सीपले बनायो आत्मनिर्भर, बदलियो दैनिकी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । चार वर्ष पहिलेसम्म तमान गाउँका महिलाको दैनिकी घाँस दाउरा, चुलोचौको र मेलापात गरेर बत्थ्यो । सामान्य खर्चका लागि परनिर्भर हुनु पर्ने अवस्था थियो भने अहिले उनीहरु आफै कमाउन सक्ने बनेका छन् । आफ्नै सिपले आत्मनिर्भर बनेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ । यस गाउँका महिलाहरुले अहिले ढाका उद्योग संचालन गरेर उद्यमी बनेका छन् । चार वर्ष अगाडि तमानखोला गाउँपालिकाले दिएको तालिमले अहिले उनीहरुको दैनिकीनै बदलिएको छ ।

महिलाहरुले तमान गाउँमा कल्याण आमा समूहको भवनमा उद्योग संचालन गरेका छन् । उद्योग संचालनमा आएपछि उनीहरुको बिहान बेलुका घरको काम र दिउँसोभर उद्योगमा बित्ने गरेको छ । पहिले घरको काम र बालबच्चाको स्याहार सुसारमा व्यस्त महिलाहरु अहिले भने कपडा बुन्नमा व्यस्त छन् । उद्योगले उनीहरुको दैनिकी फेरिनुका साथै आयआर्जनको माध्यम बनेको छ ।

उद्योगमा कति महिला त बच्चासमेत बोकेर उद्योगमा आउँछन् । गाउँपालिकाले गाउँमा २० महिलालाई तालिम दिएपनि अहिले उद्योगमा सात जना मात्रै काम गर्छन् । उनीहरु आलोपालो तान चलाउने र धागो मिलाउने काम गर्छन् । उद्योगमा सात जनाको समूह भए पनि उनीहरुले ११ वटा तान राखेका छन् । त्यस मध्ये केही बुन्ने काम गर्छन् त केहीले सामान व्यवस्थापन र धागो मिलाउने गर्छन् । समुहमा धेरैजसो युवतीहरु सक्रिय छन् भने केही बृद्ध महिलाहरु पनि आवद्ध भएर काम गरिरहेको कल्याण आमा समूहकी अध्यक्ष तनिमा घर्ती मगरले बताउनु हुन्छ ।
“गाउँमा पहिले रोजगार गर्ने अवसर पाइएको थिएन, सीप पनि सिक्न पाएका थिएनौँ, सीप भन्ने ठूलो सम्पत्ति रैछ, सिप भयो भने जहाँ गए पनि काम गर्न सकिन्छ, भोकले मर्न पर्दो रैनछ,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो– “गाउँका दिदीबहिनी धेरैले अहिले सिप सिकेका छौँ, सीप भएन भने भोकले मर्ने हो, हामीले सीप सिकेर धेरै फाइदा भएको छ, अहिले काम पनि राम्रो हुँदै गएको छ, यसको प्रतिफल पनि राम्रै पाउने छौँ भन्ने आशा छ, बाहिरबाट पनि मान्छेहरु यहाँ आउने गर्नुहुन्छ ।”

उनीहरु उद्योग सञ्चालनमा आएपछि धेरै ठाउँबाट माग आएपछि आफुहरुलाई निकै हौसलासमेत मिलेको उहाँ बताउनुहुन्छ । उहाँले १४ महिलाको लगानीमा उद्योग संचालन गरेको बताउनुभयो । घर्ती मगरले समूहका सबैले सुरुमा ६०/६० हजार लगानी गरेर उद्योग सञ्चालन गरेको बताउनुहुन्छ । आफूहरुले उत्पादन गरेका कपडाहरु धेरैजसो गाउँमै बिक्री भएको र बजारसम्म पु-याउनका लागि बढि उत्पादन गर्न थालेको उहाँको भनाई छ ।

घर्ती मगर भन्नुहुन्छ– “हामीहरुलाई अझै केही मेशिनहरु आवश्यक छन्, ति मेशिनहरु आए भने अझै काम गर्न सहज हुने थियो, दिदीबहिनीहरुको लगानीमा उद्योग संचालन गरेका हौँ, अहिलेसम्म राम्रो भइराखेको छ, माग पनि ठिकठिकै छ र उत्पादन पनि ठिकै छ, अब बिस्तारै ठुला ठुला बजारहरुमा पठाउने गरि काम गरिराखेका छौँ, अहिले बजारका लागि केही समस्या छ, बिस्तारै त्यसको पनि व्यवस्थापन हुन्छ कि, गाउँपालिकाले सहयोग गरे राम्रो हुन्थ्यो ।”

उद्योगमा आवद्ध हुँदै आउनु भएकी जुनुमाया घर्ती मगरले आफुहरुले ढाकाबाट सल, टोपी, गलबन्दी, इस्टकोट, झोला, खादा लगायतका कपडाहरु बनाउँदै आएको उद्योगमा आबद्ध जुनुमाया घर्ती मगरले बताउनुभयो । उहाँले उद्योग संचालनमा आएको केही समय राम्रो व्यापार भए पनि अहिले बजार व्यवस्थापनमा समस्या रहेको बताउनुहुन्छ ।

ADVERTISEMENT

कपडा निर्माण गर्न चाहिने धागो तथा अन्य सामानहरु बुर्तिबाङ, पोखरा तथा काठमाण्डौबाट ल्याउने गरेको उहाँको भनाई छ । सरकारले बजार व्यवस्थापनका लागि सहयोग गरे आफूहरुलाई थप सहज हुने जुनुमायाले बताउनुभयो । एउटा सल बुन्नको लागि दुईदेखि तीनदिनसम्म लाग्ने गर्छ । अरु कपडाहरु बुन्नका लागि एक दिनदेखि हप्ता दिनसम्म लाग्ने उहाँको भनाई छ । उत्पादन गरेको एउटा गलबन्दीको मूल्य एक हजारदेखि १५ समयसम्म र सलको १२ सयदेखि दुई हजार पाँच सयसम्म पर्ने गरेको उहाँ बताउनुहुन्छ ।

“अहिले हाम्रो मुख्य समस्या भनेकै बजार हो, बजार व्यवस्थापन भयो बने हामीहरुको आम्दानी पनि राम्रो हुन्थ्यो, अरु त अहिले खासै समस्या छैन, उत्पादन बढिराखेको छ, बजार राम्रो भयो भने उद्योग फस्ट्याउने थियो” उहाँले भन्नुभयो– “ढाका बुनाईले हामीहरुलाई उद्यमी बनायो, खुसी छौँ, परिवार चलाउन सहज भएको छ, पहिलेको जस्तो अवस्था छैन ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले ढाका संचालकहरुलाई आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले पालिकाकै पहलमा तालिम संचालन गरेर उद्योग स्थापना गरेको बताउनुभयो । पछिल्लो समय लोप हुँदै गएको ढाका बुनाई गाउँमा स्थापित उद्योगले ब्युँताएको उहाँको भनाई छ ।

अध्यक्ष बुढा मगर भन्नुहुन्छ– “यो ढाका उद्योगले परम्परागत ढाका बुनाईलाई ब्यँुताएको छ, मौलिक कलासँग जोडिएको ढाका बुनाई बुढापाकाले मात्रै गर्ने गरेको सन्दर्भमा गाउँपालिकाले नयाँ पुस्तालाई तालिम दियौँ, र अहिले उद्योगनै संचालनमा आएको छ, यसले पुरानो संस्कृति जोगाएको छ, उद्यमीहरुलाई पर्ने समस्याको समाधान हामीहरु गर्छौँ ।”

उहाँले उद्यमीहरुलाई थप तालिम, आवश्यक मेशिन र बजारीकरणका लागि गाउँपालिकाले योजना बनाएको भन्दै उत्पादनलाई गुणस्तरी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरु परनिर्भरबाट आत्मनिर्भर बनेको भन्दै अब तमानखोलाका हरके महिलालाई सिप सिकाई उद्यमसँग जोड्ने बताउनुहुन्छ । ढाका बुनाईसँगै यहाँका बेरोजगार युवाका लागि अन्य सिप सिकाई रोजगार बनाउने गाउँपालिकाको योजना रहेको सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज