अव्यवस्थित डम्पिङ साइडले कोरिडोर दुर्गन्धित

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहोरको डंगुरले बनेको अग्लो पहाड । दैनक बागलुङ बजारबाट ल्याइने फोहोर कालीगण्डकी कोरिडोरछेउमा फाल्न थालिएको वर्षौँ भयो । यहाँ राखिएको फोहोरले मालढुंगाका स्थानीयदेखि कोरिडोरमा यात्रा गर्ने यात्रुलाई समेत समस्या परेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरछेउमै रहेको बागलुङ बजारको डम्पिङ साइडले आगन्तुकलाई समेत गिज्याइरहेको छ । करिब डेढ दशकसम्म कालीगण्डकी नदीमा फोहोर फाल्दै आएको बागलुङ नगरपालिकाले अदालतको आदेशपछि ठाउँ फेरेर यहाँ फाल्न थालेको थियो । फोहोर व्यवस्थापन गर्ने ठाउँको माथि सिधै प्रसिद्ध बागलुङ कालिका मन्दिर छ । यसको असर मन्दिरमा पनि पुगेको पाइएको छ ।

वर्षौँदेखि अस्थायीरूपमा यहाँ फोहोर फाल्दै आएको बागलुङ नगरपालिकाले व्यवस्थित डम्पिङ साइड व्यवस्थापन गर्न सकेको छैन । जसकारण यात्रु, स्थानीय र दर्शनार्थीलाई समस्या हुने गरेको छ । गाडी चालक पदम नेपालीले दैनिक यही सडक भएर यात्रु लिएर हिँड्दा फोहोरको गन्धले यात्रुले बान्ता गर्ने बताउनुभयो । चालक नेपाली भन्नुहुन्छ, ‘यो बाटो दैनिक दुईपटक हिँड्नुपर्छ, फोहोरको यत्रो थुप्रो छ, अहिले जाडो भएर धेरै गन्ध आएको छैन, अलि-अलि माक्सले पनि छेक्दो रैछ, गर्मी सिजनमा त निकै गाह्रो हुन्छ, यात्रुहरूले वाक्ने, रिंगटा लाग्यो भन्ने गर्छन्, फोहोरको गन्धले होला हामीहरूलाई पनि टाउको दुख्ने, वाक्वाकी होला जस्तो हुन्छ ।’

कहिले बजेट अभाव, कहिले स्थानीयको सहमति नभएको वहाना तथा कहिले डिपिआर बनाउने भन्दै काम अगाडि नबढेको नगरपालिका बताउँछ । फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्ड साइड बनाउने योजना बनाएर पनि कार्यान्वयन नगर्दा यात्रुहरूले दुर्गन्ध बेहोर्नुपरेको जैमिनी नगरपालिका-८ का शिव सुनारले गुनासो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, ‘राष्ट्रिय गौरवको आयोजनाकै छेउमा यस्तो हालत छ, फोहोरको डंगुरले भरिएको छ, बाटोमा पैदल त हिँड्नै सकिन्न, गन्हाएर, नाकमुख छोपेर पनि फोहोरको गन्ध हृवास्सै पस्छ, सम्बन्धित निकायले ध्यान नदिएर हो कि, बजारवासीको लापरबाही हो कि, के हो बुझ्नै सकिएन, बाहिरबाट आएको मान्छेले के भन्छन्, यो देख्दा ?’

ADVERTISEMENT

अहिले पनि बजेट अभावमा यसको काम अलपत्र भएको नगरपालिकाले जनाएको छ । वरिपरि पर्खाल लगाएर फालिएको फोहोरले भरिएपछि स्थायी डम्पिङ साइटको माग बढेको छ  । नगरपालिकाले वार्षिक ५० लाख रुपैयाँमा उक्त फोहोरबाट नकुहिने वस्तुको निकासी ठेक्का लगाउने गरेको छ । स्थायी डम्पिङ साइड निर्माण नहुन्जेलका लागि भन्दै फालिए पनि अर्को व्यवस्था अझै अन्योल भएको हो ।
फोहोर व्यवस्थापनका लागि दश वर्षअघि नै दुई करोड लागतमा बनाउने भनिएको स्थायी डम्पिङ साइडको डिजाइन भई सहयोगका लागि स्थानीय विकास मन्त्रालयमा माग भएको थियो । तत्कालीन फोहोर व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले रकम उपलब्ध गराउने भनिए पनि स्वीकृत नभएपछि थप काम अगाडि नबढेको हो । स्थानीय सरकार आए पनि योजना अगाडि बढाउन चासो नदिएको स्थानीयको गुनासो छ । ‘हावाले सबै फोहोर उडाएर घरभित्रै ल्याउँछ, यहाँका स्थानीयहरूले नगरपालिकामा गएर भन्यौँ, छिट्टै समस्या समाधान हुन्छ भनेको वर्षौँ भयो, अहिले पनि अवस्था उस्तै छ,’ स्थानीय मनबहादुर माझीले भन्नुभयो, ‘बस्ती नजिकै ल्याएर फोहोर फाल्छन्, यसले हामीहरूलाई निकै दुःख दिएको छ, फागुन-चैतबाट बाहिर बस्नै हुन्न, सबै फोहोर उडेर यहीँ आउँछ ।’

बागलुङ नगरपालिकाले व्यवस्थित ढल र फोहोर व्यवस्थापनका लागि योजना बनाएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँले जग्गा व्यवस्थापन भएपछि नगरपालिका, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर व्यवस्थित डम्पिङ साइड निर्माण गर्ने बताउनुभयो । अहिले फोहोर फालिँदै आएको ठाउँ उपयुक्त नभएको भन्दै अर्को व्यवस्था नहुँदासम्म यहाँ व्यवस्थितरूपमा फोहोर फाल्ने गरी काम गरेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । ‘अहिलेको फोहोर फाल्ने स्थान कत्ति पनि उचित छैन, ठाउँ अभावका कारण यहाँ फाल्नुपर्ने बाध्यता हो, यहाँ पनि त्यसरी फोहोर जथाभावीरूपमा फालिएको छैन, घेरा लगाएर पर्खालभित्र फोहोर छ, हावाहुरीले समस्या बनाएको छ,’ उहाँले भन्नुभयो, ‘व्यवस्थित फोहोर व्यवस्थापन र ढल निकासको योजना बनाएका छौँ, त्यो बनाएर छोड्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज