पहाडको टाकुरामा ‘बराह ताल’ पर्यटक आकर्षणको केन्द्र

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । उच्च पहाड । शान्त वातावरण र प्राकृतिक सुन्दरता । त्यही सुन्दरतामा बराह ताल मख्ख छ । घनाजंगलको बीचमा रहेको बराह तालले आगन्तुकलाई स्वागत गरिरहेको छ । छेउमै रहेको सिद्धबराह मन्दिर र यहाँबाट देखिने अनगिन्ती हिमश्रृङ्खला र दृश्यले जोकोहीलाई मोहित पारिरहेको छ । तमानखोलाको शिरमा रहेको यो ताल बागलुङ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको छ । समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाईमा रहेको ताल पश्चिम बागलुङमा निकै चर्चित छ ।

केही वर्ष अगाडिसम्म गाउँलेले पूजा गर्ने ठाउँ हो बराह ताल क्षेत्र । तर अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । आधा दशक अगाडिसम्म ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचारप्रसारका हुन नसक्दा ओझेलमा थियो । गाउँपालिकाले प्रचारप्रसार थालेपछि अहिले आन्तरिक पर्यटक आकर्षित हुँदै गएका छन् । तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराह ताललाई गाउँपालिकाले संरक्षण तथा प्रवद्र्धन गर्न थालेको छ । पर्यटकनसँगै धार्मिक महत्वसँग बराह ताल जोडिएको छ ।

बराह ताललाई संरक्षण र प्रचारका लागि यस वर्ष गण्डकी प्रदेश सरकारले ८० लाख रुपैयाँ र गाउँपालिकाले आठ लाख रुपैयाँ विनियोजन गरेको तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले जानकारी दिनुभयो । गाउँपालिकाले अघिल्ला वर्षहरुदेखि नै तालको प्रवद्र्धनमा लागेको भन्दै यस वर्ष थप कामहरु हुने छन्त्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“बराह ताल तमानखोलाको मात्रै नभएर जिल्लाकै सबैभन्दा राम्रो ताल हो, विगतमा प्रचारप्रसार र यहाँ पूर्वाधार निर्माण नहुँदा सुनसान थियो, पर्यटक आगमन न्यून थियो, अहिले आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ, हामीहरुले पनि यसको विकास र प्रवद्र्धनमा ध्यान दिएका छौँ, आगामी वर्षदेखि पर्यटक बढी भित्रिने अपेक्षा लिएका छौँ ।”

स्थानीय दिलबहादुर छन्त्यालले अहिले बराहतालमा पर्यटकको चहलपहल बढ्न थालेको बताउनुभयो । उहाँले गाउँपालिकाले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचार गर्न थालेपछि हरेक महिना जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गरेको बताउनुहुन्छ ।
“यहाँ पहिले बैशाखे पूर्णिमाभन्दा अघिपछि खासै चहल पहल हुँदैन्यो, वर्षमा एक पटक यहाँका गाउँलेहरु ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्न जान्थे, बाहिरबाट मान्छेहरु आउँदैनथे, यो ठाउँ टाढा पनि भयो, सडक पनि पुगेको छैन” छन्त्यालले भन्नुभयो, “ताल गाउँभन्दा अलिकति टाढा छ, भौगोलिक हिसाबले जटिलत पनि छ, अब सडक पनि बन्दै छ, गाउँपालिकाले केही काम गरेपछि अहिले हरेक महिना यहाँ मान्छेहरु घुम्न आउँछन् ।”

उहाँले तालसम्म सडक पुगेपछि मुठाचौरका स्थानीयलाई सहज हुने र पर्यटक बढ्ने बताउनुभयो । सडक तालसम्म पु-याउन धेरै दूरी नभएको भन्दै उहाँले गाउँपालिकालाई सडक यहाँसम्म पु¥याउन आग्रह गर्नु भयो । छन्त्याल भन्नुहुन्छ,“यो ठाउँमा पछिल्लो समय धेरै विकास भएको छ, जनताले सुविधा लिन भएका छन्, अब तालसम्म सडक पुगे स्थानीयसगै बाहिरबाट आउने पर्यटकलाई पनि सहज हुने थियो, गाउँपालिकाले यता तिर ध्यान दिन जरुरी छ ।”
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले प्रदेश सरकार र गाउँपालिकाले विनियोजन गरेको बजेटले घेराबार, पदमार्ग निर्माण र ताल नजिकसम्म मोटरबाट पु-याउने बताउनुभयो । गत वर्ष गाउँपालिकाले बराह मन्दिरको पुर्ननिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरिएको अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो ।

ADVERTISEMENT

अध्यक्ष बुढा मगर भन्नुहुन्छ, “अघिल्लो कार्यकालमा यहाँ केही पूर्वाधारहरु निर्माणको सुरुवात गरेका थियौँ, ताल संरक्षण लगायत मन्दिरको पुनःनिर्माण गर्ने काम सकिएको छ, गाउँपालिकाको गुरु योजनामा बनाएरै बराह ताललाई पर्यटकीय केन्द्र बनाउने हाम्रो अभियान हो सोही अनुसार काम गरेका छौँ, मनै लोभ्याउने बराह तालमा पर्यटक ल्याउन गाउँपालिकाले विभिन्न प्रर्बद्धनात्मक कामहरुसमेत गदै आएको छ, अहिलेसम्म सडक संजालले जोडिन सकेको छैन, यसलाई यही वर्ष जोड्ने गरि काम छौँ ।”

उहाँले यस तालले धार्मिक महत्व बोकेको हुँदा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । ताल क्षेत्रमा ‘पिकनिक स्पट’, बगैचा, लगायत पर्यटकलाई थप आकर्षित गर्ने खालका पूर्वाधार निर्माणका लागि योजना बनाएको भन्दै अध्यक्ष बुढा मगरले यस वर्ष यहाँ धेरै पूवार्धार तयार हुने बताउनुभयो ।

ताल नजिक रहेको मुठाचौर घरबासका लागि अति उत्तम स्थान रहेको हुँदा यहाँ पर्यटकका लागि खाना, बस्न र आरामका लागि ‘होम–स्टे’ तथा स–साना होटलहरु बनाउने योजानासमेत रहेको उहाँको भनाई छ । अहिले यहाँ आउने पर्यटकका लागि खानेपानी र शौचालयको व्यवस्थापन भइरहेको भन्दै खाजा र खानाको लागि समस्या रहेको बुढा मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो,“बराह ताल र मुठाचौर तमानखोलाको गहना हुन्, यो ठाउँ भौगोलिक विकटताका कारण विकास हुन सकेको छैन, यहाँ विद्युत, मोटरबाटो र खानेपानी पु-याउनका लागि हामीहरु लागि रहेका छौँ, यहाँ अनेकौँ समस्याहरु छन्, समाधानका लागि प्रदेश र केन्द्र सरकारसँस सहकार्य गर्ने छौँ ।”

ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुन जनविश्वास छ । जसका कारण बैशाखे पूर्णिमामा बागलुङका विभिन्न स्थान, गुल्मी, प्युठान, अर्घाखाँची लागयतका ठाउँबाट भक्तजनहरु पूजाआजा गर्न आउने गर्छन् । यहाँबाट धौलागिरी, माछापुच्छे, अन्नपूर्ण लगायतका दर्जनौँ हिमश्रृङ्खला देखिने अध्यक्ष बुढा मगरको भनाई छ । यो सिजन गुमफिर र वनभोजको हुँदा बिदाका दिन सयौँ मान्छेहरु बराह ताल पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज