काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार अपरान्ह सिंहरदवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालसँग पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले भेट गर्नु भएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन आग्रह गर्नु भएको थियो । यता, अध्यक्ष नेपालले भने पार्टी भित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिनु भयो । सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री दाहालले आग्रह गर्नु भएको अध्यक्ष नेपालले जानकारी दिनु भयो ।
उहाँले प्रधानमन्त्री दाहालसँग वामपन्थी पार्टीहरुबीचको एकताबारे भने छलफल नभएको प्रतिक्रिया समेत सञ्चारकर्मीलाई दिनु भयो ।
अध्यक्ष नेपालले भन्नु भयो, ‘उहाँले विश्वासको मत दिनुप¥यो भनेर माग गर्नु भएको छ । हामी यसबारे पार्टीमा छलफल गर्छौं । र, टुंगो लगाउँछौं । सरकारमा जाने बारेमा केही पनि कुरा भएको छैन । खाली विश्वासको मतको बारेमा कुरा भएको छ । बाम पार्टीहरुको एकताको विषयमा विषय प्रवेश नै गरिएन ।’
माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहालले सरकारमा जाने बेलामा आफूसँग छलफल समेत नगरेको भन्दै नेपालले गुनासो गर्दै आउनु भएको छ ।






