म्याग्दी । पश्चिम म्याग्दीको विकासको द्वार मानिने बेनी दरबाङ सडकअन्तर्गत दोस्रो खण्ड सिमदेखि लाम्पाटासम्मको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजना अगाडि बढेको छ । भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत उक्त सडक स्तरोन्नतिसहित कालेपत्रे गर्ने योजना थालेको हो ।
योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले यतिखेर प्रारम्भिक चरणको कामलाई तीव्रता दिएका छन् । ग्यावियन झाली भर्ने, पर्खाल लगाउने, सडक चौढा पार्न कटान गर्ने लगायतका काम तीव्ररुपमा भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पूर्वाधार विकास कार्यालयले अघिल्लो वर्षको पुस १८ गते अमर देवशयर जेभि कन्ट्रक्सनसँग चार किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न १० करोड ७० लाख रुपैयाँमा २०८० असार मसान्तसम्म सक्ने गरी ठेक्का सम्झौता गरेको हो ।
ठेकेदारले यो वर्षबाट स्तरोन्नतिको काम तीव्र पारेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।
सडक आठ मिटर फराकिलो बनाएर सात मिटर चौडाइमा डिबिएसडी कालोपत्रे, नाली र पर्खाल निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई कार्यालयले ताकेता गरेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिलेसम्म १० प्रतिशत भौतिक प्रगति भएको छ । बेनी दरबाङ सडकको पहिलो चरणअन्तर्गत बेनीदेखि सिमसम्मको सडक स्तरोन्नतिसहित कालोपत्रेको काम सकिएको छ ।
गण्डकी प्रदेश सरकारले एक प्रदेश निर्वाचन क्षेत्र एक नमुना सडकअन्र्गतको तेस्रो खण्ड मंगला गाउँपालिका-२ लाम्पाटादेखि मालिका गाउँपालिका केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक निर्माण योजना भने ठेकेदारले काम नगर्दा अलपत्र परेको छ । उक्त सडक विरुवा-क्याराभान जेभीले २०७६ असार ३१ गते २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । योजनामा अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।






