भोजपुर । सबको इच्छा सार्थक शिक्षा, सफा मन सार्थक जीवन नाराका साथ नेपालको शिक्षा सुधार्ने उद्देश्यसहित यात्री, लेखक, वक्ता तथा अभियन्ता नवराज भट्टराई (कोहम)ले फेरि नेपाल भ्रमण सुरु गर्नुभएको छ । नेपालसहित विश्वका विभिन्न मुलुक भ्रमण गर्दा समग्रमा नेपाली शिक्षा व्यावहारिक, जीवनोपयोगी तथा सीप, संस्कार र प्रविधिले युक्त नभएको देखेपछि भोजपुरमा जन्मनुभएका भट्टराईले भोजपुरको पौवादुङमा गाउँपालिकाकै सिंहदेवी प्राथमिक विद्यालय च्याङ्ग्रे मोहोरियाबाट भ्रमण सुरु गर्नुभएको हो ।
यसअघि उहाँले भोजपुरकै नारायणप्रसाद भट्टराईसँग नेपालका सबै जिल्ला, भारतका सबै राज्य र तीन केन्द्रशाशित प्रदेश, भुटान, म्यानमार तथा चीनका केही भूभागको भ्रमण गरी नेपाल भ्रमणका ७३० दिन, विश्व दृष्टि तथा देखेको विश्व र नेपाल तथा नेपाल दर्शन र त्रिदेश दर्शन सार्वजनिक गरिसक्नु भएको छ ।
खिइखिइ लामो समय बाँच्नुभन्दा एक सेकेण्ड नै सही, धपक्कै बलेर किन नमर्नु भन्दै यात्री भट्टराईले भन्नुभयो, भ्रमण गर्न नोट होइन अठोट बोकेर हिँडेको छु । पहिलो चरणको यात्रा पनि गोजीमा रहेको ३५० रुपैयाँबाट सुरु भएको थियो । यात्राको प्रायोजनको जिज्ञासामा भट्टराईले भन्नुभयो, पाए आमनेपाली जनजनको साथ, नपाए आकाश छानो, हावापानी मानो । गत यात्रामा पनि यही मनोबलका साथ यात्रा गर्दा सफलता मिलेको र यसपटक पनि सफलता मिल्ने उहाँको दृढ विश्वास छ । उहाँ थप्नुहुन्छ, आफैँले चाहेर जन्मेको पनि होइन, चाहेर मर्ने पनि होइन । जसले धर्तीमा ल्यायो, बचाउनु छ भने उसैले बचाउँछ, मार्नु छ भने उसैले मार्छ । पलपल मरिरहेको जिन्दगीमा मरिएला कि भनेर केही नगरी बस्नु जिन्दगीको ठूलो अपमान हो ।
रेडियो नेपाल, नेपाल टेलिभिजनदेखि टाइम्स अफ इण्डिया, हिन्दुस्तान टाइम्ससम्म साथै देश विदेशका सयौँ एफएम रेडियो टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनले उहाँको अघिल्लो यात्राबारे स्टोरी प्रकाशन गरिसकेका छन् भने देशविदेशका सयाँै संघ संस्थाले पुरस्कृत तथा सम्मानितसमेत गरेका छन् ।
आफ्नो यात्रा मोटिभेसनमार्फत एक लाख युवा तथा विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्य दुई वर्षमा पुरा गर्न सम्बन्धित सबैमा सहयोगका लागि हार्दिक अनुरोध गर्नुभएको छ । यस दौरानमा भट्टराईले स्कुल कलेज, विश्वविद्यालय, सरकारी कार्यालय तथा व्यापारिक संघ संस्थामा मोटिभेसन वर्कशप, सेमिनार तथा कक्षा सञ्चालन गर्नुहुनेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts