परिचर्चामा ‘तानसेन’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । सेनकालीन सभ्यतादेखि नै पाल्पाको तानसेनलाई काठमाडौंको भाइ मानिँदै आएको छ । भाषा, कला, धर्म, संस्कृति र साहित्यको उर्वर स्थलका रूपमा तानसेन परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरू भइरहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक सहरसमेत भनिन्छ ।

विजय उत्सवका रूपमा मनाइने पाल्पाको प्रसिद्ध भगवती माईको रथयात्रा, प्रेमसँग जोडिएको लाखेनाच, एग्रो रिलिजनसँग सादृश्य राख्ने रोपाइँजात्रा, मृत्यु गणनासँग सम्बन्धित सापारू जात्रा, प्रकृतिसँग जोडिएको बाघजात्रा आदि तानसेनका मुख्य जात्रा तथा पर्व हुन् । जात्रा पर्वको माध्यमबाट आपसी भाइचारा, विश्वास, भ्रातृत्व, भगिनित्व र बन्धुत्वको भावना कायम रहन्छ । यसले पुस्तान्तरणलाई पनि जोडेर राख्छ । समुदायलाई एकताको बन्धनमा बाँधेर राख्ने यस्ता जात्रा, पर्व र संस्कृतिको संरक्षणमा पछिल्लो पुस्ताको आकर्षण भने बढ्न सकेको छैन । संस्कृति सम्वद्र्धनमा पुराना पुस्ता खटेर लाग्न नसक्ने र नयाँ पुस्ताले बेवास्ता गर्दा पछिल्लो समय जात्रा पर्वको रौनक हराउँदै गएको संस्कृतिकर्मी बताउँछन् ।

देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले यहाँका जात्रा र चाडपर्वलाई समेटेर एक कृति निकाल्नुुभएको छ । उहाँद्वारा लिखित ‘तानसेनमा मनाइने जात्रा तथा चाडपर्वहरू’ नाम कृतिको तानसेनमा एक कार्यक्रमका बीच परिचर्चा गरिएको छ । तानसेन भजन संरक्षण समिति, पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान पाल्पाको आयोजनामा कृतिको परिचर्चा गरिएको हो । जिल्लाका साहित्यकार, सामाजिक व्यक्तित्व, राजनीतिककर्मीहरूले कृतिमा उल्लेख गरिएका तानसेनका जात्रा र पर्वहरूको बारेमा चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले तानसेनको सांस्कृतिक पहिचानलाई पुस्तकले थप प्रष्ट पारेको बताउनुुभयो । उहाँले ऐतिहासिक तानसेनका जात्रा र पर्वलाई विश्वव्यापीकरण गर्नमा पुस्तकले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । संरक्षक सिहंले भन्नुुभयो ‘तानसेनका पर्वहरूको प्रचारप्रसार हुन सकेको छैन, जसले गर्दा यहाँका ऐतिहासिक जात्रा र पर्वहरू विश्वव्यापी हुुन सकेका छैनन्, पुुस्तकले केही हदसम्म भए पनि व्यापीकरणमा टेवा पुुग्ने छ ।’

ADVERTISEMENT

समीक्षक अर्चना शाक्यले तानसेन आफैँमा सांस्कृतिक रूपमा सम्पन्न रहेको बताउनुुभयो । उहाँले तानसेनको त्यही संस्कृतिलाई पुस्तकमार्फत उजागर गरिएको बताउनुुभयो । शाक्यले पुस्तक संग्रहणीय र उदाहरणीय रहेको धारणा व्यक्त गर्नुभयो । कृतिका लेखक मदन देउरालीले यहाँका सबै जात्रा र पर्वहरूलाई पुस्तकमा उतार्ने प्रयास गरेको बताउनुुभयो । उहाँले संस्कृतिले ओतप्रोत तानसेनको प्रचार-प्रसारमा टेवा पुुगोस् भन्ने उद्देश्यले पुस्तक लेखेको बताउनुुभयो । पुस्तकमा उहाँले पाल्पामा मनाइने चार दर्जनभन्दा बढी जात्रा तथा पर्वको जानकारी संकलन गर्नुभएको छ । कार्यक्रममा संस्कृतिकर्मीहरू मंगल प्रसाद बज्राचार्य, चित्रवलीराम सुवाल, रामजीप्रसाद शर्मा, पाल्पा साहित्य समाजका अध्यक्ष पुुष्कर अथक रेग्मी, प्रकाश गोंगल, निर्मल श्रेष्ठ, सुुवर्णमुनि शाक्य, महेश देउराली, रोहित ज्ञवाली लगायतका व्यक्तित्वहरुले पाल्पाका जात्रापर्व र संस्कृति संरक्षणमा स्थानीय सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताउनुुभएको छ ।

सांस्कृतिक संरक्षणमा जोड
तानसेन बजार नेवारी समुदायको बाहुल्य भएको सहर हो । यहाँ घरैपिच्छे मन्दिर तथा देवालय छन् । वर्षको सुरुआतमा मनाइने बटुक भैरव जात्रादेखि लिएर अन्तिममा मनाइने चैते दसैँ जात्रा गरी यहाँ वर्षभरि नै जात्रा चलिरहन्छ । संस्कृतिले ओतप्रोत तानसेन अहिले शून्यप्रायः छ । पहिले वर्षभरि नै स्वतःस्फूर्त रूपमा बजारमा शास्त्रीय संगीत घन्कन्थ्यो । अग्रज कलाकारले भजन मण्डली बनाएर भजन, राग गाउँदै मृदंग र मुजुराको तालमा बजार परिक्रमा गर्थे । अहिले मौलिक परम्परा धेरै लोप भइसकेका छन् । पछिल्लो समयमा तानसेनका चाडपर्व र जात्राहरू हराउँदै जान थालेकाले यसको संरक्षणमा सबै पक्षले ध्यान दिनुुपर्ने आवाजसमेत उठ्न थालेको छ । जात्रा पर्व मनाउन खर्चिलो हुने भएकाले यिनीहरू विस्तारै हराउँदै जान थालेको तानसेनवासीहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज