विपन्न परिवारलाई सुधारिएको चुल्हो

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । गढवा गाउँपालिका वडा नं. ५ निवासी डिमबहादुर कुमालको घरमा सधैं आगोमा भात पाक्छ । त्यसैले उहाँलाई हप्तामा एक दिन अनिवार्य दाउरा गर्न जंगल जानुपर्छ । मुस्किलले ल्याएको दाउरा हप्ता दिनमा सकिन्छ । फेरि उही जंगलको यात्रा । धुवाँमा खाना पकाउँदा आँखा दुःख्ने, बेला–बेला टाउको दुख्ने समस्या बल्झिएकै छ ।

अब डिमबहादुरजस्तै दाउराको भरमा भातभान्सा चलाउनेहरुलाई सजिलो भएको छ । दाउराको परनिर्भरता घटाउन र धुवाँबाट जोगाउन सुधारिएको चुल्हो वितरण गरिएको छ । अब भात पकाउन पहिला जति दाउरा चाहिँदैन । धुवाँको सामना पनि गर्नुपर्दैन । ‘दाउराको भारी बोक्दा बोक्दै थाकिसकें । ग्याँसमा भात भान्सा गर्ने अवस्था छैन । दाउराको आगोमा पाक्छ’– डिमबहादुरले भन्नुभयो– ‘अब दाउरा पनि थोरै चाहिन्छ भन्ने सुनेको छु । गरिब, दुखीलाई सजिलो होला ।’

आर्थिकरुपले पछाडि परेका गरिब, विपन्न तथा सीमान्तकृत समुदायका परिवारलाई लक्षित गरेर गढवा गाउँपालिकामा सुधारिएको चुल्हो वितरण गरिएको छ । नेपालमा वनको हस्क पावर चुल्हो पहिलो चरणमा एक सय ५० परिवारलाई निःशुल्क वितरण गरिएको हो । जोखिममा रहेका समुदायका लागि हरित प्रविधिमा आधारित तथा रोकथाम र नियन्त्रणमुखी भवन प्रणालीसम्बन्धी आपतकालीन सहायता परियोजनामार्फत चुल्हो वितरण गरिएको थियो । यो चुल्होको प्रयोगले वनमा भइरहेको परनिर्भरता घटाउँदै दाउरा खपतलाई घटाउने लक्ष्य राखिएको छ । जापान सरकार, य्एन ह्याविटाट नेपाल, सामुदायिक आत्मनिर्भर केन्द्र सिएस आरसीको सहयोगमा चुल्हो वितरण गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले सुधारिएको चुल्होले वन प्रतिको निर्भरता घटाउने विश्वास व्यक्त गर्नुभयो । ‘यो चुल्होले विपन्न परिवारलाई राहत दिनेछ । कम समय, कम दाउरा र कम धुवा आउने छ । जसबाट परिवारलाई सजिलो बनाउने छ ।’ गढवा गाउँपालिका वडा नं. ३, ४ र ५ का विपन्न नागरिकलाई चुल्हो वितरण गरिएको छ ।

ADVERTISEMENT

जापानी राजदुतावासका डिपुटी चिफ अफ मिसनका तामुरा ताकाहिरोले चुल्हो हस्तान्तरण गर्नुभयो । कार्यक्रममा उहाँले नागरिकको स्वास्थ्य र आर्थिक स्थिति सुधार गर्न चुल्होले मद्दत गर्ने बताउनुभयो । ‘जापान र नेपाल दुई देशबीचको सम्बन्ध कायम भइरहने छ । यो सहयोगले समुदायको उत्थानमा मद्दत पुग्ने विश्वास छ’– उहाँले भन्नुभयो– ‘धुवाँले स्वास्थ्यमा पार्ने प्रभाव न्यून हुनेछ भने समयको बचत, खर्च थोरै हुने वातावरण बन्छ ।’ युएन ह्याविटाट नेपालका कार्यक्रम संयोजक राजाराम छतकुलले खाना पकाउने सुधारिएको चुल्होले ६० प्रतिशतसम्म दाउराको खपत कम गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार यो चुल्होबाट खाना छिटो पाक्ने, ५० प्रतिशत समय र श्रम बचत हुने, एक ठाउँबाट अर्को ठाउँमा सजिलोसँग सार्न र खाना पकाउन सकिने, ८० प्रतिशतसम्म धुवाँ कम हुने, विषालु ग्याँस मनोअक्साइड उत्सर्जन कम हुने, खानाको स्वादलाई कायम राख्ने विशेषता रहेको छ ।

कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशीष चौधरी, वडा नं. ५ का अध्यक्ष लेखबहादुर थापा, वडा नं. ४ का अध्यक्ष हरिभगत चौधरी, युएन ह्याविटाट जापानका कोअडिनेटिङ अफिसर फुमीयासु इसिंगा, मिराकुल कम्पनी लिमिटेडका म्यानेजिङ डाइरेक्टर नोरीयुकी फुकाई, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण अभियान संयोजक कल्पना कार्कीले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?