खोटाङ । डिपिआर(डिटेल्स प्रोजेक्ट रिपोर्ट) निर्माणमा त्रुटि हुँदा रावाबेसी गाउँपालिकामा निर्माणाधिन १० शैयाको अस्पताल निर्माण काम अलपत्र बनेको छ । रावाबेसी गाउँपालिका–२ खार्पामा निर्माणाधिन अस्पताल भवनको डिपिआरलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत नगरेपछि निर्माणको काम गत जेठदेखि अलपत्र बनेको हो ।
डिपिआरमा शव गृह र अस्पतालको फोहोर व्यवस्थापन गर्ने क्षेत्र नभएकोे, एम्बुलेन्स घुमाइ पार्किङमा आउने पर्याप्त ठाउँ नभएको, ओपिडि अस्पतालको अगाडि हुनुपर्नेमा माथिल्लो तलामा राखिएको डिपिआरलाई परिवर्तन गर्न भनि मन्त्रालयले गाउँपालिकालाई परिपत्र गरेपछि भवन निर्माणको काम रोकिएको गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईले बताउनुभयाे ।
प्लाटफर्म इन्जिनियरिङ कन्सलटेन्सीले तयार गरेको डिपिआरमा त्रुटि भेटिएको हो । कन्सलटेन्सीले चार दिनमै डिपिआर बनाएको थियो । ताकी उक्त अस्पतालको डिपिआर बनाउन महिना दिन लाग्ने जानकारहरु बताउँछन् । कन्सलटेन्सीले अन्य ठाउँको डिपिआर कपी गर्दा अहिले समस्या आएको बुझिएको छ ।
निर्माणाधिन अस्पताललाई सुरुमा वडा नम्बर १ कुभिण्डेमा निर्माण गर्ने गरी डिपिआर तयार गरेको गाउँपालिकाले अन्तिममा वडा नम्बर २ खार्पामा लगेर शिलान्यास गरेको थियो । स्वास्थ्य चौकी खार्पालाई १० शैयाको अस्पतालमा स्तरोन्नती गर्नेगरी तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र तत्कालीन गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले २०७७ मङ्सिर १५ गते भवनको शिलान्यास गर्नुभएको थियो ।
त्रुटि भएको डिपिआर परिवर्तन गरी भवन निर्माणलाई पहल गर्न केही दिन अघि वर्तमान गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रुमख प्रशासकीय अधिकृत दिनेश राई, इन्जिनियर भट्टराई लगायतको टोली काठमाडौं गएको थियो । तर, अस्पताल निर्माण भइरहेको जग्गा सानो भएकाले ओपिडि माथिल्लै तलामा राखेर मन्त्रालयले मागे अनुसार डिपिआर परिवर्तन गरेर बुझाईएको छ । डिपिआर स्वीकृत भएर आउन केही समय लाग्ने इन्जिनियर भट्टराईको भनाइ छ ।
भ्याटसहित ७ करोड ५७ लाख ५१ हजार ६ सय २ रुपैयाँ ८७ पैसामा ३७ महिनामा काम सक्ने गरी २०७८ असार २१ गते महादेव खिम्ती अन्जान रुजन जेभिले भवन निर्माणको सम्झौता गरेको छ । भवन निर्माणको २० प्रतिशत काम भएपछि डिपिआरमा त्रुटि भेटिएको थियो ।
भवनको वाल निकाल्ने, फाउण्डेसन तयार गर्ने, रड राख्ने र आवश्यक गिटि, बालुवा तयार पार्ने काम भइसकेको निर्माण कम्पनीका प्रतिनिधि ध्रुर्ब श्रेष्ठले बताए । ९० लाख भुक्तानी पनि कम्पनीले लिईसकेको छ । तर गाउँपालिकाले निर्माण गरेको डिपिआर गलत भएको भन्दै मन्त्रालयले डिपिआर परिवर्तन गर्न लगाएपछि गत जेठदेखि भवन निर्माणको काम स्थगीत छ । नयाँ डिपिआर स्वीकृत भएर आउने बित्तिकै काम सुरु गर्ने कम्पनीका प्रतिनिधि श्रेष्ठको भनाइ छ ।
यदि सुरुमै डिपिआरमा त्रुटी नगरिएको भए अहिले भवन निर्माणले गति लिइरहने थियो । तर, तत्कालिन नेतृत्वबाट डिपिआरमा त्रुटी हुँदा अब कहिलेबाट भवन निर्माण अघि बढ्ने भन्ने यकिन हुन सकेको छैन् । प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारको नीति अनुसार खार्पामा १० शैयाको अस्पताल निर्माण गर्न लागिएको हो ।






