सुन्तलाको सोचेजस्तो मूल्य नपाएको कृषकको गुनासो

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीमा गतवर्ष भन्दा यसवर्ष झण्डै १७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको यहाँ यो वर्ष ६ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यहाँ कुल सुन्तला बगैंचा क्षेत्रफलको करीब ५९ प्रतिशत बोटमा फलेका छ ।

उत्पादनशील क्षेत्रफलमा वृद्धि, फल बाक्लो लाग्नु, बगंैचा व्यवस्थापनमा सचेतना बढ्दै जानु, मौसम अनुकुल हुनु, फल्ने बोटको वृद्धिसँगै सुन्तला उत्पादनमा पनि वृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । विगत दश वर्षदेखि सुन्तला बगैंचा व्यवस्थापनमा गरिएका असल कृषि अभ्यासकोे कारणले अहिले २९ करोड ३७ लाख बराबरको सुन्तला उत्पादन भएको छ ।

तर, सुन्तला उत्पादनमा वृद्धि भएतापनि कृषकहरुले सोचेजस्तो मूल्य नपाएको गुनासो गरेका छन् । यस जिल्लाको धुर्कोट गाउँपालिका–१, नयाँगाउँ सुन्तलाका लागि प्रसिद्ध मानिन्छ । अहिले यहाँबाट दुई करोड बढिको सुन्तला उत्पादन भएको छ । उमेरले ३७ वर्ष पुग्नुभएको स्थानीय मीना घिमिरेले सुन्तला उत्पादनमा वृद्धि आएपनि सोचेजस्तो मूल्य नपाएको गुनाँसो गर्नुभयो । “मेहनत अनुसारको मूल्य पाउन सकिएको छैन् ।” उहाँले भन्नुभयो, “उत्पादन भएका सुन्तला स्थानीय ठेकेदारले खरिद गरी बुटवल लैजाने गरेका छन् । हामी उनीहरुकै भाउमा सुन्तला बेच्न बाध्य छौं ।”

ADVERTISEMENT

अर्का, स्थानीय पिताम्बर कोइरालाले ०४६ सालबाट सुन्तला खेती सुरु गर्नुभयो । विगतमा भन्दा अहिले सुन्तला उत्पादन बढेको छ । तर, उत्पादन अनुसारको मूल्य नपाएको उहाँले बताउनुभयो । ४०/५० वटा बोटबाट सुन्तला खेती सुरु गरेकोमा अहिले डेढ सय भन्दाबढि विरुवा छन् । पहिले–पहिले वीजु बिरुवा उत्पादन गरि विक्रि गर्दै आउनुभएका उहाँ अहिले कलमी बिरुवा उत्पादन गर्नुहुन्छ । त्यति मात्र होईन्, उहाँले अहिले कागती दुई हजार र सुन्तला एक हजार बिरुवा उत्पादन गरेको बताउनुभयो ।

स्थानीय मीनप्रसाद पोखरेलले पनि यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपनि बजार मूल्य भने सोचेजस्तो नभएको गुनाँसो गर्नुभयो । उहाँले उचित मूल्य नपाएको भन्दै स्थानीय तहले बजारीकरणका लागि प्रबन्ध मिलाईदिनुपर्ने समेत बताउनुभयो । आम्दानीको मुख्य स्रोत नै सुन्तला भएको उहाँले बताउनुभयो । त्यहि पनि राम्रो मूल्य नपाउँदा समस्या भएको छ ।

यता, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईले सुन्तला उत्पादक कृषकहरुको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम समेत गर्दै आएको छ । नयाँगाउँलाई पकेट क्षेत्र नै बनाएर काम गरेको परियोजना कार्यान्वयन इकाई प्रमुख गंगाकुमारी पोखरेलले बताउनुभयो । बजारको सुनिश्चितता र कृषकले उचित मुल्य प्राप्त गर्ने गरी विभिन्न निकायसँग समन्वय गर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज