शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । कोहलपुर-११ न्युरोडस्थित मैदानमा खुलामञ्च निर्माण गरिने भएको छ । नगर विकास समितिले ठेक्का प्रक्रियामार्फत् मञ्च निर्माण गर्ने भएको हो । मञ्च निर्माणका लागि ठेक्का आहृवान भएर सम्झौतासमेत भइसकेको छ । नगर विकास समितिका अनुसार ९९ लाख रुपैयाँ लागतमा मञ्च निर्माणका लागि गत मंसिर ११ गते नगर विकास समिति र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो । इन्जिनियर विराज अर्यालले मञ्च निर्माणका लागि गत भदौ महिनामा ठेक्का आहृवान गरिएको बताउनुभयो । ठेक्का प्रक्रियामार्फत् मञ्च निर्माण जिम्मा सुप्रिम निर्माण सेवा वीरेन्द्रनगर-११, सुर्खेतले पाएको छ । निर्माण कम्पनीका साइड इन्चार्ज चन्द्रप्रकाश खड्का सम्झौता भए पनि विवादका कारण अझै काम सुरु हुन नसकेको बताउनुहुन्छ । असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
तर, मञ्च निर्माण गर्ने जग्गा विवादका कारण सम्झौता भएको दुई महिना बितिसक्दासमेत काम सुरु हुन सकेको छैन । डिभिजन वन कार्यालयले लामो समयदेखि भोगचलन गरिरहेको जग्गामा निर्माण कार्य सुरु गर्न लाग्दा अवरोध सिर्जना भएको छ । लामो समयदेखि कार्यालयले भोगचलन गर्दै आएको भन्दै कार्यालयले निर्माण कार्यमा अवरोध सिर्जना गरेको हो । बुधबार निर्माण कार्य सुरु गर्नका लागि निर्माण व्यवसायी र नगर विकास समिति डोजरसहित त्यहाँ पुगेका थिए । तर, वन कार्यालयका कर्मचारीहरूले निर्माण कार्यमा अवरोध पु¥याए । सोही कोहलपुर नगर प्रहरीले बल प्रयोग गरेर काम गर्न खोजे पनि सफल हुन सकेन ।
डिभिजन वन कार्यालय कोहलपुरका प्रमुख लालबहादुर चौधरीका अनुसार उक्त जग्गा वन कार्यालयले २०२२ सालदेखि भोगचलन र संरक्षण गर्दै आएको छ । वन कार्यालयले उक्त जग्गा नगर विकासको मातहतमा रहेको कागज उपलब्ध गराउन भने पनि उपलब्ध नभएको उहाँले बताउनुभयो । उहाँले उल्टै कोहलपुर नगरपालिकाले अहिले निर्माण गरिरहेको प्रशासनिक जमिनमा जंगल क्षेत्र र ऐलानी जग्गामा निर्माण भइरहेको भन्दै त्यसको छानबिन हुनुपर्ने माग गरेका छन् । ‘हामी २०२२ सालदेखि यहाँ बस्दै आएका छौँ । हामी दुवै सरकारी निकाय हो । विवाद नगरौँ । समन्वयमा काम गरौँ भनेको छु । तर, मेयरसावले समन्वय गर्नुभएन,’ उहाँले भन्नुभयो । उक्त जग्गा १० धुर क्षेत्रफलमा फैलिएको छ । सरकारी कागजातमा गभर्मेन्ट सेक्टर उल्लेख गरिएको उहाँको दाबी छ । त्यहाँ रहेका रुखहरू काट्नसमेत इलाका वन कार्यालयले अवरोध गरिरहेको छ । नगर विकास समितिले आफ्नो नाममा भएको जग्गाको कित्ता नम्बर र क्षेत्रफल खुलाउनुपर्ने उहाँको माग थियो ।
यता, नगर विकास समितिले त्यहाँ रहेको जग्गा खाली गर्नका लागि वन कार्यालयलाई पटक-पटक लिखितरूपमा पत्र लेखेको पाइएको छ । जग्गा खाली गर्नका लागि पछिल्लोपटक पुस ९ गते नगर विकास समितिले पत्र लेखेको थियो । नगर प्रमुख एवं नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत एवं नगर विकास समितिका सदस्य-सचिव टीकाराम ढकालद्वारा हस्ताक्षरित पत्रमा नगर विकास समितिको नाममा दर्ता श्रेस्ता कायम भएको र नियमित मालपोतमा कर तिरिरहेको कित्ता नम्बर ३९६ प्लट नम्बर ८७३ को खुला क्षेत्र (गभर्मेन्ट सेक्टर-२) मा जग्गा लामो समयदेखि प्रयोग÷ अतिक्रमण गरेको पाइएको उल्लेख गरिएको छ ।
नगर विकास समितिले उक्त स्थानमा खुलामञ्च निर्माण गर्ने र त्यसका लागि प्रक्रियासमेत अघि बढिसकेकाले उक्त तारबार गरेको जग्गा नगर विकाससँग समन्वय गरी सात दिनभित्र खाली गराउन अनुरोध गरिएको छ । उक्त पत्रमै डिभिजन वन कार्यालयलाई आफ्नो नाममा दर्ता श्रेस्ता वा भोगाधिकार प्रमाणपत्र पेश गर्न पत्राचार गरिएकोमा प्राप्त नभएको दाबी गरिएको छ । साथै उक्त पत्र समन्वय र सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँके र सब-डिभिजन कार्यालयलाई बोधार्थ दिइएको छ । ढकालले नगर विकास समितिलाई जग्गा खाली गर्नका लागि दुईपटक लिखित पत्राचार गरिएको बताउनुभयो । नगर विकास समितिको नाममा रहेको जग्गाधनी दर्ता प्रमाण पुर्जामा कित्ता नम्बर ३९६ मा विसं २०५३ असार ९ गते अदालतबाट फैसला भएको उल्लेख छ । त्यसमा जग्गाधनीको एकलौटी हिस्सा हुनेसमेत उल्लेख छ । उक्त जग्गाको क्षेत्रफल २३-१८-१८० (बिघा ०.२०-२०-४) रहेको छ ।






