बुटवल । पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गर्नुभएको छ । तर उहाँले को-को परिचालित थिए भनेर खुलाउनु भएन ।
बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैठौँ साधारणसभा, चौथो अधिवेशनको उदघाटन तथा ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बुटवलमा शनिबार आयोजित उहाँले यस्तो बताउनु भएको हो।
आफूलाई हराउन विभिन्न शक्ति लागे पनि यसबारे आफूले कुनै टिप्पणी नगर्ने खाँणले बताउनु भयो । 'गत निर्वाचनमा मेरो निर्वाचन क्षेत्रमा पार्टीभित्र र बाहिरका राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु मलाई हराउन सक्रिय भए, यसबारे कुनै टिप्पणी गर्नु छैन,' उहाँले भन्नुभयो ।
उहाँले वर्तमान सत्ता फेरबदलमा काँग्रेस कहाँनिर चुक्यो भन्ने कुराको समीक्षा हुने पनि बताउनु भयो । 'राजनीतिक पार्टीहरुका लागि सत्ता फेरबदल स्वाभाविक प्रक्रिया हो, यसलाई कांग्रेसले अन्यथा लिँदैन । तर कसरी काँग्रेस प्रतिकूल अवस्थामा पुग्यो भन्ने कुराको भने समीक्षा गर्नुपर्छ ,' उहाँले भन्नुभयो।
उहाँले कहिलेकाँही नेपालको राष्ट्रियता मजबुत गर्न, प्रजातन्त्र जोगाउन, काँग्रेसको प्रभावकारिताका लागि पार्टीभित्र एकता गरौभन्दा आफू आलोचित हुनुपरेको गुनासो गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सभापति युवराज गिरीले देशको राजनीतिक परिवर्तनमा नेपाली काँग्रेस पार्टी र विपिको योगदानबारे स्मरण गर्दै वैभवशाली समाज निर्माणमा योगदान रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले राष्ट्रिय एकता र मेलमिलाप एक सिक्काको दुई पाटा भएको भन्दै यसलाई सन्तुलित ढंगले अगाडि बढाउन सके मात्रै पार्टी, राजनीति र देश सफल हुने बताउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले विपिको दूरदर्शिता र मेलमिलापकै कारण सबैजसो राजनीतिक परिवर्तन सफल भएको बताउनु भयो ।






