‘पर्यटन सूचना केन्द्र’ मा नौ लाख लगानी, उपलब्धि शून्य

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 8 mins

खोटाङ । कुनै पनि संघसंस्था, सरकारी कार्यालयले उपलब्धि आउने गरी लगानी गर्छ । तर, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले त सानोतिनो हैन नौ लाख रकम स्वाहा पारेको छ । त्यसको कुनै उपलब्धि छैन, चिनोबानो छैन । त्रि-धार्मिकस्थल हलेसी आउने पर्यटकलाई दिक्तेल बजारसम्म ल्याउने भन्दै नगरपालिकाले हलेसी महादेवस्थान विकास समितिको भवनमा २०७५ चैतमा निःशुल्क कोठा लिएर ‘पर्यटन सूचना केन्द्र’को स्थापना गर्‍यो ।

स्थापना भएको सूचना केन्द्रको २०७५ चैत २९ गते हलेसी मन्दिर प्रांगणमा तत्कालीन मेयर दिपनारायण रिजाल र प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बडो तामझामका साथमा उद्घाटन गर्नुभयो । पहाड नै उचाल्ने झैँ गरी ढर्रा देखाउनुभयो, घाँटी सुकुन्जेल भाषणबाजी गरे अरूले परर.. ताली पड्काए । उद्घाटनको तडकभडक हेर्दा दिक्तेल बजारका व्यापारी तथा बजारबासी ढुक्क भए, अब हलेसी आउने पर्यटक दिक्तेलसम्म आउँछन् र यहाँको व्यापार व्यवसाय चल्छ, आर्थिक चलखेल हुन्छ ।

दिक्तेल बजारबासी ढुक्क नहुनु पनि कसरी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नौ लाख बजेट खर्चेर त्यति धेरै तडकभडक र तामझाम गरेको थियो । हुँदा-हुँदा कार्यक्रममा मान्छे धेरै देखाउन नगरपालिकाले मोटो रकम खर्चेर दिक्तेलबाट दुई गाडी मान्छेसमेत ल्याएको थियो । उद्घाटनमा सहभागी सयांैलाई खाजानास्ता खुवाइयो, नचाइयो । नगरपालिकाको पर्यटकीय तथा धार्मिकस्थलहरूको फोटो वर्णन भएको हाते ब्रोसर बाँडे, युवायुवतीलाई टिसर्ट पनि बाँडियो ।

स्थापना गरेको सूचना केन्द्रमा नगरपालिकाले सुरुवातमा निर्णय गरेर नवराज घिमिरे र त्यसपछि नगरकै कार्यालय सहयोगी मोहन दुलाललाई कर्मचारीका रूपमा राख्यो । उनीहरूको काम हलेसी आएका पर्यटकलाई दिक्तेलसम्म जानुहोस् भन्दै ब्रोसर बाँड्ने र नगरको पर्यटकीय तथा धार्मिकस्थलहरूको भिडियोे डिस्प्लेमा देखाउने बाहेक केही थिएन । उनीहरू दुईलाई नगरपालिकाले तलब दिने गरेको थियो । त्यहाँ बसेबापत छुट्टै तलबको व्यवस्था थिएन ।

नगरपालिकाले नौ लाख खर्चेर सूचना केन्द्र स्थापना गर्‍यो, अफिस व्यवस्थापनका लागि फर्निचरमा केही खर्च भयो, अनि पर्यटन प्रवद्र्धन समिति संयोजक अनिल जोशीलाई बनाइयो । कोभिडले जोशीको निधन भइसकेको छ । हेर्दाहेर्दै सूचना केन्द्र स्थापना, उद्घाटन, ब्रोसर बाँड्न, टिसर्ट बाँड्नमा मात्रै नगरपालिकाले नौ लाख रकम स्वाहा पार्‍यो । उपलब्धि शून्य रहृयो । ‘पर्यटक भने दिक्तेलमा एकैजना आएन, देखिएन । त्यति धेरै रकम खर्चेर सुरुवात गरिएको कार्यक्रम प्रभावकारी भएन । नेतृत्वको कमजोरी र मिलेमतोमा भएको कार्यक्रमले प्रतिफल दिनुको सट्टा मिलेमतोमै पैसा झ्वाम भयोे, मोजमस्ती गरे, पचाए, सिध्याए,’ स्रोत भन्छ ।

ADVERTISEMENT

सूचना केन्द्रको थ्रुबाट आएको भनेर एकजना पनि मान्छे दिक्तेलमा आएको देखिएन, भेटिएन । नाँच्न जान्दैन आँगन टेडो भनेझँै काम गर्न जान्दैन अनि मान्छे आउँछ दिक्तेलमा ? काम गर्न जान्नुपर्‍यो नि ? पर्यटनसम्बन्धी काम गर्दै आउनुभएका दिक्तेलका एक अगुवाले प्रतिप्रश्न गर्नुभयो, योजना दिएजस्तो गरी कार्यकर्तालाई पैसा दिएर सक्नु थियो, पचाउनु थियो, मान्छे किन आउनुपर्‍यो त, कमिसन आइहाल्यो ।

सूचना केन्द्रमा बसेका कर्मचारीका अनुसार पनि खासै पर्यटक दिक्तेल आएनन् । एकादुई सूचना केन्द्रमा सोध्न चाहिँ आउँथे तर मान्छे दिक्तेल गएनन् । नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईका अनुसार एक वर्ष सूचना केन्द्रमा कर्मचारी बसेको र कोभिड आएपछि उनलाई नगरपालिकामै तानिएको स्थानीय बताउँछन् । अहिले नगरपालिकाले राखेको डिजिटल डिस्प्ले छ । तर, चल्दैन । त्यसलाई पनि धुलोले खाइसकेको प्रत्यक्षदर्शी बताउँछन् । सूचना केन्द्रको कार्यालयमा भोटे ताल्चा लागेको छ ।

कोरोना भाइरसको बहाना त धेरैलाई ढाँट्न, छल्न, कमिसन सफल बनाउने गज्जबको बहाना भएको छ । नगरपालिकाकै अधिकारीले भनेअनुसार वर्ष दिन सूचना केन्द्र चले पनि प्रतिफल शून्य नै भएको पुष्टि हुन्छ । होला कोरोनापछि सूचना केन्द्र चलेन तर चलेको अवधिको प्रतिफल खै ? कि नौ लाख रकम त्यतिमै पच्यो ? नगरबासी सबैको यो साझा प्रश्न बनेको छ ।

सूचना केन्द्र करिब वर्ष दिन चल्दा हाते ब्रोसर बाँड्ने र आक्कलझुक्कल भिडियो देखाउने कामबाहेक अन्य केही नभएको स्रोत बताउँछ । नगरपालिकाको सूचना केन्द्र अहिले डामाडोल छ । ताल्चा लागेर बन्द छ । डिजिटल डिस्प्लेले अरूलाई भिडियो देखाउनुको सट्टा धुलो, धुवा खाइरहेको छ, नगरपालिकाको कामले उसैलाई गिज्याइरहेको छ । अरूले मजाक बनाइरहेका छन् ।

जनताबाट कर उठाएर संकलन भएको रकम स्वयं स्थानीय सरकारले नै सही ठाउँमा सदुपयोग नगरेको यसले प्रष्ट हुन्छ । अन्य धेरै संरचनाहरू आँखै अगाडि छन् । स्थानीय सरकार त कार्यकर्ता भरणपोषण र कमिसनको खेलमा चुर्लुम्म डुबेको छरप्रष्टै देखिन्छ । सूचना केन्द्रबाट पर्यटक दिक्तेल ल्याउने भन्दै अघिल्लो सरकार प्रमुख, उपप्रमुख र उनका आसेपासेहरूले सजिलो तरिकाबाट नौ लाख रकम स्वाहा पार्दा त्यसलाई खोज्न, छानबिन गर्न र निरन्तरताका लागि बहालवाला मेयर, उपमेयरले कहीँ-कतै एक शब्द बोलेको सुनिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज