बिचौलियाको मारमा सुन्तला कृषक

रासस
रासस
Read Time = 5 mins

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम रु एक सय छ । दानाको आकारका भरमा रु पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर रहन्छ ।

गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन् । सुन्तला कृषकसँगै उपभोक्ता पनि मारमा परेका छन् ।

बजारमा प्रतिकिलोग्राम रु एक सयमा सुन्तला धमाधम बिक्री भए पनि बिचौलियाले सुन्तला कृषकलाई त्यसको आधा रकम तिर्न पनि गाह्रो मान्छन् । सुन्तला बगैँचामा आफूहरुको मोलतोल नचल्ने बिचौलियाकै मनोमानी चल्ने सुन्तला कृषकको गुनासो छ ।

बजारमा चलेको मूल्यअनुसार सुन्तला बिक्री गर्न नपाएको छत्रकोट गाउँपालिका-३ का कृषक जितबहादुर झाँक्रीले बताउनुभयो । “सुन्तला बजारीकरणमा निकै समस्या छ, धेरै सस्तोमा बेच्नुपर्ने बाध्यता आइलाग्छ”, उहाँले भन्नुभयो, “उनीहरुले तोकेको मूल्यमा नदिए कुहिएर जाने सम्भावना हुन्छ ।” आफूहरुले सानो दाना प्रतिकिलोग्राम रु ४० र ठूलो दाना प्रतिकिलोग्राम रु ५० मा बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँको बगैँचामा अहिले सुन्तलाका पाँच सय बोट छन् । उहाँले वार्षिक नौ सय क्विन्टल सुन्तला बिक्री गर्दै आउनुभएको छ ।

सोही ठाउँका अर्का कृषक विष्णु कँडेलको पनि समस्या बजारीकरणको हो । उहाँले बगैँचासम्म गाडी लगेर सुन्तला बजारमा पुर्‍याउन सुविधायुक्त सडक नभएकाले नोक्सान बेहोर्दै आउनुभएको छ । “बजारमा आफैँले सुन्तला बिक्रीका लागि लैजान गतिलो बाटो छैन”, उहाँ भन्नुहुन्छ, “बजारको भन्दा आधा मूल्यमा दिए मात्र सुन्तला बिक्री हुन्छ ।” उहाँले नर्सरीसहित सुन्तला बगैंचा स्थापना गर्नुभएको छ ।

ADVERTISEMENT

सोही स्थानकी कृषक पुनकला भुसालको पनि समस्या यही हो । सुन्तलाको बजारीकरणमा कुनै समस्या नभए पनि आफूहरुले भनेको मूल्य भने पर्दैन । बुटवलबाट आएर बगैँचाबाटै सुन्तला बिक्री हुने तर उनीहरुले भनेकै मूल्यमा दिनुपर्ने बाध्यता रहेको भुसालले गुनासो गर्नुभयो ।

छत्रकोटमा कृषकबाट सुन्तला खरिद गर्ने र बजारसम्म पुर्‍याएर उपभोक्तालाई बिक्री गर्न केही छत्रकोटकै स्थानीय, केही पाल्पा र केही बुटवलसम्मबाट आउने गर्दछन् । कृषकले दिएसम्म अझ सस्तोमा बगैँचामा खरिद र नदिए पनि बढीमा प्रतिकिलोग्राम रु ५० सम्ममा खरिद हुने गरेको छ । कृषकहरु पनि यस्तै ठेक्का लिने व्यापारीहरुलाई सुन्तला बेच्न बाध्य छन् ।

सुन्तला कृषकलाई आबद्ध गरेर काम गरिरहेको अनमोल कृषक समूहका अध्यक्ष विष्णुप्रसाद पन्तले कृषकले तोकेको मूल्यमा सुन्तलाको बजारीकरण गर्न कोल्डस्टोर आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकारको सहयोग भएमा आफूहरुले कोल्डस्टोर स्थापना गर्ने र कृषकलाई भनेकै मूल्य दिन सक्ने समूहका अध्यक्ष पन्तको भनाइ छ ।

छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवालीले आफूहरुले यस वर्ष कोल्डस्टोर स्थापनाका लागि बजेट विनियोजन नगरेको जानकारी दिनुभयो । “गाउँपालिकाबाट यो वर्ष सुन्तला कृषकका लागि कोल्डस्टोरको कार्यक्रम छैन्”, उहाँले भन्नुभयो, “प्रदेशमा माग गरेका छौँ, भयो भने कृषकको समस्या समाधान हुन्छ ।” आफूहरु कृषकको पक्षमा रहेकाले समस्या समाधान गर्ने गाउँपालिका उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।

गुल्मीमा यस वर्ष कूल नौ सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको छ । जसबाट कूल ६ हजार आठ सय ३९ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको छ । यसबाट रु २९ करोड ३७ लाख आम्दानी हुने कृषि ज्ञान केन्द्र गुल्मीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?