहेका छन् ।

सर्वसाधारणको सम्पत्ति स्थानीय माफियामार्फत खिचेर त्यसलाई विश्व माफियाको पुँजीसँग विलय गराएर संसारका सबै सम्पत्ति विश्वका केही मुट्ठीभर माफियाहरूको हातमा केन्द्रित गर्ने कर्पोरेट हाउसहरूको रणनीति हो । जसको सिकार नेपाली जनता भइरहेका छन् ।

यसले अपराधलाई लोकतन्त्र, अपराधीलाई नायक, घूसतन्त्रलाई न्यायतन्त्र, युवाहरूलाई विदेश पैठारी गर्नेलाई देशको अर्थतन्त्र आदि इत्यादि भन्दै जन तथा राष्ट्रविरोधी यो व्यवस्थाको संरक्षण गरिरहेका छन् । कल्याण श्रेष्ठले जुन दिनदेखि न्यायालयमा गैससहरू भित्र्याए त्यस दिनदेखि न्यायाधीशहरू गैससको कर्मचारीमा परिणत भएर सम्पूर्ण न्याय प्रणालीलाई ध्वस्त बनाए । त्यसमाथि न्यायाधीशको मापदण्ड उसको योग्यताको ठाउँमा राजनीतिक दलका कार्यकर्ताको भर्तीकेन्द्र बनाएर यसलाई दलको भ्रातृ संगठनमा परिणत गराएपछि नेपालबाट न्याय समाप्त भइसकेको अवस्था छ ।

आज मानिसहरू बैंकको चर्को ब्याज तथा मानसिक यातनाका कारण आत्महत्या गर्न बाध्य भइरहेका छन् । प्रायःजसो बैंकहरूमा मारवाडी समुदायको र केही उच्चस्तरीय नेताहरूको लगानी छ । उनीहरूको उद्देश्य देशको आर्थिक विकासभन्दा पनि चर्को ब्याज असुलेर जनतालाई सडकमा उभ्याउनु हो । सन् २०२१ मा स्विट्जरल्याण्डमा कर्पोरेट हाउसहरूको साझेदारी अर्थतन्त्र, विश्वका माफियाहरूले पारित गरेको एउटा रणनीति हो यो । जसअनुसार सर्वसाधारणको सम्पत्ति स्थानीय माफियामार्फत खिचेर त्यसलाई विश्व माफियाको पुँजीसँग विलय गराएर संसारका सबै सम्पत्ति विश्वका केही मुट्ठीभर माफियाहरूको हातमा केन्द्रित गर्ने रणनीति हो । जसको सिकार नेपाली जनता भइरहेका छन् ।

रवि लामिछाने मुलुकविरुद्धको षड्यन्त्रहरूको बारेमा बोल्दैनन् न त धर्मान्तरणको विरुद्ध बोल्छन् । उनलाई केवल भ्रष्टाचारविरुद्धमा बोलेर जनताको मन जितेर सत्तामा आरुढ गराउन चाहेका छन् उनीमाथि लगानी गर्नेहरूले । जनता रविको स्टन्टमा मोहित छन् । मैले केही महिनाअगाडि स्थानीयवासीबाट सुनेको, बर्दियाको एउटा गाउँबाट ख्रिष्टानधर्मी बीसजना थारूहरूलाई इण्डियाको बैंगलुर लगेर पन्ध्र दिन राखी दीक्षा दिई पठाइएको छ । फर्कने बेलामा उनीहरूलाई जनही पच्चीस हजार भारुका दरले दिइएको थियो । बर्दिया आएपछि उनीहरूले आफ्नो खुट्टाको जल खुवाएर थारू समुदायलाई ख्रिष्टान बनाइरहेका छन् । जबकि थारू सनातन धर्मावलम्बी प्रकृति पूजक हुन् । आज प्रत्येक पालिकाको एउटै वार्डमा कम्तीमा एक दर्जन जति चर्चहरू छन् । पास्टरहरूको जीवनशैली फेरिएको छ । स्थानीय निकायले चर्चमा आर्थिक सहयोग दिइरहेका छन् । प्रशासन मौन छ, शायद माथिको आदेश छ । मिडियाले यस्ता खबर छाप्दैनन् ।

ADVERTISEMENT

सेन्ट जेबियर्स जसको नाममा काठमाडौंमा विद्यालय तथा महाविद्यालय छ, उनी उक्त धर्म प्रचारक भएर पर्चुगलका राजा जोन तृतीय तथा पोपको सहायताले ६ मई १५४२ मा गोवा पुगेका थिए । धर्म प्रचारमा आएका उनी अन्ततः गोवालाई पर्चुगलको उपनिवेश बनाएर गए । उनले धर्म प्रचारको नाममा धर्मान्तरण गर्न नखोज्ने हजारौं मानिसको हत्या गरेका थिए । गोवा सोधपुछ भन्ने कानुन गोवामा लागू गरिएको थियो जुन सन् १५६० देखि १८२० सम्म २६० वर्षसम्म लागू थियो । जुन कानुनअनुसार गोवामा संस्कृत, मराठी, कोंकणी भाषा, सहित्य तथा सनातन धर्म ग्रन्थहरूको दहन गरिएको थियो । सनातन धर्मवालम्बी परिवारमा यदि कसैको माता वा पिताको मृत्यु भएपछि उनीहरूका सन्तानलाई जबरदस्ती चर्चमा लगेर ख्रिस्टान बनाइन्थ्यो ।

गाउँका सबै पदाधिकारी अनिवार्यरूपमा ख्रिस्टान हुनुपर्ने । गैरख्रिस्टानलाई त्यहाँ कुनै स्थान थिएन । ग्रामसभाहरूमा सनातन धर्मावलम्बीहरूलाई निर्णय दिने अधिकार थिएन । ख्रिष्टानहरूले जे निर्णय गरे त्यही मान्नु पथ्र्यो । अदालतमा सनातन धर्मावलम्बीलाई साक्षी बस्न अधिकार थिएन । उनीहरूले दिएको साक्षी प्रमाण अवैध हुन्थ्यो । जहाँ जहाँ सनातन धर्मावलम्बीका मन्दिरहरू थिए तिनीहरूलाई भत्काएर चर्च बनाउथे । सनातन धर्मावलम्बीलाई आफ्नो घरमा देवी-देउताहरूको मूर्ति राख्ने अधिकार थिएन, यदि कसैले राखेको भेटिए चर्चले उसको सारा सम्पत्ति कब्जा गथ्र्यो ।

सनातन धर्मावलम्बीहरूले आफ्ना चाडबाड मनाउँन पाउँदैनथे न त पूजाआजा गर्न नै पाउँथे । गोवामा कसैले आफ्नो मातृभाषा बोल्न पाउँदैनथे, सबैले पर्चुगिज बोल्नुपर्ने बाध्यता थियो । सेन्ट जेभियरले सनातन धर्मावलम्बीलाई संबोधित गर्दै भनेका थिए, ‘हिन्दू एउटा जाति हो, जो अशुद्ध छन् । उनीहरू काला र नराम्रा हुन्छन् । हिन्दूहरूले जुन मूर्तिहरूलाई पूज्छन् त्यो शैतान हो । यी मूर्तिहरू तेल र फोहोरी हात जस्ता हुन् ।’ तर, हाम्रो दुर्भाग्य यिनै जेभियरको नाममा राजधानीको मध्यभागमा विद्यालय तथा महाविद्यालय छन् र हामी हाम्रा सन्तानलाई त्यहाँ पढाउँदा गौरवान्वित महसुस गर्छौं । पर्चुगिजहरूले भनेअनुसार सनातन धर्मावलम्बीले ख्रिष्टान धर्म अवलम्बन नगरे उनीहरूमाथि विभिन्न तरिकाको अत्याचार गरिन्थ्यो । उनीहरूलाई जिउँँदै जलाइन्थ्यो, छाला काढेर घाउ बनाइन्थ्यो, चक्कु रोप्नु, चाबुकले पिट्नु, आँखा झिकिदिनु, जिब्रो काटिदिनु, हात खुट्टा भाँचिदिनु आदि निरन्तर भइराख्थ्यो ।

घरमा ईश्वरको मूर्ति राखे दश वर्षको कैद थियो । घरमा तुलसीको बिरुवा रोप्नु अपराध थियो, धोती सारी लगाउनु अपराध थियो । यस्ता कसुरमा जेलको सजाय हुन्थ्यो । पादरी भिसारी एन्टिनियो डी नोराहाले गोवा सोधपुछ कानुनअन्तर्गत एउटा नयाँ कानुन ल्याए । जसअनुसार मन्दिरहरू बन्द हुनुपर्ने, नयाँ मन्दिर बनाउन नपाइने, पुराना मन्दिरलाई मर्मत गर्न नपाउने, सनातन धर्मावलम्बीका मन्दिरहरूको सुन र पैसा चर्चको अधीन हुने गरियो । यिनै पादरीले कानुन कुनै पनि सनातन धर्मावलम्बीले विवाह गर्न नपाउने, विवाह गर्नका लागि ख्रिष्टान हुनुपर्ने, धर्म परिवर्तन गर्न नचाहनेहरू अविवाहित बस्नुपर्ने कानुन बनाएका थिए । जुन हिन्दूहरूले ख्रिष्टान धर्म अपनाउन चाहेनन् तिनीहरूका घरका मूर्ति लुकाएर गोवा छोडेर जान बाध्य भए ।

मुलुकलाई पराधीन बनाउन बाहिरका आउनु पर्दैन, यहीँकाहरू काफी छन् । मेवाडका राजा राणा साँगालाई उनकै मन्त्रीले भोजनमा विष हालेर दिएर नमारेको भए बाबरले इण्डियामा सवा तीन सय वर्षभन्दा बढी समयसम्मका लागि मुगल साम्राज्य स्थापना गर्न सक्ने थिएनन् ।

मुलुकलाई पराधीन बनाउन बाहिरका आउनु पर्दैन, यहीँकाहरू काफी छन् । मेवाडका राजा–राणा सांगालाई उनकै मन्त्रीले भोजनमा विष हालेर दिएर नमारेको भए बाबरले इण्डियामा सवा तीन सय वर्षभन्दा बढी समयसम्मका लागि मुगल साम्राज्य स्थापना गर्न सक्ने थिएनन् । जयचन्दले पृथ्वीराज चौहानको विरुद्ध मुस्लिम शासक मोहम्मद घोरीलाई इण्डियामा ननिम्त्याएको भए सन् ११७० जुनदेखि इण्डियामा मुसलमान शासनको बीजारोपण हुने थिएन । आफ्नै सेनापति मिरजाफर रबर्ट क्लाइभसँग मिलेर आफ्नै नवाब सिराजुद्दौलाविरुद्ध युद्ध नगरेको भए भारतमा अंग्रेज शासन आउने थिएन । आफू नवाब हुने प्रलोभनमा उनले आफ्नै नवाबलाई धोखा दिए । रावणको नाभीको रहस्य रामलाई विभीषणले नभनेको भए रावणको वध हुन सक्दैन्थ्यो । रावणको वधको जग राख्ने नै उनकै साक्ख्यै भाइ विभीषण थिए । हनुमानजी लंका प्रवेश गरेपछि रावणका सेनाले समातेर उनी समक्ष उपस्थित गराएका थिए । कसैको मुलुकमा प्रवेश गर्न अनुमति लिनुपर्छ । तर, हनुमानले अनुमति नलिएकाले रावणले उनलाई सजाय दिन खोज्दा विभिषणले दूतलाई मार्नु हुँदैन भनेर रावणविरुद्धको षड्यन्त्र सुरु गरेका थिए । मुलुकलाई समाप्त पार्न विदेशी आउनु पर्दैन यहीँका जयचन्द, मिरजाफर, विभिषणहरू नै काफी छन् ।

युधिष्ठिरलाई यमराजको अवतार मानिन्छ । एउटा कठोर व्यक्ति र तर उनले महाभारतको युद्धमा आफ्नो स्वरूप देखाउने अवसर नै आएन । उनले महाभारतमा सञ्जयमार्फत धृतराष्ट्रलाई भनेका थिए-
अलमेव शमायास्मितथा युद्धाय सञ्जय ।
धर्मार्थयोरलंं चाहंं मृदवे दारुणाय च ।।
भावार्थ–म शान्ति राख्नमा समर्थ छु र युद्ध गर्न पनि, धर्म तथा अर्थको विषयमा पनि मलाई ज्ञान छ । म समय अनुसार कोमल पनि हुन सक्छु र कठोर पनि । यहाँ युधिष्ठिरले धृतराष्ट्रलाई सुनाएर दुर्योधनलाई सम्बोधन गरेका थिए । नेपाली जनता अहिलेसम्म युधिष्ठिर जस्तै सहनशील भएर बसेका छन् । अब युधिष्ठिरले जस्तै धृतराष्ट्रलाई चेतावनी दिने समय आइसकेको छ । सर्सरी हेर्दा दुर्गा प्रसाईले धर्मयुद्धको नेतृत्व लिएको देखिन्छ तर उनको बहुरूप छ । कहिले पुष्पकमलको प्यारो मान्छे, कहिले ओलीको मुटुको टुक्रा नाति त कहिले राजाको सान्निध्य प्राप्त व्यक्ति । दुर्गा प्रसाईंको कुन रूप सक्कली हो समयले बताउला । तैपनि नेपाली जनताले एकपटक उनको हैंसेमा होष्टे गर्दा फरक पर्दैन । समयले बताउला उनी युधिष्ठिर जस्तो युद्धको धम्की दिने पात्र तर युद्ध मैदानमा आफ्नो कौशल नदेखाउने पात्र हुन् वा युद्ध जति श्रीकृष्णले नै जिताइदिनुपर्ने पात्र । हाम्रा श्रीकृष्ण कता ? निर्मल निवासमा वा अन्त कतै ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *