अलपत्र सेखुवा–चखेवाभञ्ज्याङ सडक कालोपत्रे गर्ने ठेकेदारको प्रतिबद्धता

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा(१०किलोमिटर)सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सडकको काम अलपत्र पार्ने निर्माण कम्पनी भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्दिसाई जेभी काठ्माण्डौंले साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईसँग ८ बुँदे कागज गर्दै २०८० असार मसान्तसम्म काम सक्ने प्रतिबद्धता गरिएको हो ।

ठेकेदारले गाउँपालिकाको भूगोलमा सडक अलपत्र बनाएपछि आलोचना भईरहँदा गाउँपालिका अध्यक्ष राईले निर्माण कम्पनीलाई काठमाडौंमा खोजेर कालोपत्रे सम्पन्न गर्ने कागज गराउनु भयो । २२ पुषमा बनाईएको कागजमा गाउँपालिका अध्यक्ष राई, भारत–मैनाचुली–सिद्दिशाहीका प्रतिनिधि मदन कुमार अधिकारी, गाउँपालिका शिक्षा शाखा प्रमुख कविराज राई र सिनामंगल काठमाण्डौका रेवन्त कुमार बोहोराद्वारा हस्ताक्षर गरिएको छ ।

हाल निर्माण कार्य भईरहेको सडकमा सवारी साधनहरु सुचारु राख्न नियमित मर्मतसंभार गर्ने, चखेवातर्फबाट सबबेस लेइङ गर्ने काम सुरु गरी आगामी २५ माघसम्ममा सबबेसको काम सक्ने, माघ २६ गतेबाट बेस लेइङको काम सुरु गर्ने, चैतको पहिलो हप्ताबाट डिबीएसटी (पिच)को काम सुरु गरी २०८० बैशाख मसान्तसम्म डिबीएसटीको काम सम्पन्न गर्ने र अन्य कार्य निर्माण अवधिभित्र सम्पन्न गर्ने ठेकेदारले प्रतिबद्धता जनाएका छन् ।
कंक्रीट पेभमेण्टको काम फाल्गुन मसान्तसम्म सम्पन्न गर्ने, चालु कामको पुष्पलाल मध्यपहाडी राजमार्ग योजनाको कार्यालयले आवश्यकता अनुसार प्राविधिक अनुगमन, निरीक्षण तथा दैनिक कार्य गर्नमा सहयोग गर्ने दुई पक्षबिच सहमति भएको छ । सहमति अनुसार निर्माण व्यवसायीले निर्माण कार्य नगरेमा ठेक्का तोड्नमा आफै लागि पर्ने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

ठेकेदारबाट आजित भएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका स्थानीयले १ पुषमा प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईमार्फत पुष्पलाल मध्यपहाडी राजमार्ग योजनाको कार्यालयलाई ज्ञापन पत्र पठाउँदै चखेवाभञ्ज्याङ–सेखुवा कालोपत्रेको ठेक्का तोड्न माग गरेको थियो ।

ADVERTISEMENT

ठेकेदारले कालोपत्रेको काम गर्ने छाँट नदेखाएपछि पुष्पलाल मध्यपहाडी राजमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि १८ मंसिरमा सडक विभाग समक्ष सिफारिश गरिसकेको छ । भारत–मैनाचुली–सिद्दिशाहीले करीव २६ करोडमा २०७५ फागुन ३० गते कालोपत्रे सक्नेगरी २०७२ चैत २ गते सम्झौता गरेको थियो ।

गाउँपालिका अध्यक्षसँग सम्झौता भए अनुसार सत प्रतिशत काम हुने भारत–मैनाचुली–सिद्दिशाहीका प्रतिनिधि अधिकारीले बताए । चाडबाड, चुनावका कारण काम हुन सकेन । कुरा भन्दा पनि काम गरेर बिश्वास जित्नुपर्ने अवस्था छ । अधिकारीले भने, अब पेनाल्टी तिरेर भए पनि काम सक्ने प्रतिबद्धता गर्छु ।

आफू निर्वाचित भएपछि रातादिन लागेर निर्माण कम्पनीलाई कालोपत्रे सम्पन्न गर्ने सम्झौता गराईएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । 'हिजोको सरकार प्रमुख हुँदा पनि सडकको स्थिति त्यस्तै थियो । अब कुनै हालतमा त्यस्तो हुन नदिन निर्माण व्यवसायीसँग दुई पक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार काम हुनेछ ।' अध्यक्ष राईले भन्नुभयो ।

तस्वीरमा : सम्झौता पत्र साटासाट गर्दै साकेला गाउँपालिका अध्यक्ष रविप्रकास राई र निर्माण व्यवसायी मदन कुमार अधिकारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज