एक दशकपछि त्रिशुलीको फेरियो स्वरूप

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको त्रिशुली नदीको स्वरूप एक दशकपछि फेरिएको छ । बाह्रै महिना बाह्रैकाल धमिलो हुने त्रिशुली नदी अहिले कञ्चनजस्तै सङ्लिएपछि स्वरूप फेरिएको हो । नदी किनारमा सञ्चालित क्रसर र फिरफिरे सञ्चालनमा गृह मन्त्रालयले रोक लगाएसँगै नदीको स्वरूप बदलिएको हो । अहिले धादिङमा १७१ वटा उद्योगहरू बन्द छन् ।

नदी धमिलो बनाउने फिरफिरे र उद्योग बन्द भएपछि एक सातादेखि त्रिशुली नदीको स्वरूप बदलिएको छ । त्रिशुली नदीको पानी १२ वर्षपछि सङ्लो देखिएको वैरेनीका स्थानीयले बताएका छन् । पृथ्वी राजमार्ग हुँदै बग्ने त्रिशुली नदीको स्वरूप परिवर्तन हुँदा अहिले नदीको अवलोकन गर्नेहरू बढेको स्थानीय बताउँछन् ।

ADVERTISEMENT

त्रिशुली नदी र्‍याफ्टिङका लागि उपयुक्त नदी हो । जसको अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा हुने गरेको छ । यस्तै, कोरोना महामारी फैलिएका बेला त्रिशुली नदी कञ्चन थियो तर त्यो क्षणिक समयका लागि मात्र भयो । धादिङ र नुवाकोट जिल्ला भएर बग्ने त्रिशुली नदी किनारमा ढिस्काको बालुवा धुने, नदीबाटै बालुवा झिक्ने र नदी किनारमै क्रसर चलाउने क्रियाकलापहरूले कञ्चन बग्ने त्रिशुली नदी बाह्रै महिना धमिलिने गरेको थियो । हिउँदमा पनि कहिले बालुवा त कहिले ढुंगा झिक्नेहरूले गर्दा त्रिशुली सधैं धमिलो हुने हुने गरेको थियो । अहिले त्रिशुलीमा न त गिट्टी बालुवा बोक्ने टिपरको लस्कर छ न त बालुवा प्रशोधन र क्रसर उद्योग नै । बरु कञ्चन त्रिशुलीमा बल्छी र जाल थापेर माछा मार्नेहरू देखिन थालेका छन् ।

नदी धमिलो हुँदा माछा नपर्ने समस्या रहेको धादिङका टिकाराम तामाङले बताउनुभयो । त्रिशुली नदीको वेगमा माछा मार्नेमा अहिले धेरै माझी छन् । नदी सफा भएपछि ठूल्ठूला माछाहरू पनि भेटिन थालेका छन् । नेपाल सरकारबाट तोकिएको मापदण्डविपरीत सञ्चालन भएका खानी, क्रसर तथा बालुवा प्रशोधन उद्योगहरूले नदी धमिल्याउने गरेको त्रिशुली बचाउ अभियानका अभियन्ताहरूको आरोप छ । धार्मिक तथा जलयात्राका लागि ऐतिहासिक महत्व बोकेको त्रिशुली नदीमा बालुवा प्रशोधन उद्योगका व्यवसायीहरूले बालुवा धोएको धमिलो फोहोर पानी तथा लेदो मापदण्डविपरीत सिधै खोलामा पठाएकाले त्रिशुली नदी धमिलिएको थियो । नदीमा बालुवा प्रशोधन उद्योग र क्रसर बन्द गर्न कडाइ गर्नु अति आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज