म्याग्दी । म्याग्दीमा रहेका तीनसय वर्ष भन्दा पुराना देवल र प्राचिन सम्पदाहरु नास हुँदै गएका छन् ।
धार्मिक तथा ऐतिहासिक महत्वका देवल र प्राचिन सम्पदाहरु प्रचार प्रसार र संरक्षण नहुँदा ओझेलमा पर्न थालेका हुन् । सदरमुकाम बेनीलगाएत जिल्लाका ६ वटै स्थानीयतहहरुमा रहेका पुरातात्विक तथा शिखरशैलीका देवल र प्राचीन सम्पदाहरु प्रचार प्रसार नहुँदा ओझेलमा पर्दै र नासिदै गएका स्थानीयले बताएका छन् ।
सदरमुकाम बेनीबजारमा रहेका तीनवटा ३ सय वर्षभन्दा पुराना प्राचिन सम्पदाहरुको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेका स्थानीय प्रकाश श्रेष्ठले बताउनुभयाे । बेनीमा रहेका कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल ३ सय वर्ष पुराना ऐतिहाँसिक विरासतका धरोहरहरु हुन् । तर यी धरोधरहरुको न उचित संरक्षण हुन सकेको छ, न त प्रचारप्रसार नै भएको छ ।
विसं १७५४ मा तत्कालिन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवलहरु पाञ्चायन शैलीमा निर्माण गरिएको छ । पुराना इट्टाबाट निर्मित यी मन्दिरहरुमा शिवलिङ्ग, नारायण, गणेश र भगवतीका मुर्तिहरु रहेका छन् ।
बेनीबजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तेश्वर मन्दिरको अस्तित्व नामेट हुँदै जान थालेको स्थानीय बृद्ध अविरकुमार श्रेष्ठले बताउनुभयाे । “वजार विस्तार हुने क्रमसंगै घर निर्माण हुने क्रम बढेपछि घरहरुले बालमुक्तेश्वर मन्दिर छोपिन पुग्यो, बेनीको सभ्यताको सबैभन्दा पुरानो मन्दिरको बारेमाअहिले धेरैजसो व्यक्तिहरु अनभिज्ञ छन्” श्रेष्ठले भने ।
उहाँकाअनुसार २०३७ सालमा बालमुक्तेश्वर मन्दिरको अगाडी लक्ष्मीनारायण मन्दिर निर्माण गरिएपछि सो मन्दिरको महत्व पनि छोपिदै गएको हो । २०३४/०३५ साल सम्म मन्दिरमा रहेको ताम्रपत्र अहिले हराएको छ ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिका ६ मा कालीगण्डकी नदी र घारखोलाको दोभानमा रहेको जलेश्वर शिवालयमन्दिर पनि अहिले अस्तित्व विहीन बनेको छ । पाञ्चायन शैलीमा निर्माण गरिएको उक्त मन्दिर २०६३/०६४ सालमा बेनी/जोमसोम सडक निर्माणका क्रममा सेनाले सोही मन्दिरसंग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरिदिए पछि लजेश्वर शिवालयको मन्दिर पनि अस्तित्व विहीन बनेको छ ।
जिल्लाका ताकमकोत, ज्यामरुककोट, घतान, पुलाचौर, राखु भगवतीलगाएतका स्थानमा रहेका कैयौं प्राचिन देवल र सम्पदाहरु नासिदै गएका छन् । यस्ता प्राचिन सम्पदाहरु नासिदै गएपनि स्थानीयतहले कुनै चासो नदेखाएको स्थानीयवासीहरुको भनाइरहेको छ ।
प्राचिन मन्दिरमा राखिएका ताम्रपत्र, घण्ट, भाला, हातहतियारलगाएतका ऐतिहाँसिक र पुरातात्विक महत्वका चिजहरु हराउँदै गएका ज्यामरुककोटका हरिप्रसाद शर्माले बताउनुभयाे । यस्ता पुरातात्विक महत्वका ऐतिहाँसिक वस्तुहरुको संरक्षणमा पुरातात्विक विभागको पनि ध्यान जान आवश्यक रहेको भकुण्डेका ७८ वर्षिय डिलबहादुर कार्कीले बताउनुभयाे ।
बडादशैं, चैतेदशैं, कृष्णजन्माष्टमी, श्रीपञ्चमी र तीजका बेला उक्त ठाउँमा पूजापाठका साथै मेला लाग्ने गर्दछ । ती ठाउँमा रहेका ढुंगेधारा र कुवाहरु पनि नासिदै गएकाे स्थानीयले बताएका छन् ।
स्थानीय सरकार गठन भइसकेपछि त्यस्ता पुरातात्विक सम्पदाहरूलाई सूचीकरण गरी संरक्षण र संवर्द्धनका लागि पहल शुरु गरिएको बेनीनगरपालिका-२ का वडा अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयाे ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा