सेलाउँदै ओली र माधव नेपाल मिलाउने प्रयास, पार्टी एकताको हल्लाबारे दुवै दल अनभिज्ञ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । दुई दिनयता एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताका लागि निकै प्रयास भए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएपछि नेता नेपाल एक्लो हुनुभएकाे छ ।

नेपालले आफूलाई एक वचन नसोधी प्रचण्ड बालकोट पुगेर प्रधानमन्त्री बनेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि सार्वजनिक गरिसक्नु भएकाे छ । त्यसपछि नेपालसँग प्रचण्डले हात्तीवनमा एकपटक भेट्नुभएकाे थियाे । प्रचण्डले ओलीसँग नेपालको भेट गराउन निकै प्रयास गर्नुभयाे । आफ्नै निवास खुमलटारमा ओलीलाई दुई घन्टा कुर्न लगाउनुभयाे । तर माधव नेपाल कोटेश्वरस्थित आफ्नो निवासबाट बाहिर निस्किनु भएन । बरु ओली खुमलटारमा पुगेको दिन अपराह्न ४ बजे नेपालले कांग्रेस नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कासँग शान्तिनगरस्थित पार्टी कार्यालयमा भेटघाट गर्नुभयाे ।

नेपाललाई त्यसअघि एमाले नेताहरु विष्णु पौडेल र महेश बस्नेतले कोटेश्वरस्थित निवासमै पुगेर भेट्नुभएकाे थियाे । दुवैले अध्यक्ष ओलीसँग भेटेर सरकारमा सहभागी हुन र पार्टी एकताका लागि छलफल गर्न प्रस्ताव गर्नुभएकाे थियाे । तर नेपाल तयार हुनुभएन । बरु उहाँ एकीकृत समाजवादीका भूगोलतर्फका नेताहरूसँग जुम मिटिङमा बस्नुभयाे । सरकारलाई समर्थन गर्दै अघि बढ्ने कि प्रतिपक्षमा बस्ने भन्ने राय सुझाव लिइरहनुभयाे ।

ADVERTISEMENT

दुई वर्षअघि ओलीसँग जुन विषयमा विरोध गर्दै पार्टी नै विभाजन गरेर नयाँ पार्टी खोलेको हो, त्यसको औचित्य पुष्टि नभई एमालेमै फर्किन नेपाललाई त्यति सहज नभएकाले पनि उहाँले ओलीसँगको भेटवार्तालाई त्यति महत्व नदिनुभएकाे हाे । नेपालले पार्टीका नेताहरूसँग कुराकानी गर्दै ओली आफ्नो निवासमा आए रातो कार्पेट ओछ्याएर स्वागत गर्न तयार भएको, तर बालकोट नजाने स्पष्ट पार्नुभएकाे छ ।

खासगरी एमाले निकट नेताहरुले एकीकृत समाजवादीलाई आफ्नो पार्टीसँग मर्ज गर्ने, माधव नेपाललाई राष्ट्रपति बनाउने जस्ता प्रचार गरेपछि नेता नेपाल सशंकित हुनुभएकाे हाे । एमालेको रणनीति जसरी पनि माधव नेपाललाई कमजोर देखाउने र पार्टीका सांसद सुरक्षित नभएको भ्रम फैलाउने भएपछि बिहीबार एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेसँग पार्टी एकताबारे कुनै छलफल नै नभएको प्रस्टीकरण दिनुपरेको थियो । त्यसपछि एमाले प्रचार संयन्त्र अलि सजग भएको हो ।

शुक्रबार बिहान एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि एकीकृत समाजवादी र आफ्नो पार्टीका विषयमा बाहिर प्रचारमा आएका कुरामा सत्यता नभएको भन्दै अहिले सरकारको समर्थनको दायरालाई फराकिलो बनाउने स्पष्ट पार्नुभएकाे छ । उहाँले एकपटक पार्टीले भोगिसकेको पीडाबारे आफूहरू राम्रो जानकारसमेत रहेको भन्दै तत्काल एकीकृत समाजवादीसँग एकता नहुने संकेत पनि गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज