ग्रामीण क्षेत्रमा लघु जलविद्युत् को भर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 11 mins

बागलुङ । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युत्को भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका थुप्रै बस्तीहरूमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन । अघिल्लो वर्षमात्रै विद्युत् प्राधिकणले बुर्तिबाङ बजारसम्म केन्द्रीय लाइन पु¥याएको छ । यहाँका लघु जलविद्युत् बर्खाका समयमा जहिल्यै बन्द हुन्छन् । कहिले पहिरोले नहर बगाउँछ त कहिले बाढीले मुहान बगाउँछन् । यसले गर्दा वर्षातको दुई÷तीन महिना यस क्षेत्रका स्थानीय अन्धकारमा बस्न बाध्य हुन्छन् । पश्चिम बागलुङमात्रै नभई जिल्ला सदरमुकामसँग जोडिएका केही गाउँको पनि अवस्था उस्तै छ । लघु जलविद्युत्को खपत बढ्दै जाँदा घरेलु तथा साना उद्योगहरू पनि सञ्चालनमा समस्या आउने गरेको छ । ग्रामीण क्षेत्रका लघु जलविद्युत्हरूको क्षमता ८० देखि १५० किलोवाटसम्म मात्र छ । जसले गाउँमा साना उद्योग सञ्चालनमा समस्या हुने गरेको हो ।

गत असोजको अन्तिम साता पहिरोले विद्युत्गृहमा क्षति पु¥याएपछि निसीखोला लघु जलविद्युत् आयोजना १० गतेसम्म बन्द भयो । झण्डै तीन महिना विद्युत् बन्द हुँदा यहाँका घरेलु उद्योग सञ्चालकहरू समस्यामा परेको स्थानीय लिलाबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले यहाँ स्थानीयहरूले विद्युतीय मेसिनबाट ऊनीको कपडा बुन्दै आएको भन्दै तीन महिनादेखि विद्युत् अवरुद्ध हुँदा आफूहरूले लाखौंको नोक्सानी बेहोर्नुपरेको बताउनुभयो ।

‘दशैँअगाडिदेखि बिजुली बन्द भएको बल्ल सुचारु भएको छ, यतिका महिनासम्म अन्धकारमा बस्यौँ, सानो उद्योग सञ्चालन गरेका थियौँ, यतिका बेलासम्म बिजुली बन्द हुँदा उद्योग सञ्चालन भएन, लाखौंका सामानको माग आएको थियो, कच्चा पदार्थ जम्मा गरेर काम्लो, हापदुला (भेडाको रौंबाट बनाइएको कपडा) बनाउने तयारीमा थियौँ, लाइन गएपछि काम सबै रोकियो, माग गरेकाहरूले पनि अन्तैबाट किनेछन्, त्यसले गर्दा हामीलाई घाटा लाग्यो ।’

उहाँले बर्खाको समयमा धेरै पटक अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको भन्दै दीर्घकालीनरूपमा समाधानका लागि केन्द्रीय प्रशारण लाइन नै आउनुपर्ने बताउनुभयो । केन्द्रीय लाइन विस्तार नभएसम्म अन्धकारमा बस्नुपर्ने नियति दोहोरिरहने घर्ती मगरको भनाइ छ । सरोकारवाला निकायलाई पटक-पटक केन्द्रीय लाइन विस्तारका लागि आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।

ढोरपाटन नगरपालिका-९ का कुलबहादुर विकले आफूहरू वर्षौँदेखि अन्धकारमा बस्दै आएको बताउनुभयो । बर्खामा ढोरपाटन र हिउँदमा बोबाङ बस्ने विक ढोरपाटनमा बस्दा दियालो र टुकीको भरमा रात कटाउनुपर्ने बताउनुहुन्छ । अहिलेसम्म ढोरपाटनमा विद्युत् नपुग्दा सञ्चारको पहुँचबाट टाढा हुनुपरेको विकको भनाइ छ । सरकारले अहिले बल्ल ढोरपाटनमा केन्द्रीय विद्युत् विस्तारका लागि पोल व्यवस्थापन गर्न थालेको विक बताउनुहुन्छ ।

‘अहिलेको युग सूचना र प्रविधिको युग हो, बोबाङमा बस्दा त मोबाइल, सामाजिक सञ्जाल चलाउन पाइन्छ, रेडियो, टेलिभिजनबाट देशविदेशका सूचना समाचारहरू सुन्न र हेर्न पाइन्छ, ढोरपाटनमा बस्दा त अन्धकारमा गुमनाम जस्तै भइन्छ,’ विकले भन्नुभयो, ‘ढोरपाटनको केही ठाउँमा त बिजुली बलेको छ तर हामी बस्ने ठाउँमा अहिलेसम्म त्यो सुविधा पुगेको छैन, दुई/चार वर्षमा पुग्ने आशा गरेका छौँ ।’

ADVERTISEMENT

तमानखोला गाउँपालिका–४ का पूर्ण सिर्पालीले लघु जलविद्युत् आयोजनाले गाउँमा बत्ती बाल्नबाहेक अरू काम गर्न नसकिने बताउनुभयो । यहाँ सञ्चालित विद्युत् कम क्षमताको हुँदा कुटानी–पिसानीका लागि मिल सञ्चालन गर्न समस्या भएको सिर्पालीको भनाइ छ । उहाँले खाना पकाउन र साना उद्योगका लागि गाउँमा सञ्चालित विद्युत्ले थेग्न नसक्ने भन्दै केन्द्रीय लाइनको आवश्यकता परेको बताउनुभयो । ‘गाउँ ठूलो छ, बिजुली प्रयोग गर्ने जनसंख्या पनि धेरै छ तर विद्युत् उत्पादनको क्षमता कम छ, त्यसले गर्दा यहाँ भएको बिजुलीबाट बत्ती बाल्नेबाहेक धेरै काम गर्न सक्ने अवस्था छैन, राइसकुकरमा भात पकाउन त सकिँदै सकिँदैन,’ सिर्पालीले भन्नुभयो, ‘अब केन्द्रीय लाइन नआएसम्म यहाँ साना उद्योग सञ्चालन गर्न पनि गाह्रो देखिन्छ, गाउँमा दिदीबहिनीहरूले ढाका उद्योग सञ्चालन गर्नुभएको छ, विद्युत्का कारण रातमा काम गर्न समस्या छ ।’

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीले जिल्लाका १० वटै पालिकामा विद्युत् पु¥याउने गरी काम गरेको बताउनुभयो । उहाँले केन्द्रीय लाइनले अहिलेसम्म नजोडिएको पालिका तमानखोला रहेको भन्दै तमानखोलाको केन्द्र बोङ्गादोभानसम्म तत्काल पु¥याउने गरी लाइन विस्तार गर्न थालिएको बताउनुभयो । बुर्तिबाङ बजारदेखि नजिकै रहेका निसीखोला र तमानखोलामा केन्द्रीय प्रशारण लाइन तीव्रगतिमा विस्तार भइरहेको मरासिनीको भनाइ छ ।

जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिका केही वर्षपहिले नै केन्द्रीय प्रशारण लाइनले जोडिए पनि ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिकाका केही गाउँहरूमा गत वर्षमात्रै केन्द्रीय लाइन पुगेको थियो । यस वर्ष निसीखोला गाउँपालिका-७ को भाँजा र चोलाङमा लाइन पुर्‍याएको प्रमुख मरासिनीले बताउनुभयो । ‘बागलुङका केही ठाउँहरूमा अहिलेसम्म केन्द्रीय लाइन पुगेको छैन तर ती ठाउँहरूमा स्थानीय हाइड्रोमार्फत् विद्युत् सेवा लिनुभएको छ, भौगोलिक विकटता र सीमित बजेटका कारण सबै ठाउँमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन,’ केन्द्र प्रमुख मरासिनीले भन्नुभयो, ‘यो वर्ष धेरै ठाउँमा काम गर्न थालेका छौँ, पश्चिम बागलुङका गाउँहरूमा केन्द्रीय लाइन बल्नेछ, केही बजेटका लागि केन्द्रमा पहल थालेका छौँ ।’

उहाँले बागलुङ सदरमुकाम नजिकका अधिकांश गाउँहरूमा केन्द्रीय लाइन पुगिसकेको दाबी गर्नुभयो । पश्चिम बागलुङका लागि गलकोटमा सब-स्टेशन निर्माण गरेर सुचारु गरेको भन्दै बुर्तिबाङमा पनि १३२ केभीको सब-स्टेशन निर्माण गरिने बताउनुभयो । यस वर्ष नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पु¥याउने गरी काम तीव्र गतिमा गरिरहेको उहाँको भनाइ छ । मरासिनी भन्नुहुन्छ, ‘दूरदराजका गाउँसम्म विद्युतीकरणका लागि हामीहरू तीव्ररूपमा लागेका छौँ, कतिपय ठाउँमा अब केही समयमै बत्ती बल्छ भने यो आर्थिक वर्ष सकिने बेलासम्म ढोरपाटनमा पनि केन्द्रीय लाइन पुग्नेछ, अहिले त्यसका लागि पोल गाड्ने, लाइन तान्ने काम भएका छन्, यता जैमिनी र बरेङ गाउँपालिकाका केही गाउँमा लाइन पुगेको छैन, ती गाउँमा पनि यसै वर्ष पुग्छ ।’

उहाँ बागलुङका ९८ प्रतिशत नागरिकले विद्युत् प्रयोग गर्न पाएको बताउनुहुन्छ । जिल्लामा ९८ वटा लघु जलविद्युत् रहेको उहाँको भनाइ छ । जिल्लाको निसीखोला गाउँपालिका-६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् तथा केन्द्रीय प्रशारण लाइन कुनै पनि पुग्न सकेको छैन । यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज