मुलुकका समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर होऔँ : राजेन्द्र लिङदेन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई शिरमा राखेर मुलुकका समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका हरेक क्षेत्रहरु अहिले ओरालो लागिरहेको भन्दै यसलाई सबै मिलेर समाधान गर्नेतर्फ सोच्नुपर्ने बताउनु भयो । उहाँले उमेर पुगेको भोलिपल्ट युवाहरु राहदानी बनाएर विदेश जानुपरिरहेको भन्दै यो समस्यालाई तत्काल समाधान गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले कृषकहरुलाई कृषिको लागि मल र बिउ दिने कुरामा सरकारले बेलैमा सोच्नुपर्ने बताउनु भयो । उहाँले विकास निर्माणको कामले पछिल्लो समय गति लिन नसकेको भन्दै विकास निर्माणका कामलाई पनि गति दिनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले कसैले कसैलाई निषेध गरेर अघि बढ्ने अवस्था नरहेको भन्दै सबैले सबैलाई स्वीकारेर आपसी समझदारीमा काम गर्नुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘अहिले देशको सबै क्षेत्र ओरालो लागेको अवस्था छ । अर्थतन्त्रको अवस्था भनिरहनु पर्दैन । हामी कोही अनविज्ञ छैनौँ । बेरोजगारी कुन ढंगले बढेर भएको छ । उमेर पुगेको भोलिपल्ट हाम्रा युवाहरु राहदानी बनाउने र आमाको काख र बाउको काख, देश छोडेर परिवार पाल्न हिँड्नुपर्ने नियति बनेको छ । कृषिप्रधान देश भन्छौँ, कृषकले बाली लगाउने बेलामा मल पाउन सकेका छैनन् । मल पाउनु भाग्यको कुरा जस्तो भएको छ । विकास निर्माण कस्तो छ, सबैलाई थाहा छ । अहिले भएको पनि सुस्त छ । हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अघि बढ्छु भन्ने अवस्था छैन । हामी सबैका विचार भन्दा माथि देश छ, देश भन्दा माथि केही पनि छैन । देशलाई शिरमा राखेर मुलुकका यावत समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्छ । राप्रपा यो संसदमा जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, सेवा प्रवाहको पक्षमा उभिने छ ।’

अध्यक्ष लिङदेनले राप्रपा देशको अस्थिरताको कारक नबन्ने प्रतिवद्धता जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज