गुल्मी । गुल्मीदरबार गाउँपालिकाले मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सहयोग गरेको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीसँग सम्झौतामा गाउँपालिका भित्रका नागरिकहरूको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया गर्न सुरु गरिएको हो ।
र्याप सर्भेका अनुसार यस गाउँपालिकामा ३१४ जना मोतिया बिन्दुको तत्कालै अप्रेसन गर्नुपर्ने बिरामी छन् । आर्थिक अभाव कारण कोही पनि नागरिकले दृष्टि गुमाउन नपरोस् भन्ने उद्देश्य राखेर मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको पालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो । ‘गाउँपालिका भित्रका नागरिकहरूको सेवा गर्ने हाम्रो कर्तव्य हो’, अध्यक्ष थापाले भन्नुभयो, ‘मानव शरीरको आँखा जस्तो संवेदनशील क्षेत्रमा आर्थिक अभावका कारणले कोही पनि नागरिकले दृष्टि गुमाउनु हुँदैन ।’
नागरिकहरूको सेवा पुर्याउनुपर्छ भन्ने भावनाले निःशुल्क अप्रेसनको सुरुवात गरेको अध्यक्ष थापाले बताउनुभयो । यसको अधिकतम सेवा लिन पनि उहाँले आग्रह गर्नुभएको छ । यहाँ आएर मोतियाबिन्दुको शल्यक्रिया गर्नसक्ने नागरिकहरूले अन्य ठाउँमा उपचार गरेको आवश्यक कागजात पालिकामा पेस गरे पालिकाले तोकेको मापदण्ड अनुसारको आर्थिक भुक्तानी गरिनेसमेत उहाँले बताउनुभयो ।
गाउँपालिकाले आफ्ना नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर मोतियाबिन्दुको अपे्रसन गर्नुपर्ने बिरामीहरूको निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाले नेपाल नेत्र ज्योति संघसँग आगामी पाँच वर्षका लागि सम्झौता गरी आफ्ना नागरिकहरूको निःशुल्क मोतियाबिन्दुको अप्रेसन गर्न सुरु गरेको पाण्डेले बताउनुभयो । सम्झौताअनुसार प्रत्येक आँखाको शल्यक्रिया गर्दा नौ हजार रुपैयाँ लाग्छ । जसमा तीन हजार रुपैयाँ नेत्र ज्योति संघले आफैँले व्यहोर्छ भने ६ हजार रुपैयाँ गाउँपालिकाले व्यहोर्नेछ । जसअनुसार प्रथमपटक १३ जना नागरिकहरूले निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेका पाण्डेले जानकारी दिनुभयो ।
नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रका नेत्र अधिकृत सूर्य बस्नेतका अनुसार गुल्मीदरबार गाउँपालिकाका १३ जना, ईश्मा गाउँपालिकाका १९ जना र रेसुंगा नगरपालिकाका ५६ जनाको निःशुल्क आँखाको मोतियाबिन्दुको अप्रेसन गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts