स्कुले जीवनमा आमा बनेपछि…

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । दाङको बंगलाचुली गाउँपालिका-८ पाँचपोखरी निवासी १७ वर्षीया पशुपति सोमई आमा भएको डेढ वर्ष भयो । माध्यमिक विद्यालय जवरकोटमा ९ कक्षा अध्ययन गर्ने क्रममा गाउँकै एकजना केटासँग मायाप्रेम बसेपछि पशुपतिले १४ वर्षको उमेरमा भागेर विवाह गर्नुभएको थियो । विवाह भएपछि नयाँ घरमा बुहारी बन्नुभएकी पशुपति घरको काममा लाग्न थल्नुभयो । तर, सँगैका साथीहरू पढ्दै गरेको रहर लाग्ने गरेको उहाँ बताउनुहुन्छ । साथीहरू पढ्दै छन्, उनीहरूले पढेको देख्दा रहर लाग्छ, उहाँले भन्नुभयो, मैले विवाह गरेपछि घरको काममा लागेँ पढ्न सकिनँ । त्यसैमा पछिल्लो समय बच्चासमेत भएकाले थप समस्या हुन पुग्यो । सुरुमा रहरमै विवाह गरे पनि अहिले पढेको भए हुन्थ्यो झैँ लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

बंगलाचुली-८ हासीपुरकै भूमा दर्लामी पनि १८ वर्षको उमेरमा आमा बन्नुभयो । तीन वर्षअघि भागी विवाह गर्नुभएकी भूमासँग अहिले आठ महिनाको बच्चा छ । कक्षा १० मा पढ्दै गर्दा भागेर विवाह गर्नुभएकी भूमाले पनि पढाइ छोड्नुपरेको बताउनुहुन्छ । विवाहपछि घरको काम गर्नुपर्ने भयो । स्कुल पढ्न जाने समय नै भएन’, हासीपुर स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन आउनुभएकी भूमाले भन्नुभयो, ‘अहिले विवाह गर्नुभन्दा पढाइलाई निरन्तरता दिएको भए हुन्थ्यो जस्तो लाग्छ तर पढाइभन्दा घरको काम गर्नुपर्ने बाध्यताले सबै छुटेको छ ।’
श्रीमान् कमाउनका लागि छिमेकी देश भारत गएपछि भूमालाई बच्चासँगै घर व्यवस्थापनको समेत जिम्मेवारी थपिएको छ । ‘श्रीमान् घरमा भएको भए काममा सघाउनुहुन्थ्यो तर उहाँ कमाउन इण्डिया जानुभएको छ’, उहाँले भन्नुभयो, त्यसैले घरमा खाना बनाउनेदेखि गाईबाख्रालाई चराउने लगायतका काम गर्नुपर्छ । त्यसैमा सासू ससुराको हेरचाह पनि गर्नुपर्ने हुन्छ । पशुपति र भूमा मात्रै होइन, पछिल्लो समय जिल्लाको विकट क्षेत्रका रूपमा रहेको बंगलाचुली गाउँपालिका-८ का अधिकांश किशोरीहरू १४ देखि १६ वर्षकै उमेरमा विवाह गर्ने संख्या बढ्दो रहेको हासीपुर स्वास्थ्य चौकी इञ्चार्ज देवीमाया बुढामगर बताउनुहुन्छ ।

ADVERTISEMENT

इञ्चार्ज बुढामगरका अनुसार स्वास्थ्य चौकीमा गर्भजाँच गर्न २० वर्षमुनिका गर्भवती किशोरीहरूको संख्या बढी नै हुने गरेको छ । विवाह गर्ने उमेर महिलाहरूका लागि २० भने पनि अधिकांशले १५÷१६ वर्षकै उमेरमा विवाह गर्ने र २० वर्षअघि नै दुईदेखि तीन वटासम्म बच्चा जन्माइसक्ने गरेको इञ्चार्ज बुढाले बताउनुभयो । ‘गर्भ जाँच गराउन आउनेलाई हामीले कम उमेरमा विवाह गर्नु हुँदैन भन्छौँ, विवाह गर्दा हुने असरका बारेमा पनि जानकारी गराउने गरेका छौँ तर माया प्रेममा परेपछि कसैले मान्दैनन्’, स्वास्थ्य चौकी इञ्चार्ज बुढामगरले भन्नुभयो, घरपरिवारले विवाह गर्न नदिएपछि कतिपय केटाकेटी भागेर विवाह गर्ने गरेका छन् । विवाह गरेपछि सानै उमेरमा बच्चा जन्माउने गरेका कारण स्वास्थ्यमा समस्यासँगै अधिकांश विवाहित कशोरीहरूले पढाइ छाड्ने गरेको इञ्चार्ज घर्ती बताउनुहुन्छ । विवाह गरेर पढ्ने गरेको गाउँमा देखिँदैन, अधिकांशले पढाइ छाडेका छन्’, उहाँले भन्नुभयो, ‘गाउँमा अहिले पनि विवाहपछि पढ्नुपर्छ भन्ने सोच छैन । विवाहित बुहारीले घरकै काम गर्नुपर्छ भन्ने मात्रै सोच्नुहुन्छ ।’

सानो उमेरमा विवाह गरेर बच्चा जन्माउँदा आमा र शिशुको स्वास्थ्यमा समस्यासमेत देखिने गरेको छ । कतिपय उमेरले १५÷१६ वर्षका किशोरीहरूको उमेर सोध्दा २० देखिमाथि भन्नुहुन्छ’, इञ्चार्ज बुढाले भन्नुभयो, ‘२० वर्षभन्दा कम उमेरमा विवाह गर्नुहुँदैन भन्ने जानकारी भए पनि गाउँमा मोबाइल फोन, सामाजिक सञ्जालसँगै एकअर्काको देखासिकीका कारण उमेर नै नपुगी विवाह गर्ने धेरै नै छन् । बालविवाह गर्ने धेरै भए पनि यकिन तथ्यांक नभएको बंगलाचुली गाउँपालिकाले जनाएको छ । विवाह गरेर किशोरीहरू घरको काममा लाग्ने र केटाहरू कमाउनका लागि बाहिरी देश जाने हुँदा गाउँका अधिकांशले स्कुल तहकै पढाइ पढेर छोड्ने गरेको हासीपुरका स्थानीय गोपालसिंह गाहामगर बताउनुहुन्छ । ‘विवाह गरेपछि खर्च बढ्ने गर्छ, त्यसैले केटाहरू कमाउनका लागि बाहिर जाने गर्छन्’, उहाँले भन्नुभयो, केटीहरू भने घरको काममा लाग्ने गर्दछन्, जसका कारण उनीहरूको पढ्ने उमेर खेर जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?