‘एयर होस्टेज’ सिर्जनाको निधनले पाल्पाको जन्म गाउँ शोकमा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु हुनुभएकी विमान परिचारिका (एयर होस्टेज) सिर्जना हुङचुङ (सिर्जु थापा) लाई सम्झेर उहाँको जन्म गाउँ पाल्पाको बगनासकाली गाउँपालिका-९ चापपानी सिरुंगा नै शोकमग्न छ । हुुङचुुङको निधनले परिवारजन पीडामा छन् नै आफ्नो गौरव गुमाउनुपर्दा उहाँको जन्मस्थान सिरुंगावासी र गाउँपालिकावासीसमेत मर्माहत भएका छन् । हाल उहाँको परिवार रूपन्देही सैनामैना–५ मुर्गियाचोक बस्दै आएको भए पनि पाल्पाको सिरुंगामा काकाकाकीसहित आफन्तहरू छन् ।

‘बिहान १० बजेतिर सिर्जनाका माइला दाजुु बुटवल बस्दै आउनुभएका तेजेन्द्र हुङचुङसँग कुराकानी भइरहेको थियो । हामी दुुई दाजुुभाइबीच धेरैबेर कुरा भएको थियो । फोन राखेको दुई घण्टापछि पोखरामा विमान दुर्घटनाको खबर पाइयो,’ सिर्जनाका काकाका छोरा विजयराम हुुङचुङले भन्नुभयो । उहाँले भन्नुभयो, ‘दुर्घटनाको खबर पाए पनि बहिनी दुर्घटनामा परेको खबर हामीलाई थाहा थिएन, एक्कासी दिउँसो दाइ तेजेन्द्रले बहिनी पनि दुर्घटनामा परिछन् भनेर फोन गरेपछि म अत्यन्त भावुुक बनेँ ।’ परिवारमा नसोचेको घटना भएको विजयरामले हिटासँगको कुराकानीमा बताउनुभयो । अहिले परिवारसहित सिंगो सिरुंगा गाउँ नै शोकमा रहेको बगनासकाली गाउँपालिका-९ का वडाध्यक्ष थानेश्वर तिमिल्सिनाले बताउनुभयो । उहाँको निधनपछि सिरुंगामा बस्दै आएका सिर्जनाका काका, काकीसहित आफन्तलाई सान्त्वना दिने काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

२०७२ देखि विमान परिचारिकाका रूपमा काम गर्नुभएकी २९ वर्षीया सिर्जना घरकी एक्ली छोरी हुनुहुन्थ्यो । उहाँका तीन दाजुुभाइ हुनुहुन्छ । शनिबार साँझ उहाँले घरमा कुरा गरेर आइतबारको पोखरा उडानबारे परिवारलाई बताउनुभएको थियो । त्यही कुराकानी उहाँको अन्तिम भइदियो । आइतबारको कुराकानीमा सिर्जनाले ६१ वर्षीया आमा खिमसरासँग आफूलाई मनपर्ने बटुक पकाएर पठाइदिन भन्नुभएको थियो ।

आइतबार विमान दुर्घटना हुँदा खिमसरा छोरीलाई पठाउन बटुक पकाउँदै हुनुुहुन्थ्यो । यत्तिकैमा बिहान ११ः३० बजेतिर पोखरामा विमान खस्यो भन्ने समाचार जताततै फैलियो । पछि यति एयरकै जहाज दुर्घटनामा सिर्जना पनि परेको थाहा पाएपछि उहाँलाई पत्याउन कर लाग्यो र सैनामैनामा रहेको सिर्जनाको घरमा रुवावासी सुरु भयो । सिर्जनाका छिमेकी जम्मा हुन थाले सिंगो गाउँ नै शोकमा परिणत भयो । एक दिनअगाडि फोनमा छोरीसँग घण्टौं कुरा गर्नुभएकी खिमसरालाई त्यो घटना सुरुमा विश्वास गर्न गाह्रो भयो तर केही छिनमै सामाजिक सञ्जाल र मिडियामा नामसहित विवरण आउन थालेपछि खिमसरालाई पत्याउन कर लाग्यो । प्लस-टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीमा अध्ययनरत सिर्जनाले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक तहसम्म अध्ययन पूरा गरी बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेज तालिम लिएर २०७२ सालदेखि यति एयरलाइन्समा काम गरिरहनुभएको थियो । आइतबार बिहान १०ः३२ मा काठमाडौंबाट उडेको यति एयरलाइन्सको जहाज पोखराको सेती नदीको खोचमा दुर्घटना भएको थियो । विमानमा ६८ यात्रु र चालक दलका चार सदस्यसहित ७२ जना थिए । जसमा ७० जनाको शव भेटिएको छ अन्य दुईजना भने अहिलेसम्म भेटिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज